- वर्षमा दुई महिना निःशुल्क अतिरिक्त कक्षा संचालन
मल्लरानी (प्यूठान) : मल्लरानी ३ स्थित शारदा माध्यमिक विद्यालय चौरपानीमा शुक्रबार भएको अभिभावक भेलाले शोभाखर आर्चायको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति पूर्नगठन गरेको छ । यस अघिका अध्यक्ष आचार्य दोस्रो कार्यकालका लागि पूनः चुनिएका हुन् । समितिको सदस्यमा पवित्रा पोखरेल, यशोदा पोखरेल, देवराज पौडेल, मेघराज आचार्य, सुकमली परियार, गिरिराज पौडेल, शिक्षक प्रतिनिधी इन्द्रलाल पोखरेल र सदस्य सचिवमा कुलराज पौडेल चयन भएका छन् ।
विद्यालयमा भएको भेलामा बोल्ने अतिथीहरुले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरु विच निरन्तर छलफल हुनुपर्नेमा जोड दिएका छन् । प्रमुख अतिथी मल्लरानी गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष गिरिराज पौडेलले बालबालिकाहरुको शैक्षिक विकासका लागि गाउँपालिकाले प्रभावकारी योजना बनाई अगाडि बढिरहेको बताए । गाउँपालिका शिक्षा संयोजक दिनामणी पौडेलले सिकाई उपलव्धी बृद्धि गराउनका लागि प्रत्येक शिक्षकले प्रभावकारी योजना बनाएर शिक्षण सिकाई क्रियाकलापमा लाग्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै छात्र विजय आचार्य, छात्रा करिणा पोखरेल, अभिभावक कृष्णराज पौडेल, गोमा पोखरेल, सल्लाहकार माधव पौडेल, विद्यालय व्यवस्थापन समिति सदस्य देवराज पौडेल, पूर्व शिक्षक रामप्रसाद पोखरेल लगाएतले विद्यालयको समग्र शैक्षिक विकासमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा आग्रह गरेका छन् । कार्यक्रमको सहजीकरण शिक्षक गोपाल थापाले गरेका हुन् ।
कक्षा १० सम्म पढाई भइरहेको यस विद्यालयमा हाल ३६२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले बालविकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई संचालन गरिरहेको छ । कक्षा ५ सम्म संचालन भएको दिवा खाजाले बालवालिकाहरुको उपस्थितीलाई बढाएको विद्यालयले जनाएको छ । कक्षा १ देखि ५ सम्म वर्षको दुई महिना निःशुल्क अतिरिक्त कक्षा संचालन भइरहेको प्रधानाध्यापक कुलराज पौडेलले जानकारी गराए । रुखबाट लडेर घाइते भएका विद्यालयका कार्यालय सहयोगी रामचन्द्र खत्रीलाई विद्यालयले आर्थिक सहयोग गरेको छ ।