विजुवार (प्यूठान) : स्थानीय सरकारले नीजि क्षेत्रसँग प्रभावकारी समन्वय गर्नुपर्ने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताएका छन् । नगरको विकास र समृद्धिमा स्थानीय सरकार र नीजि क्षेत्रको सहकार्य अपरिहार्य आवश्यकता रहेको उनले जोड दिए । प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १५ औँ वार्षिक साधारण सभाको उद्धघाटनमा बोल्दै कक्षपतीले सरकारले व्यवसायीहरुसंग कर मात्र नलिई साझा समस्या र जटिलताहरुको पहिचान गरि समाधानमा समेत चासो दिन आग्रह गरे । विजुवार गाँजुरीमा निर्माणाधिन शहिद पार्कमा प्यूठान नगरपालिकाले देखाएको चासो र सहयोगले आफूहरुलाई थप उत्साहित बनाएको उनले सुनाए ।
जिल्लाको कृषि, उर्जा, पर्यटन प्रर्वद्धनको विकास, बजारको सुरक्षा, व्यवस्थित बजार, सडक जाम, फोहरमैला व्यवस्थापनमा स्थानीय सरकारसंग नीजि क्षेत्र सदैव समन्वय र सहकार्य गर्न तयार रहेको उनले बताए । ‘उद्योग वाणिज्य संघ गरिखाने व्यवसायीहरुको संस्था हो’ कक्षपतिले भने, ‘हामी सदैव व्यवसायीहरुको हकहित र अधिकारमा पैरवी गर्छौ ।’
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि आगामी दिनमा व्यवस्थित मेला महोत्सव संचालन गर्न थालिएको समेत कक्षपतिले जानकारी गराए । स्थानीय स्तरमा पर्यटन प्रर्वद्धन गर्न पालिका स्तरिय मेला महोत्सवमा समेत संघले स्थानीय सरकारसँग प्रस्ताव पेश गरेको उनको भनाई छ । वार्षिक साधारण सभामा बोल्दै प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले नगरपालिकाको चौतर्फी विकासमा नीजि क्षेत्रसंग समन्वय गर्न स्थानीय सरकार तयार रहेको उल्लेख गरे । ‘हामी दुई वर्ष ऐन कानुन तथा कार्यविधि बनाउन लाग्यौ’,उनले भने,‘समृद्ध नगर बनाउन सबै पक्षको साथ सहयोग हामीलाई चाहिएको छ ।’ बजारको सुरक्षाका लागि नगर प्रहरी राख्न थालिएको समेत उनले बताए । ‘नगरपालिकामा छुट्टै व्यवसाय युनिटको स्थापना पनि गर्दैछौँ’, उनले भने । उदेश्यहिन अव्यवस्थित मेलामा रोक लगाई जिल्लाको कृषि, पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने खालका मेला महोत्सवहरु संचालन गर्नुपर्नेमा नगरप्रमुख कक्षपतिले जोड दिए ।
साधारण सभामा बजार क्षेत्रको सचिवालय भवन निर्माणका लागि भवन निर्माण समितिलाई आर्थिक एवं भौतिक सहयोग गर्न साधारण सदस्यहरुलाई अपिल गरिएको सचिव सुमन सवुदीले बताए । सुवेदीले संस्थाको वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कोषाध्यक्ष अर्जुनसिंह विकले एक लाख ६२ हजार ३ सय ८३ रुपैयाँ बराबरको वार्षिक आय व्यय विवरण प्रस्तुत गरे । अनिवार्य व्यवसाय दर्ता, नियमित बजार अनुगमन, झोलेपोके नियन्त्रण, फोहर व्यवस्थापन, व्यवसायिक दक्षताका लागि अभिबृद्धि तालिम, राजश्व तथा कर सम्वन्धि तालिम जस्ता कार्यक्रम अगामी वर्षकाका लागि तय भएको सुवेदीले जानकारी दिए । आगामी आर्थिक वर्ष ११ लाख ८० हजार रुपैयाँ बराबरको आय–व्ययको अनुमानित बजेट प्रस्ताव गरिएको छ ।
भवन निर्माणका लागि प्यूठान उद्योग वाणिज्य संघका सदस्य डिल्लीराज पराजुलीले १ लाख ५ रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा समेत गरेको कोषाध्यक्ष विकले जानकारी दिए । संघका द्धितिय उद्योग उपाध्यक्ष एंव प्यूठान नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्ष मुक्ति पोख्रेललाई साधारण सभाकै अवसरमा सम्मान गरिएको छ ।