समाज आफैमा सञ्जाल हो । सञ्जालले नै समाजको निर्माण भएको भन्नेकुरा कसैबाट लुकेको छैन हिजोको सञ्जाल र आजको सञ्जालमा जमिन आसमानको फरक परिसकेको छ अहिले त सञ्जाल भन्दा पनि झन्जाल भन्दा फरक नपर्ने स्थिति आइसकेको छ । हामी बाइसौं शताब्दीको नजिकमा छौ तर हाम्रो सामाजिक सञ्जाल पचासौं शताब्दी पार गर्ने अवस्थामा छ भन्दा अतियुक्ति नहोला ।
हिजो पत्रिकाका माध्यमबाट पत्रमञ्जुसाको कुरा गर्दा आजका युवा युवती खिल्ली उढाउँछन । हिजोको हुलाक र डाँक आजको अवस्थामा बेकारको हाँक हो भन्ने मानिसको पनि कमी छैन यहाँ । जे भएकै छ ठिकै भएको छ अरु घोडा चढे भनेर आफू धुरी चढ्न तम्सने हामीले समयको महत्व नबुझेका त कहाँ हौ र ? अलिकति बुद्धि अगाडि आएर मात्र हो नत्र हामी यस्तो सञ्जालको कल्पना गरिरहेका छौ जहाँ पृथ्वी त सामान्य भू डल्लो हो । अब त ब्रहमाण्ड हामीबाट यति नजिक हुँदै छ कि हामी दिन पृथ्वीमा र रात मंगलमा विताउन सक्ने हुनेछौ. । यो सूर्य हामीलाई ताप दिइरहेको छ र हामी हाम्रो अस्तित्व सम्भव छ तर हामी त यति बाठा भै सक्यौ कि हजारौ सूर्य हामी छिनभरमै सामाजिक सञ्जालमा गराउन सक्छौ ।
आजको सामाजिक सञ्जाल यस्तो भै सक्यो कि यहाँ असम्भव भन्ने केही नहुने भयो । रोटी पकाउन सामाजिक सञ्जाल छ कै प्रयोग छ । यू ट्युव र टिकटकका भिडियो हेरेपछि रोटि पकाउन कुनै तालिम नै लिन पर्दैन । बरु अगेनामा डोसेको रोटि डढ्ला तर समाजिक सञ्जालको रोटी राम्रै उस्किन्छ । रोटीको कुरा गर्दा सामान्य लाग्न सक्छ सबै काम यहाँ सामाजिक सञ्जालबाट भै रहेका छन् । चुनाव अघि भोट माग्ने हुन कि चुनावपछि चोट चाख्ने हुन सामाजिक सञ्जालका राम्रै प्रयोगकर्ता हुन । नमरेकालाई मार्ने अनि नजन्मेकालाई नामाकरण गर्ने सामाजिक सञ्जालका हाम्रा पारखीहरु आज मोबाइलका स्क्रीनहरु औला ठड्याइ रहेका छन अनि हाम्रा औला हल्लाइ रहेका छन् ।
आजको सञ्जाल सञ्जालभन्दा पनि झमेलाझाल छ भन्दा अतियुक्ति नहोला । वाक स्वतन्त्रताको नाउँमा मान्छ्ेको टाउँकोको स्थान बोकाले लियो, शिरको पाउ र पाउको शिर सामान्य भयो, बाउँ बाजेको मर्यादा खोलामा गयो, बहुला नाचेको नाच सुपरहिट भयो , परम्परागत नाच पाखे, ढिडो छोडे, मम र पिज्जा चाखे, मौलिक परम्परा घरमै राखे, खान लाउन जे भए पनि स्याउ फोन ( एप्पल फोन ) चाहियो । अनुहार र बुद्धि जे जस्तो होस् फोटा चाहिँ क्यूटी मान्छे प्रत्यक्ष हेर्दा तन मन बल्याक फोटा फ्रेममा ह्वाइट ब्यूटी, यस्तैको छ आज भ्वाइस अनि युवा युवतीको च्वाइस, । सञ्जाल पनि विचित्र बन्दै छ कुकुरले मान्छे टोक्दा वास्ता छैन मान्छेले कुकुर टोक्छ कि भनेर पछि लाग्ने, सत्य तथ्य बुझ्न खोज्यो जिम्बेबारीबाट पछि भाग्ने ।
सञ्जालमा देखिदै छन आज अनेक क्षेत्रमा विज्ञहरु पढेर, परेर, लडेर के के ले भएका हुन विशेषज्ञ थाह छैन तर प्रिपेड, पोष्टपेड अनलाइन क्लास राम्रै छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पा बिड, जे जस्तो भए पनि अनलाइन क्लास लिन हिड, भन्ने मान्यता छोड्न नै मान्दैनन आजकलका युवा युवती । किताबका ढण्डु पढेर समय खेर फाल्नुभन्दा अनलाइनमै पढदा धेरै ठिक, नोट टिप्न पनि परेन, पसिना नि झरेन सफल भए आफ्नो कमाइ असफल भए आमाबाबुको व्यर्थको खर्च । ल्यापटप चाहियो, मोबाइल चाहियो अनलाइन क्लास छ , जबरजस्ती छ आमाबाबुलाई तर के काममा प्रयोग भएको छ राम जाने हाम नै जाने ।
कुकुरले बाख्रा जन्माएको खबर हाम्रो प्राथमिकतामा पर्यो र हेर्यो । मान्छेको ज्यान जाने दुर्घटना छ तर मोबिलको लाइभमा देखायो उद्धार भएन भनेर प्रशासनको खैरो खन्यो । फल्नाको श्रीमानले श्रीमतिलाई र श्रीमतिले श्रीमानलाई समय नदिदा यस्तो दुर्घटना भो भनेर लाइभ पोष्ट गर्ने अनि आफ्नै डिभोर्सको न्यूज अर्काको सामाजिक सञ्जालबाट थाह पाउने सञ्जाल कमालै छ । बुढा पुराना भन्थे अति गर्नु अचाक्ली नगर्नु अबको समाजिक सञ्जालको भर पर्ने हो भने असम्भब केही देखिदैन सोझा साझा श्रीमतिलाई सौता भित्राइदिने देखि लिएर धन्याड्याहरुको गोजी रित्याइदिने अनि स्वार्थपूर्ति भएपछि रद्दिको टोकरीमा मिल्काइदिने जे पनि हुन सक्छ यहाँ । जय समाजिक सञ्जाल ।