- डामृको गावैमा एकिकृत नमुना बस्ती निर्माण
डामृ (प्यूठान) : दलित समुदायको बाहुल्यता रहेको नौवहिनी गाउँपालिका ५ डामृको गावैमा एकिकृत नमुना बस्ती निर्माण गरिएको छ । राता जस्तापाताले रंगिएका चिटिक्कका घर बनाएर गाउँपालिकाले दलित समुदायलाई हस्तान्तरण गर्दैछ । जग्गा विहिन भएका, थोरै जग्गा भएर घर बनाउन नसकेको, विपन्न, गरिव र असाहय व्यक्तिलाई प्राथमिकतामा राखेर घर हस्तान्तरण गर्न थालिएको छ । रेडिमेट घर पाउने भएपछि दलित समुदायका स्थानीय हौसिएका छन् । ‘१३ जनाको परिवार एउटै घरमा बस्दै आएका छौँ’,स्थानीय दिपक परियारले भने,‘गाउँपालिकाले घर दिने कुराले खुसी लागेको छ ।’
सुकुम्वासी र पहिरोको जोखिममा परेकासहित यस वडामा ७४ वटा घर निर्माण गर्नुपर्ने देखिएको गाउँपालिका अध्यक्ष शिव रिजालले बताएका छन् । पहिलो चरणमा २२ वटा घर निर्माण गरिएको उनले बताए । यसमध्ये १६ वटा घर निर्माण पुरा भइसकेको छ । उनका अनुसार अन्य ६ वटा घर तत्कालै निर्माणको तयारीमा छन् । ‘उपभोक्ता समिति मार्फत घर निर्माण गरिएको छ’,रिजालले भने,‘७४ वटै घरपरिवारलाई नयाँ घर बनाइदिनुपर्ने छ । हाम्रो कार्यकालभित्र सवैलाई नयाँ घर बनाएर हस्तान्तरण गर्छौ ।’
उनका अनुसार पहिलो चरणमा चिठ्ठाको आधारमा घर हस्तान्तरण हुनेछन् । १ देखि २२ नम्वरमा पहिलो चरणमा र त्यसपछिका चिठ्ठालाई प्रत्येक वर्ष घर निर्माण गरेर हस्तान्तरण गरिने छ । घर पाउने मध्येमा एक जना कुमाल समुदाय बाहेक सवै दलित बस्तीका छन् । स्थानीयबासी, जनप्रतिनिधी, नागरीक समाज र लाभांवित समुदायको राय सुझावमा निर्माण गरिएका घर हस्तान्तरण गरिने उनको भनाई छ ।
आर्थिक अभावमा घरबारविहिन बनेका दर्जनौ परिवार नमुना बस्ती कार्यक्रम मार्फत लाभांति भएका छन् । गरिबसँग विश्वसेर कार्यक्रम मार्फत संघीय सरकारले पठाएको ५० लाख रुपैयाँ, स्थानीयको जनश्रमदान करिव ३० लाख र बाँकी रकम गाउँपालिकाले लगानी गर्नेगरी कुल एक करोड रुपैयाँमा बस्ती निर्माण गरिएको गाउँपालिका अध्यक्ष रिजालले बताए । दुईकोठे घर सहित नमुना बस्तीमा खानेपानी, शौचालय र विद्युत्तको समेत व्यवस्था गाउँपालिकाले गर्ने भएको छ । एक घर बरावर अनुमानित पाँच लाख रुपैयाँ लगानी गरिएको रिजालले बताए । ८ रोपनी क्षेत्रफल जग्गामा बस्ती निर्माण गरिएको छ ।
डामृ सहित वडा नम्वर २ स्थित लिघामा समेत नमुना बस्ती कार्यक्रम संचालन गरिने आगामी योजना रहेको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । उनका अनुसार गाउँपालिकाले पहिलो अभ्यासको रुपमा डामृमा नमुना बस्ती निर्माण गरेको हो । घर निर्माण गरी लाभांवित समुदायलाई लालपुर्जा समेत प्रदान गर्ने योजना गाउँपालिकाको छ । बासस्थानको ग्यारेण्टी गाउँपालिकाले गरेपछि आय आर्जनको क्षेत्रमा जुट्न पीडित समुदायलाई गाउँपालिकाले आग्रह समेत गरेको छ ।