प्रकृतिले धनी हाम्रो देश, धेरै कुरामा गरिब छ । हिमाल, पहाड र तराई मात्र हैन सपना, सम्भावना र संघर्ष पनि एउटै नक्साभित्र सजिएर बसेका छन । तर, विडम्बना बग्रेल्ती संभावना भएर पनि विकासको पंक्तिमा जहिल्यै पछाडीको सूचिमा छ । चाहे त्यो देशको सूचांकमा होस् वा विदेशीको नजरमा । जसको कारण प्रष्ट छ, देशका शिक्षक नेता छन्, कर्मचारी नेता छन्, विद्यार्थी नेता छन्, अनि जो नेताहरू छन्, तिनीहरू सबैजसो कुनै न कुनै सामाजिक अस्तित्व र पहिचान गुमाएका छन । रुखो बोलीमा भन्ने हो भने उनीहरु आर्थिक अनियमितता र भ्रष्टको सूचिमा भएको कुरा विभिन्न अध्ययन, अनुसन्धान र अखवारहरुले देखाएका छन ।
शिक्षकहरु समाजका अगुवा हुन । नेपाली समाजलाई कुन बाटोमा लैजाने भन्ने ठूलो भूमिका उनीहरुको काँधमा हुन्छ । चेतनाको दियो बाल्ने उनै गुरु (शिक्षक)हरु आफ्नो पेशागत मर्यादालाई सिमाना नाघेरै अघि बढेका छन । उनीहरु पेशागत मूल्य र मान्यतामा अडिग छैनन । कामलाई भन्दा बाहिरी कुरामा बढी तल्लीन छन । पढाउनुको साटो राजनीति झण्डा बोकेर हिडिरहेका छन ।
यस्तो अवस्थामा के साँच्चिकै सम्भव छ देशको समृद्धि ? शिक्षक भन्ने बित्तिकै हाम्रो मानसपटलमा आउने छवि हुन्छ एक श्रद्धेय पात्र, जो अज्ञानताको अँध्यारो हटाएर ज्ञानको उज्यालो दिने व्यक्ति । तर अहिले शिक्षकहरू शिक्षालय छोडेर राजनीतिक दलको झन्डा बोक्दै सडकमा आउछन् । शिक्षा संस्था अब अध्ययनको केन्द्र नभई, नेताहरुको प्रशिक्षण स्थल बनेको छ । राजनीतिक शिक्षक संगठनहरू विद्यालय र विश्वविद्यालयभित्र राजनीतिक सौदाबाजी, नियुक्तिमा हस्तक्षेप र आ–आफ्ना गुटका लागि दबाब सिर्जना गर्न तल्लीन छन् ।
यी शिक्षकहरूले पार्टीगत स्वार्थमा आधारित पाठ्यक्रम निर्माण, शिक्षक नियुक्ति, पदोन्नति जस्ता प्रक्रियामा हस्तक्षेप गरिरहेका छन् । जसको परिणामस्वरूप योग्य र कर्मशील शिक्षकहरू प्रणालीबाट विस्थापित भइरहेका छन् र निकम्मा तर ‘पार्टी नजिक’ हुनेहरूले अवसर पाइरहेका छन् । जब शिक्षकले राजनीतिलाई पेशा बनाए, तब ज्ञान, शिक्षा र चरित्रको निर्माण खुम्चियो र त्यसको प्रभाव देशको हरेक तहमा पर्न थाल्यो ।
नेपालको सरकारी सेवा क्षेत्रमा रहेका कर्मचारीहरू पनी राष्ट्रसेवक रहेनन् । मालिकको रूपमा प्रस्तुत भइरहेका छन् । हरेक मन्त्रालय, कार्यालय र निकायमा कर्मचारी युनियन छन् जसले सेवा सुधार होइन, दलको नीतिअनुसार कार्य गर्छन । फाइल पास गराउने, बजेट पास गराउने, सरुवा ट्रान्सफर मिलाउने जस्ता सबै कामहरू कर्मचारी नेताहरूले ‘सेटिङ’ अनुसार गराइरहेका छन् ।
जब कुनै सरकारी कर्मचारी नेताको हैसियतमा हिँड्छ, उसले कानूनको होइन, नेताको आदेश पालना गर्छ। कर्मचारीहरू सेवा प्रवाहको सट्टा सेवा बेच्न थालेपछि आम नागरिक राज्यप्रति आक्रोशित हुनु स्वभाविक नै हो। कतै पासपोर्ट बनाउन घुस, कतै जग्गा दर्ता गर्न सिफारिस सबै ठाउँमा कर्मचारी नेताहरूको चलखेल हुन्छ । यस्तो अवस्था मा कहाँबाट आउँछ सुशासन ?
