- स्वास्थ्यचौकीको भरमा नगरपालिका
- ३२ मध्ये २५ नगरपालिका अस्पताल विहिन
प्यूठान : स्थानीय सरकार संचालन ऐन, २०७४ मा नगरपालिका हुनका लागि कम्तीमा २५ बेडको अस्पतालको सुविधा हुनुपर्ने प्रावधान भए पनि प्रदेश ५ का सातवटा नगरपालिकामा मात्र यो मापदण्ड पूरा गरेका अस्पताल छन् । बाँकी २५ वटा नगरपालिकामा २५ बेडसम्मका अस्पताल छैनन् । केही नगरपालिकामा भएका अस्पताल १५ बेड मात्रका छन् । तिनको बेड बढाउनेतर्फ कसैले चासो देखाएका छैनन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवामा जिल्ला अस्पतालका साथै ५० बेडको अस्पताल भएको यूनिभर्सल मेडिकल कलेज छ । तिलोत्तमा नगरपालिकामा ५० बेडकै क्रिमशन हस्पिटल छ भने देवदह नगरपालिकामा पनि ५० बेडकै देवदह मेडिकल कलेज छ । यी सबै मेडिकल कलेज निजी लगानीका हुन् ।
रुपन्देहीकै लुम्विनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिका अस्पताल विहिन छन् । यहाँका बासिन्दा उपचारका लागि अन्त जानुपर्छ । नवलपरासीको रामग्राम नगरपालिका (बर्दघाट सुस्ता पश्चिम) मा ५० बेडको पृथ्वीचन्द्र अस्पताल छ । रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवँरका अनुसार, यसअघि २५ बेड रहेको उक्त अस्पतालमा बेड थपेर दुई वर्ष अघि ५० बेड पारिएको हो । यो नवलपरासीको एक मात्र ठूलो अस्पताल हो । नवलपरासीकै सुनवल नगरपालिका अस्पताल विहिन छ । स्वास्थ्यचौकीको भरमा नगरबासीले उपचार लिनुपरेको छ । नगरपालिकाले १५ बेडको अस्पताल बनाउने गरी सुनवल स्वास्थ्यचौकीलाई स्वीकृत लिएपनि काम अघि नबढेको प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताए ।
प्रदेश ५ का विभिन्न जिल्लाका १० वटा नगरपालिकामा १५ बेडका अस्पताल छन् । प्यूठान नगरपालिकाको विजुवारमा रहेको १५ बेडको प्यूठान अस्पताललाई ५० बेडको बनाउने चर्चा दश वर्षदेखि चलिरहेको छ तर काम केही भएको छैन । चुनावका बेला नेताहरुले अस्पतालको बेड बढाउने आश्वासन दिन्छन् ।
यस अस्पताललाई ५० बेडको बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति भने दिइसकेको छ । प्यूठान र छिमेकी जिल्ला गुल्मीको मदाने गाउँपालिका, रोल्पाको सुनिलस्मृती गाउँपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिकाका विरामी पनि यस अस्पतालमा आउने गर्छन् । विरामीको चाप बढेका बेला अस्पतालमा विरामीले बेड पाउँदैनन् ।
प्यूठानकै स्वर्गद्धारी नगरपालिकाको भिंगृमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको बनाउने प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै अघि बढाएको छ । नगरपालिका स्थापना भएको दुई वर्ष वितिसक्दा समेत स्थानीय सरकार संचालन ऐनले तोकेको मापदण्ड अनुसार अस्पताल बन्ने ‘छाँट’ छैन । स्थानीय जनप्रतिनिधी १५ बेडको अस्पताल बन्ने भएकैमा मख्ख छन् । नगरप्रमुख नेत्र बहादुर रोकायले भने, ‘माथिबाट जे निर्णय हुन्छ हामीले त्यही लागू गर्ने हो, १५ बेडको अस्पताल बनाउन जग्गाको खोजी भइरहेको छ ।’ हाल यस नगरपालिका भरमा तीन बेडको स्वास्थ्यकेन्द्र मात्र छ ।
यहाँका मानिसले उपचार गराउन जिल्ला अस्पताल विजुवार पुग्न अपायक पर्छ । विशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचार लिन बुटवल, काठमाण्डौँ, भैरहवा र कोहलपुर शहरमा पुग्नुपर्ने बाध्यता रहेको गुनासो स्वर्गद्धारी नगरपालिका ६ बेलवासका शिक्षक झईन्द्र प्रसाद भण्डारीले गरे । उनले भने, ‘जनप्रतिनिधीले जनताको गुनासो सुन्दैनन् । कर बुझाउँदा नगरबासी भनेर बढी बुझाउनुपर्छ तर, सेवा सुविधा सामान्य गाउँको जस्तो पनि छैन् ।
स्वर्गद्धारीका खाल, नस, अडेबास, धनवाङ, मालारानी लगाएत गाउँका बासिन्दा अहिले पनि दुर्गम गाउँका बासिन्दाले भोग्ने पीडा बोकेर बाँचिरहेका छन् । आपूm बसेको ठाउँ नगरपालिका भएको अनूभुति गर्न उनीहरुले पाएका छैनन् । भण्डारीले भने, ‘२५ बेडको अस्पताल बन्ने कुरा सपना जस्तै लाग्छ । यही प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति भएपनि धेरै खुसी हुन्थ्यौँ ।’
