प्यूठान : छिमेकी जिल्ला रोल्पा र प्यूठान हेर्ने गरी विजुवार प्यूठानमा सामाजिक विकास डिभिजन कार्यालय संचालनमा आएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ मातहत रहनेगरी कार्यालय स्थापना गरिएको हो । प्रदेश मन्त्रालयले जिल्लामा संचालन गर्ने कार्यक्रमहरुको कार्यसम्पादनमा सहजता ल्याउनका लागि डिभिजन खोलिएको मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले जानकारी गराए । डिभिजनको मंगलवार उद्घाटन गरिएको छ । प्यूठानका प्रदेश सभा सदस्य हरीप्रसाद रिजालले कार्यालय उद्घाटन गरे ।
सामाजिक विकास मन्त्रालयले संचालन गर्ने शिक्षा, महिला तथा बालवालिका, जेष्ठ नागरीक, अपांगता, श्रमरोजगार, यूवा तथा खेलकुद, विज्ञान प्रविधि लगाएतका क्षेत्रका कामहरुको सहज रुपमा उक्त डिभिजनबाट कार्यसम्पादन हुनेछ । डिभिजन स्थापना भएपछि मन्त्रालयबाट पाउने सेवा सुविधा लिन बुटवल नै धाउनुपर्ने बाध्यता हट्ने ज्ञवालीले जानकारी गराए । प्रदेशका १२ वटै जिल्लालाई हेनेगरी ६ वटा डिभिजन कार्यालय स्थापना गरिसकिएको उनले बताए ।
प्यूठान सहित, दाङ कपिलवस्तुको (दाङ), बाके बर्दियाको (बर्दिया), अर्घाखाँची, कपिलवस्तुको (कपिलवस्तु), रुपन्देही, नवलपरासीको (रुपन्देही) र पाल्पा गुल्मीको (पाल्पा)मा डिभिजन खोलिएको छ । रोल्पा प्यूठानका लागि प्यूठान नगरपालिका ४ विजुवारस्थित कृषि सेवा केन्द्रको भवनमा कार्यालय स्थापना गरिएको छ । कार्यालयको प्रभावकारीता हेरेर आगामी वर्षदेखि १२ वटै जिल्लामा समेत डिभिजन खोल्न सकिने ज्ञवालीको भनाई छ । चालु आर्थिक वर्षमा डिभिजन कार्यालयले यसअघि तोकिएका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नेछ । अर्को वर्षदेखि सवै डिभिजनले आफ्ना कार्यक्रमहरु समेत बनाउन पाउने मन्त्रालयले जनाएको छ ।
उद्घाटनमा बोल्दै प्रदेशसभा सदस्य रिजालले बुटवलबाट हुने सेवा जिल्लाबाट हुनेभएपछि दुई जिल्लाका सेवाग्राहीलाई सहज भएको बताए । ‘अहिलेसम्म मन्त्रालयका सेवा लिन दुःख बुटवल धाउनुप¥यो’,उनले भने,‘अवदेखि धेरै सहज हुनेछ ।’ बजेट फ्रिज हुनबाट समेत यसले रोक्ने उनको विश्वास छ । प्रदेशको सेवा लिन धेरै समस्या झेल्नुपरेको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताए । ‘प्रदेशका कार्यक्रमलाई जनताले नजिकबाट बुझन पाउने भएका छन्’,उनले भने,‘प्यूठानमै कार्यालय हुँदा अझ उत्साहित छौँ ।’ मन्त्रालयले डिभिजन प्रमुखको रुपमा आठौँ तहका अधिकृत विष्णुप्रसाद भुसाललाई तोकेको छ । कार्यालयमा पाँच जना कर्मचारी रहनेछन् । सामाजिक विकास डिभिजन कार्यालय सहित जिल्लामा स्वास्थ्य कार्यालय र प्यूठान अस्पताल प्रदेश मातहतमा सञ्चालनमा छन् ।