- टिक्दैनन् डाक्टर
- छैन् निःशुल्क औषधी
- पाउँदैनन् सुत्केरीले भत्ता
प्यूठान : वितको दुई वर्षमा प्यूठान अस्पताल विजुवारमा मेडिकल सुपरिटेन्डेन्ट सहित आठ जना डाक्टर फेरिए । यी मध्ये मेडिकल सुपरिटेन्डेन्ट डा.अच्यूत कार्की, डा.शेषराज घिमिरे र डा.शुसिला थापा बाहेक सवै वर्षदिन पनि टिकेनन् । डाक्टर आउने र जाने क्रम चलिरह्यो । तिहारपछि हालसम्म जिल्ला अस्पताल प्रमुख विहिन छ । निमित्तको भरमा अस्पताल चलेको छ ।
रेडियोग्राफी टेक्नोलोजिस्ट खिमप्रसाद पार्धेले निमित्त कार्यालय प्रमुखको रुपमा अस्पताल चलाएका छन् । तर, खाता संचालन गर्ने अधिकार उनलाई छैन् । अस्पतालको खातामा सरकारले बजेट पठाएपनि अधिकार प्राप्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर नहुँदा अस्पताललाई सकस परेको छ । विरामीको उपचार गर्नुपर्ने अस्पताल आफैँ विरामी परेपछि नागरीकले सास्ती खेप्न बाध्य छन् ।
प्यूठान अस्पतालमा विशेषज्ञ सेवा र मेसु सहितका नौ जना डाक्टरको स्वीकृत दरवन्दी भएपनि पुरै दरवन्दी खाली छ । अस्पताल विकास समितिबाट ३० जना कर्मचारी विभिन्न क्षेत्रमा कार्यरत छन् । यसमध्ये अहेव ८ जना, ल्याव टेक्निसियन एक जना, फार्मेसी असिस्टेन्ट एक जना, अनमी पाँच जना, रेडियोग्राफर एक, कम्प्यूटर अपरेटर तीन जना, चालक एक र कार्यालय सहयोगी चार जना अस्पताल विकास समितिबाट कार्यरत छन् । समितिको आन्तरिक स्रोतबाट ती कर्मचारी कार्यरत छन् । दरवन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राहीले विशेषज्ञ सहितको सेवा पाउनबाट बञ्चित भएका छन् । डाक्टर नटिक्नुको कारण आन्तरिक कर्मचारीहरु बाधक बनेको समेत आरोप छ । स्थानीय जनप्रतिनिधी चुनिएपछि अस्पताल विकास समितिको अध्यक्ष जिल्ला सम्वन्य समिति प्रमुख हुने व्यवस्था छ । तर, लथालिंग अस्पतालको सुधारतर्फ विकास समितिका अध्यक्षको भूमिका प्रभावकारी देखिएको छैन् । दुर्गम क्षेत्रबाट सेवा लिन आएका विरामीले सास्ती खेप्नु परेको छ ।
सुत्केरीले पाएनन प्रोत्साहन भत्ता
राज्यले स्वास्थ्य संस्थामा पुगेर चार पटकसम्म नियमित गर्भजाँच गरी सुत्केरी भएमा विशेष प्रोत्साहन गर्ने योजना अघि सारेको छ । चारपटक गर्भजाँच गराए वापत आठ सय र सुत्केरी हुन आउँदा यातायात वापत दुई हजार रुपैयाँ सहित बच्चा र आमालाई न्यानो कपडा दिने व्यवस्था छ । तर, प्यूठान अस्पतालमा सुत्केरी हुने महिलाहरु चार महिनादेखि उक्त सेवाबाट बञ्चित भएका छन् ।
