- एउटा अथक प्रयास सफल भयो : प्रधानाध्यापक
- कलिला बालवालिकाहरुको दुःख हेरेर बस्न सकेनौँ : अध्यक्ष
प्यूठान : विद्यालय पुग्न र घर फर्किनै सास्ती खेपीरहेका माण्डवी माध्यमिक विद्यालय नयाँगाउँ प्यूठानका बालवालिकाहरुको दैनिकी फेरिने भएको छ । बालवालिकाहरुलाई आउजाउ गर्नका लागि विद्यालयले स्कुल बस संचालन गर्न थालेपछि सहजता आउने भएको हो । गाउँमा विद्यालय नहुँदा दुई÷तीन घण्टा पैदल हिडेर ओहोरदोहोर गर्नुपर्ने कलिला बालवालिकाले राहत पाउने छन् । माण्डवी गाउँपालिकाबाट विनियोजित २० लाख र तिहारमा खेलेको भैलोबाट जुटेको १० लाख गरी कुल ३० लाख रुपैयाँमा स्कुल बस खरिद गर्न थालिएको हो ।
विद्यार्थीको कष्टपूर्ण दैनिकी देखेपछि माण्डवी गाउँपालिकाले मंसीर १८ गते बसेको कार्यपालिका वैठकबाट बजेट विनियोजन गरेको हो । ‘नजिकै स्थानीय सरकार संचालनमा छ’,गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले भने,‘कलिला बालवालिकाहरुको दुःख हेरेर कसरी बस्नु ?’ शैक्षिक क्षेत्रमा गरिएको लगानीले समग्र गाउँपालिकाको समृद्धिमा मद्दत पु¥याउने उनको भनाई छ । बालवालिकाहरुलाई शिक्षामा सहज पहुँच पु¥याउनका लागि स्कुल बस ल्याउन विशेष पहल थालिएको उनले सुनाए ।
स्कुल बस ल्याउने वर्षौदेखिको पहल यसवर्ष पुरा भएको प्रधानाध्यापक मेघराज पौडेलले बताए । ‘बस नहुँदा बालवालिकाले धेरै दुःख पाएका थिए’,उनले भने,‘गाउँपालिका र अभिभावकको साथले हामी यसपाली सफल भएका छौँ ।’ शैक्षिक क्षेत्रको विकासका लागि निर्वाचित जनप्रतिनिधीहरुको सकरात्मक अभ्यासले सिंगो विद्यालय परिवारलाई थप उत्साहित बनाएको उनले सुनाए । उनले केही महिनाभित्र सवै प्रक्रिया पुरा गरेर बस संचालन गर्ने तयारी भइरहेको जानकारी गराए । बस नहुँदा थक्लेनी र सिमलचौरका विद्यार्थीहरुले धेरै कष्ट पाएका थिए । त्यसबाहेक कुमालटार, धाइरेचौर, खलावाङ, मार्सीवाङ, नर्सु, चकचके, देविस्थान र बालीखोलाका बालवालिकाहरु दैनिक पैदल हिडेर आउजाउ गर्दै आएका छन् । थक्लेनी र सिमलचौरका बालवालिकालाई दैनिक झण्डै २४ किलोमिटर पैदल हिड्नुपर्ने बाध्यता छ ।
बस संचालनपछि पैदल हिडेर स्कुल पुग्ने झण्डै चारसय विद्यार्थीहरु प्रत्यक्ष लाभांवित हुनेछन् । ४० सिटे बसले विद्यार्थीलाई तीन÷चार पटक ल्याउने, लैजाने गर्नेछ । बस खरिदको सम्पूर्ण जिम्मेवारी विद्यालयलाई दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी गराए । ‘गाउँपालिकाको समपुरकबाट बजेट विनियोजन भएको हो’,उनले भने,‘विद्यालयको योगदानलाई समेत हेरेर बजेट विनियोजनमा प्राथमिकता दिइएको छ ।’
बस खरिद गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय, गाउँपालिका र शिक्षा विकास तथा सम्वन्य इकाइको सिफारिसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव स्तरीय वैठकले भन्सार छुटका लागि सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । वि.सं २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्मको पढाई संचालन भइरहेको छ । हाल ९ सय विद्यार्थी अध्ययनरत छन् ।