विद्यार्थी भन्ने बित्तिकै दिमागमा आउँछ उत्साही, ऊर्जावान र सपना देख्ने युवा शक्ति । तर विद्यार्थी नेताहरूले परिवर्तन होइन प्रतिष्ठान कब्जा गर्ने खेल खेलिरहेका छन् । विश्वविद्यालयहरूमा दल निकट विद्यार्थी संगठनहरू कुर्सी र ठेक्कापट्टाको राजनीति गर्छन् । निर्वाचनका बेला उम्मेदवारका लागि प्रचार, बैठकहरूमा भीड, प्रदर्शनका लागि ‘बल प्रयोग’ यो बाहेक यी बिद्धार्थी नेताहरुको अन्य काम छैन । यिनिहरुले शैक्षिक संस्था लाई राजनीति गर्ने र नेता बन्ने प्राथमिक पाठशाला बाहेक अरु उल्लेख्य काम केहि गर्न सकेनन् ।
धेरै विद्यार्थी नेताहरू लामो समयदेखि पढाइ रोक्दै राजनीति मात्रै गरिरहेका छन् । कलेजमा उपस्थिति छैन, तर ‘क्याम्पस सभापति’ लेखिएको बिल्ला छातीमा छ । कतिपय अवस्थामा विद्यार्थी नेताहरू शिक्षक कुट्ने, प्रशासन अफिस कब्जा गर्ने, कलेज प्रशासनलाई धम्की दिने काममा सक्रिय छन् । यस्तो अभ्यासले बिद्धार्थी राजनीतिले के सिकाउँछ ? गुण्डागर्दी, धम्की, आक्रोश र सत्ताको दुरुपयोग मात्र होईनर ?
नेपालको मूल राजनीति अहिले देशसेवा होइन, सत्ता स्वार्थमा आधारित भएको छ । यहाँ नेताहरूले राष्ट्रभन्दा ठूलो आफ्नै दल र दलभन्दा ठूलो आफ्नै परिवारलाई ठान्छन । संविधान, कानुन, नीतिहरू आफ्नो अनुकूल चलाउन नेताहरूले संसदीय प्रणालीलाई नै कमजोर पारिरहेका छन् । भर्खर कुर्सी पाएको नेता पनि दुई महिनामा करोडौंको गाडी किन्न सक्छ, किनभने भ्रष्टाचारको संरचना पहिल्यै बनिसकेको छ ।
राजनीति अब आदर्श रहेन व्यवसाय बनेको छ । ठेक्का, नियूक्ति, व्यापार, अनि विदेशी सहायता सबै ठाउँमा नेताहरूको प्रत्यक्ष वा परोक्ष संलग्नता छ। नेताहरू विदेशमा छोरी–छोरा पढाउँछन्, त्यहीँ सम्पत्ति राख्छन्, अनि देशमा राष्ट्रवादको भाषण दिन्छन् । यस्तो दोहोरो चरित्रले कसरी निर्माण हुन्छ आत्मनिर्भर राष्ट्र ?
जब शिक्षक नेता छन्, कर्मचारी नेता छन्, विद्यार्थी नेता छन् अनि नेता स्वयं भ्रष्ट छन् त्यसपछि देशको अवस्था के हुन्छ ? योजनाहरू बन्छन तर कार्यान्वयन हुँदैन। बजेट छुट्याइन्छ तर उपभोग हुँदैन। कर्मचारीहरू हाजिर छन् तर सेवा प्रवाह छैन । युवाहरू पढाइ पुरा गरेपछि विदेश पलायन हुन्छन् किनभने आफ्नै देशमा अवसर छैन ।
देशमा सडक अधुरा छन्, अस्पतालहरू सेवा विहीन छन्, शिक्षालयहरू राजनीतिक अखाडा बनेका छन । यो सबैको मूल कारण हो राजनीतिक विकृति र नेतागिरीको गलत संस्कार ।
तर, अब पनि केही सम्भावनाहरू बाँकी छन् । देशका युवाहरू यदि अब राजनीति होइन, कार्यकुशलता, दक्षता र सिर्जनात्मकताको बाटो रोज्छन् भने परिवर्तन सम्भव छ । शिक्षकले आफ्नो जिम्मेवारी बुझे, कर्मचारीले सेवा भाव लिए, विद्यार्थीले पढाइलाई प्राथमिकता दिए, अनि जनताले सही नेतालाई चुने भने, देश बिस्तारै तर ठोस रूपमा अघि बढ्न सक्छ ।
राजनीति गलत होइन गलत त त्यसको दुरुपयोग हो । नेतृत्व आवश्यक छ तर इमानदार, समर्पित र राष्ट्रप्रति उत्तरदायी नेताहरूको । नेपाल साँच्चिकै एउटा अनौठो देश यहाँ हरेक क्षेत्रको प्रतिनिधि नेतागिरीमा लागिरहेको छ, अनि नेतागिरी गर्नेहरू भ्रष्टाचारमा लिप्त छन्। यस्तो समाजमा विकास केवल भाषण र नारामा सीमित रहन्छ । तर परिवर्तन सम्भव छ, यदि हामी नेतृत्वको जिम्मेवारी सही व्यक्तिलाई दिन सक्छौं भने ।
अब समय आइसकेको छ नेतृत्वको मूल्यांकन गर्ने र आत्मनिर्भर राष्ट्र निर्माण गर्ने । हामी हरेक नेपालीले यति बुझ्न आवश्यक छः नेतागिरी होइन, कर्तव्यपालन नै विकासको मूल आधार हो ।