२०७६ भदौ १४ गतेदेखि अस्पतालमा सुत्केरी हुने र गर्भजाँच गराउने महिलाहरुले राज्यबाट पाउने सेवा सुविधा पाएका छैनन् । भदौदेखि हालसम्म ५७५ जना महिलाहरु उक्त सेवाबाट बञ्चित हुनुपरेको छ । नियमित गर्भजाँच गराएर अस्पतालमा सुत्केरी भएकी मल्लरानी ३ सानीपोखरीकी प्यूठानकी प्रेमा अधिकारीले अस्पतालबाट घर फर्किदा उक्त रकम नपाएको गुनासो गरिन् । ‘सिस्टरहरुले अहिले पैसा छैन्, पछि आएपछि फोन गरेर बोलाउछौँ भनेर पठाउनुभयो’,उनले भनिन्,‘तर अहिलेसम्म फोन आएको छैन् ।’ २७ वर्षिय अधिकारीले पहिलो सन्तानको रुपमा अस्पताल पुगेर छोरी जन्माएकी हुन् । प्यूठानसँग जोडिएका छिमेकी जिल्ला रोल्पा, गुल्मी र अर्घाखाँचीका सेवाग्राही समेत प्यूठान अस्प्ताल आउने गर्छन् ।
आफैँ थलिएको अस्पताल उठ्न नसक्दा सेवाग्राहीले अहिलेसम्म सास्ती खेपीरहेका छन् । निःशुल्क वितरण गर्ने औषधी नहुँदा विरामीले नीजि क्लिनिकबाट खरिद गर्न बाध्य छन् । सुत्केरीलाई प्रयोग गरिने सामग्री र औषधी अस्पतालले विरामीका कुरुवालाई क्लिनिकबाट खरिद गर्न लगाउछ । सुत्केरी हुने मिति आएपछि श्रीमतीलाई लिएर अस्पताल पुगेका प्यूठान नगरपालिका ८ बाग्दुलाका डिल बहादुर दसौदीले राज्यबाट पाउने सेवा नपाएको गुनासो पोखे । ‘सेनेटरी प्याड र पंजा समेत किनेर ल्याउनुप¥यो’,उनले भने,‘अस्पतालले केही पनि निःशुल्क दिँदो रहेन्छ ।’ उनले सरकारी अस्पताल सेवाग्राहीप्रति गैरजिम्मेवारी बनेको टिप्पणी गरे । गर्भवती भाउजुलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी विजुवारकी सीता खड्काले व्लेट समेत आफैँले किनेर ल्याउनुपरेको गुनासो गरिन् ।
अस्पतालले स्वास्थ्य बीमा मार्फत वितरण गर्ने औषधी समेत वितरण गरेको छैन् । गत भदौदेखि नै औषधी वितरण ठप्प छ । कार्यालय प्रमुख नहुँदा औषधी खरिद प्रक्रिया अघि नबढेपछि समस्या निम्तिएको निमित्त कार्यालय प्रमुख खिम प्रसाद पार्धेले जानकारी गराए । उनका अनुसार असोजदेखि कर्मचारीले तलव समेत बुझेका छैनन् । ‘केही सामान र औषधी नीजि क्लिनिकबाट किनेर ल्याएका छौँ’,उनले भने,‘त्यो पनि व्यवसायीले पताउँदासम्म ल्याउने हो ।’ कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा धेरै असहजता भएको उनले सुनाए । ‘बैंकमा पैसा छ’,उनले भने,‘कार्यालय प्रमुख नहुँदा खर्च गर्ने अधिकार भएन् ।’
कर्मचारी समायोजनले डाक्टरहरुको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष केशवराज आचार्यले प्रतिक्रिया दिएका छन् । यसअघि आएका डाक्टरले आर्थिक अधिकार लिन नमानेपछि समस्या भएको उनको भनाई छ । केही समयभित्र समस्या समाधान हुने समेत उनले ‘रेडिमेट’ जवाफ दिए । अस्पतालको सेवालाई सेवाग्राहीमैत्री बनाउन नसक्दा जनस्तरमा सरकारी सेवाप्रतिको विश्वास गुम्दै जान थालेको छ । निर्वाचित जनप्रतिनिधी चुनिएपछि पनि अस्पतालको सेवा प्रवाह अझै सुध्रिन सकेको छैन् । जनप्रतिनिधीहरुले समेत लथालिङ्ग अस्पतालको सुधारमा चासो देखाएका छैनन् ।