- ५७५ सुत्केरी सेवाबाट बञ्चित
प्यूठान : संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले आमा सुरक्षा कार्यक्रम संचालन गरेको छ । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैलाई जोखिम हुने भएकाले सरकारले संस्थागत सुत्केरी प्रोत्साहनको कार्यक्रम ल्याएको हो । स्वास्थ्य संस्था पुगेर कम्तीमा चारपटक नियमित गर्भजाँच र सुत्केरी भएपछि नगद दुई हजार आठ सय रुपैयाँ सुत्केरी महिलाले पाउने व्यवस्था छ । गर्भजाँच गराएको आठ सय र यातायात खर्च वापत दुई हजार गरी उक्त रकम महिलाले पाउँछन् । तर, प्यूठान अस्पताल विजुवारमा गत भदौ १४ गतेदेखि उक्त सेवा ठप्प छ ।
भदौदेखि हालसम्म ५ सय ७५ जना महिलाहरुले नियमित गर्भजाँच र अस्पतालमै पुगेर सुत्केरी भइसके पनि प्रोत्साहनको रकम र न्यानो कपडा पाएका छैनन् । गर्भवती महिलाहरुलाई सेवा नपाउँदा उत्साहित बनाउनुको साटो निरुत्साहित गराएको गुनासो छ । भदौ महिनामा अस्पताल पुगेर सुत्केरी भएकी मल्लरानी गाउँपालिका ३ सानीपोखरीकी प्रेमा अधिकारीले अहिलेसम्म पैसा नभएको गुनासो गरिन् । ‘सिस्टरहरुले अहिले पैसा छैन्, पछि फोन गरेर बोलाउछौँ भन्नुभएको थियो’,२७ वर्षिय अधिकारीले भनिन्,‘अहिलेसम्म फोन आएको छैन् ।’ उनले अस्पताल पुगेर पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् ।
जिल्ला अस्पतालमा छिमेकी जिल्ला रोल्पाको अरेस, गुल्मीको मदाने गाउँपालिका क्षेत्र र अर्घाखाँचीको मालारानी गाउँपालिका भेगका महिलाहरु समेत सुत्केरी हुन आउँछन् । यसै साता अस्पतालमा सुत्केरी भएकी प्यूठान नगरपालिका ८ बाग्दुलाकी सिता थापाले पनि रकम नपाएको बताइन् । उनका श्रीमान डिल बहादुर दसौदीले प्रोत्साहनको रकम पाउनु धेरै टाढाको कुरा भएको कुरा आश्चर्य मान्दै भने,‘सरकारी अस्पतालमा त सवै सामान र औषधी नीजि मेडिकलबाट किनेर ल्याउनुपर्दो रहेछ पैसा पाउनु त कता हो कता !’ उनले सुत्केरी हुनेबेला प्रयोग गरिने सेनेटरी प्याड, पंजा, क्याडगड, कट, क्लायम, सिटिङज लगाएतका सामग्री किनेर ल्याउनु परेको गुनासो पोखे ।
अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नहुँदा सुत्केरीलाई प्रोत्साहन वापतको रकम दिन नसकिएको अस्पतालका रेडियोग्राफी टेक्नोलोजिष्ट खिम प्रसाद पार्धेले जानकारी गराए । उनले बजेट अख्तियारी भएर आएको भएपनि खाता संचालन हुन नसक्दा सेवा प्रवाहमा समस्या आएको बताए । सुत्केरी भएका महिलाहरुको अस्पतालले रेकर्ड राखेको छ । खाता संचालन भएपछि सवै महिलाहरुलाई अस्पतालमा बोलाएर रकम वितरण गरिने अस्पतालका व्यवस्थापक राजन घिमिरेले जानकारी गराए । दुई दिन अघिमात्रै मेडिकल सुपरीटेन्डेन्टको रुपमा डाक्टर अमृत पन्थी आइसकेको अस्पतालले जनाएको छ । खाता संचालन नभएकै कारण अस्पतालबाट वितरण हुने निःशुल्क बीमाको औषधी समेत ठप्प छ । अस्पतालमै बोलाएर रकम वितरण गर्दा महिलाहरुलाई दोहोरो झन्झट हुने देखिएको छ ।