पाल्पाको रामपुर नगरपालिकामा ५० बेडको अस्पताल स्वीकृत भएको छ तर हालसम्म १५ बेडको अस्पताल छ । भौतिक पूर्वाधार निर्माणको क्रममा रहेको उक्त अस्पतालले छिट्टै ५० बेडको बनाउन थालेको नगरप्रमुख रमण बहादुर थापाले बताए । उनले भने, ‘अस्पताल प्रदेश सरकार मातहत संचालनमा हुने भएकाले यसको सबै अधिकार प्रदेशमै रहन्छ । स्थानीय सरकारले समन्वयात्मक भूमिका मात्र खेल्ने हो ।’ नगरप्रमुख थापाका अनुसार आउँदो ६ महिनाभित्र अस्पतालको भवन निर्माण भइसक्छ ।
नेपालगञ्ज, बर्दिया, कृष्णनगर, चन्द्रौटा लगायका भारतसँग सीमा जोडिएका धेरै ठाउँका मानिस स्वास्थ्य उपचारका लागि भारतका अस्पतालमा भर पर्नु परेको छ । भएका स्वास्थ्य संस्थामा पनि दरवन्दी अनुसार चिकित्सक हुँदैनन् । विशेषज्ञ सेवा हुँदैन ।
अर्घाखाँचीको शितगंगा नगरपालिका स्थापना भएको दुइवर्ष वितिसक्दा समेत यस क्षेत्रका बासिन्दाले अस्पतालबाट पाइने सुविधा पाएका छैनन् । विशेषज्ञ चिकित्सकले दिने सेवा लिन यहाँका विरामीले बुटवल, भैरहवा र काठमाण्डौँ धाउनुपर्छ । यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीले सामान्य चिकित्सा सेवा मात्र दिन सकेका छन् । नगरपालिकाले ठाड स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने प्रक्रिया हालै अघि बढाएको छ । नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘२५ बेडको बनाउने भन्ने पनि छ । तर, निधो भइसकेको छैन् तै पनि दश करोडमा १२ कोठे भवन बन्दैछ ।’ नगरप्रमुख अधिकारीका अनुसार जग्गा नपाइएकाले गर्दा धेरै बेड भएको अस्पताल बनाउन समस्या भएको बताए ।
जिल्ला अस्पताल रोल्पाको भौतिक पूर्वाधार त छ तर पनि यो अस्पताल १५ बेडको मात्र छ । रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीका अनुसार ३१ करोड लागतमा अस्पतालको भवन निर्माण गरिएको छ । ५० बेडको अस्प्ताल बनाउन स्वीकृति भएको भएपनि कार्यान्वयन गर्न नसकेको उनले बताए । जिल्ला अस्पताल छिट्टै ५० बेडको हुने आशा भने केसीले ब्यक्त गरे ।
जिल्ला अस्पताल गुल्मी पनि ५० बेडको हुने क्रममा छ । १५ बेडमै सिमित उक्त अस्पताललाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्तरोन्नतीको अनुमती दिएको छ । नगरप्रमुख डिल्लीराज भुषालले केन्द्र सरकारलाई नै दोष दिएर उम्कन खोजे । ‘स्वीकृत मात्र ५० बेडको छ’,उनले भने,‘न डाक्टर छन् नत भौतिक संरचना ।’ १० जना डाक्टरको दरवन्दीमा एक जनाले मात्र काम चलाउनुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भुषालले बताए ।
कपिलवस्तुको शिवराज नगरपालिकाले स्थानीय नीजि क्लिनिक र स्वास्थ्यचौकीको भरमा जनतालाई सेवा दिनुपरेको नगरप्रमुख नेत्रराज अधिकारीले गुनासो गरे । उनले भने,‘नगरपालिकाले पूँजिले अस्पताल बनाउन सम्भव छैन् । केन्द्र सरकारले हाम्रो माग सुन्दैन् ।’ ११ वडामध्ये ८ वटा वडामा मात्र स्वास्थ्यचौकी रहेको समेत उनले बताए ।
हाल १५ बेडको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीबाट स्वास्थ्य सेवा लिइरहेका मानिसले २५ बेडको अस्पताल बनेपछि थप सेवा पाउँछन् । २५ बेड भएको अस्पतालमा विशेषज्ञ सहितको सेवा उपलव्ध हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख एवं नेपाल जनस्वास्थ्य संघ प्रदेश नम्वर ५ कार्यसमितिका अध्यक्ष विशाल सुवेदीले बताए ।
स्थानीय सरकार बनेको दुई वर्ष वितिसक्दा पनि संघीय मन्त्रालयहरुको रणनीति र स्थानीय सरकार संचालन ऐनले तोकेको मापदण्डबीच तालमेल नभएको कुरा सुवेदीले बताए । उनका अनुसार, नगरपालिकामा कम्तिमा २५ बेडको अस्पताल हुनुपर्नेमा अझैपनि १५ बेडको मात्र बनाउन खोज्नु नीति विपरित कुरा हो ।
नगरपालिका र अस्पतालको अवस्था, हेर्नुहोस् पुरा विवरण :