प्यूठान : उपचार नपाएर घरमै थलिएका झिमरुक गाउँपालिका ४ बांगेमरोठ चौरका दामोदर खत्रीको उपचार हुने भएको छ । आजको पोष्ट डटकमटमा समाचार प्रकाशित भएपछि खत्रीलाई सहयोग गर्नेहरु भेटिएका हुन् । देश विदेशमा भएका नेपालीहरुले उनलाई सहयोग गरेका छन् । हालसम्म एक लाख एक हजार पाँच सय रुपैयाँ सहयोग रकम संकलन भइसकेको छ ।
गोरखा जन्मघर र हाल अमेरिकाको टेक्सासमा रहेकी समाजसेवी माला महतको पहलमा ६३ हजार रुपैयाँ सहयोग भएको छ । उनलाई अमेरिकामै रहेका मिना भट्टराई, विष्णु गुरुङ, शरद ओझा, मधु रिमाल, सुजता माली, उशा पाण्डे, भवानी पाण्डे, अन्जना जोसी, बिमल वाग्ले र सु थैब सहित तीन जना भारतीय नागरीकले सहयोग जुटाउन मद्दत गरेका थिए ।
पोखरा परस्याङका दिनबन्धु कोइरालाले ९ हजार, झिमरुक गाउँपालिका ४ हुराना हाल मलेशिमा रहेका कमल रोकाले पाँच हजार, लक्ष्मी मावीका प्रधानाध्यापक कर्ण जिसी मार्फत पाँच हजार सहयोग जुटेको छ । माला महतले पठाएको सहयोग रकम बुधवार एवीसी टेलिभिजनद्धारा प्रशारण हुने सांगितिक कार्यक्रम ‘इन्द्रेणी’ का संचालक कृष्ण कणेल मार्फत पीडितलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममै इन्द्रेणी कार्यक्रम मार्फत पीडितलाई थप २५ हजार रुपैयाँ सहयोग दिइएको इन्द्रणीका संचालक कणेलले बताए ।
खत्रीलाई उपचारका लागि दिदी शान्ता जिसीले काठमाण्डौँ लगेकी छन् । २६ वर्षिय खत्री बुवा आमाको निधनपछि बेसहारा बनेका छन् । उनी एकमात्र दिदीको सहारामा बाँचेका छन् । देब्रे खुट्टा सुनिन्एर चुढिनै थालेको छ । औँलामा घाउँ बनेको छ । सहयोग प्राप्त भएपछि दिदी शान्ताले खुसी व्यक्त गरिन् । ‘यस्तो सहयोग जुट्ला भन्ने सोँचेकै थिइन’,उनले भनिन्,‘गरिबलाई देख्ने पनि हुनुहुदो रहेछ । मेरो एकमात्र माइती घरको भाइको उपचार हुने आशा गरेकी छु ।’ सहयोगदातालाई उनले ‘भगवान’ जस्तै सम्झिन् ।