- शोकमा डुब्यो इस्मा
- खुसी साट्नै पाएनन् आफन्त
इस्मा (गुल्मी) : तीनवर्ष पछि आएको कुलपुँजा (देवाली)को रौनकले इस्मा गाउँपालिका ५ पैयाँपाटाको कार्की गाउँमा खुसीयाली थियो । कुलपुजामा आएका आफन्तले सवैका घर भरिएका छन् । घरलाई चोखाएर राखिएको छ । टाढा टाढाका दाजुभाई जुट्दा कार्की परिवारमा खुसीको सिमा थिएन् । साता दिन अघिदेखि नै दाजुभाई भेला भएर कुलपुजाको तयारी गरेका थिए । पैसा हुनेले दुई÷दुई वटा नहुने एउटा भएपनि पुजामा चढाउने बोका किनेर राखेका छन् । तीनवर्षको कुलपुजा उनीहरुका लागि धेरै महत्वको चाड हो । गाउँभरी देवालीको निम्तो भनेर कार्की परिवारले सकाएका थिए ।
इस्मेली कार्कीहरुका धेरैजसो दाजुभाई बाग्लुङको निशीखोलामा छन् । कतिपय दाजुभाई कञ्चनपुर कैलालीमा पनि छन् । गुल्मीको पैयापाटाका १८ घरका कार्की दाजुभाईले मंगलवार विहानै पाँच बजे बाग्लुङमा जाने तयारीका साथ अघिल्लो दिन नै गाउँकै जिप रिर्जव गरे । विहानको चिसोसँगै सवै दाजुभाई जुटेर एउटै जीपमा कुलपुजामा चढाउने बोका राखेर बाग्लुङतर्फ प्रस्थान गरे । तर, गन्तव्यमा पुग्न नपाउँदै कार्की दाजुभाईहरुको खुसीयाली खोलामै विलायो । उनीहरु चढेको जिप दुर्घटनामा प¥यो । पाँच सय मिटर तल बडीघाट खोलामा खसेपछि घटनास्थलमा १६ घरपरिवारका १४ जनाको ज्यान गयो । तीन जना घाइते भएका छन् । देवालीको तयारीमा रहेका आफन्त, इस्टमित्र र दाजुभाईको घरमा रुवाबासी छ । बाँचेकाहरुको वचल्ली भएको छ । एउटै घरका तीन जना पर्ने गरी घटनास्थलमा मृत्यु भयो । अधिकांश एकै घरका दुई जना पर्नेगरी दुर्घटना मृत्यु भएको छ । टाढाटाढा आएका आफन्तहरु मृतकलाई सम्झेर रुवाबासी गरेका छन् । कार्की गाउँ शोकमा डुबेको छ ।
१८ घरपरिवारका सदस्य दुईवटा जीप रिर्जभ गरेर वाग्लुङ हिडेको स्थानीयले बताएका छन् । गाउँ रित्ताउने गरी भएको दुर्घटनाले सिंगो गुल्मी नै शोकमा डुबेको छ । धेरैको पारिवारिक विचलन हुने देखिएको छ । टाढाटाढाबाट दाजुभाईसँग खुसी साट्न आएका र छिमेकी, आफन्त होसमा छैनन् । विहान करिव १० बजेको समयमा भएको दुर्घटना परिवारका सदस्यले १२ वजे मात्रै थाँहा पाएका थिए ।
कोको परे दुर्घटनामा ?
मृत्यु हुनेमा ईस्मा गाउँपालिका ४ दोहोली पैयापाटाकी ४५ वर्षीष भुमा कार्की, धनबहादुर कार्की ,उनकी छोरी मिना बस्नेत, गाडी चालक रेशम थापा, सीता कार्की, झवि कार्की, मायाँ थापा, नवलपरासी बर्दाघाट बस्ने मुमा कार्की, इस्मा गाउँपालिका ५ कि बसुन्धरा कार्की छन् । त्यस्तै, ईस्मा ४ का मान बहादुर कार्की, सुचना कार्की, बाग्लुङ बडिगाड गाउँपालिकाकी नरमायाँ खत्री रहेका छन् । कञ्चनपुरबाट दाजुभाई भेट्न आएका ६० वर्षीय धन बहादुर कार्कीको पनि दुर्घटनामा परी मृत्यु भयो । दुर्घनामा परी ६१ वर्षीष धन बहादुर कार्की र नाम नखुलेकी वालिका वेपत्ता भएका छन् ।
दुर्घटनामा घाईते हुनेमा ईस्मा स्थानीय ४ वर्षीष हिमाल कार्की, निमा केसी र नवलपरासी बर्दघाट नगरपालिका २ का जीवन कार्की छन् । उनीहरुलाई गुल्मीका प्रतिनिधी सभा सदस्य एवं निवर्तमान श्रम रोजगार मन्त्री स्थानीय गोकर्ण विष्टको पहलमा हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । वेपत्ता भएका धन बहादुर कार्की, बुहारी सुचना कार्की र घाईते बालक हिमाल कार्की एकै परिवारका हुन् ।
स्थानीय बृद्धा ज्ञान कुमारी कार्कीका अनुसार दुर्घटनामा मृत्यु भएका अधिकांश एकै परिवारका दुई सदस्य रहेका छन् । कार्की गाउँका दाजुभाई बुधबार हुने कुलपुजाका लागि ईस्मा दोहोलीबाट हिडेका हुन् । दुर्घनाले ७ पुरुष र ५ महिलाले आफ्ना जीवन साथी गुमाएका छन् । महिलाहरुको सिन्दुर पुछिएको छ । मृतक सवैलाई इस्मा गाउँपालिकाको हुलाकेमा एकैपटक खोलामा अन्तिम दाहासंस्कार गरिएको छ । इस्मा गाउँपालिकाको अगुवाईमा दाहासंस्कार लागि दाउरा संकलन गरिएको छ ।