पल्लीकोट (गुल्मी) : नेपाली कांग्रेसको पकड गाउँ भनेर चिनिने गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लीकोटका ९१ वर्षिय पुराना एमाले नेता नेत्र प्रसाद खनालले घरमै पुगेका लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीसँग गुनासै गुनासो पोखे । ५२ वर्षदेखि निरन्तर कम्युनिष्ट पार्टीमा लागेका खनालले अहिलेको राजनीति देखेर विरक्त लाग्ने गरेको गुनासो सुनाए । ‘अहिले निष्ठाको राजनीति गर्ने नेता विरलै देखिन्छ, सुनिन्छ’,खनालले मन्त्रीलाई भने,‘तपाईले निष्ठाको राजनीति गर्नुहोला, पार्टीलाई धोका नदिनु ।’ निष्ठाको राजनीति गर्ने नेताहरुको खडेरी लागेको समेत उनले सुनाए ।
![p2-1739089333.jpeg](https://www.ajakopost.com/uploads/posts/p2-1739089333.jpeg)
नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का प्रतिनिधीसभा सदस्य चन्द्र भण्डारीको गाउँ पनि पल्लीकोटसँग जोडिएको गाउँ हुँगा हो । गृह जिल्ला र निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्न पुगेका मन्त्री पन्थी खनाललाई भेट्न आइतवार एक्कासी उनकै घरमा पुगेका थिए । ‘बाटोमा कसैले सम्झेको छ रे भनेर खबर पु¥याउँदा त कति आनन्द लाग्थ्यो’,खनालले मन्त्रीसँग भने,‘घरमै आएर भेट्नु भयो मन प्रशन्न भएको छ ।’
उनले सार्वजनिक जग्गा र वन क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अतिक्रणप्रति चिन्ता व्यक्त गरे । यसलाई रोक्नका लागि मन्त्रीलाई पहल गर्न पनि सुझाव दिए । पञ्चायतकालमा खुलेर कम्युनिष्ट भन्न नसक्ने अवस्थामा पनि आफू खुलेर कम्युनिष्ट आन्दोलनमा होमिएको खनालले सुनाए । २०७४ र ०७९ सालमा गाउँभरीका नेता, कार्यकर्ताहरुले पार्टी छाडेर जाँदा पनि एक्लै एमाले भएर बसेको उनले बताए । व्यक्तिगत स्वार्थ र धोकेवाजको राजनीतिबाट माथी उठ्न समेत उनले नयाँ पुस्ताका नेताहरुलाई सुझाव दिए । बाँचुञ्जेल निष्ठाको राजनीतिलाई साथ दिने उनको अठोट छ । उनी तत्कालिन ग्वाघा क्षेत्रका कम्युनिस्ट नेताहरु नेत्र बहादुर थापा, खेमलाल खनाल र पदम पाण्डे लगायतका समकक्षी हुन् ।
![p-1739089285.jpeg](https://www.ajakopost.com/uploads/posts/p-1739089285.jpeg)
नेपाली राजनीतिमा अग्रज नेताहरुको त्याग र बलिदानलाई नयाँ पुस्ताले अनुशरण गर्ने प्रचलनमा विस्तारै कमी आएकाले यसलाई जीवन्त दिन आफू पाका नेताहरुको घरमै पुगेर सल्लाह सुझाव लिने गरेको मन्त्री पन्थीले सुनाएका छन् । एमाले गुल्मीका इन्चार्ज र पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री पन्थीले आफ्ना मतदाता र जिल्लाबासीको घरघरै पुगेर भेटघाट एवं विकास निर्माणका बारेमा छलफल अन्तरक्रिया गर्ने गरेका छन् ।