प्यूठान : नेकपा (एमाले) प्यूठानले जिल्लाका आठ वटा पालिकाहरुमा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ । नौ पालिकामध्ये ऐरावती गाउँपालिकाको मात्र निर्वाचन हुन बाँकी छ । आगामी पुस १३ गते विशेष कार्यक्रमका साथ ऐरावतीको अधिवेशन गर्ने तयारी एमालेले गरेको छ ।
६४ वटा वडा मध्ये ९० प्रतिशत वडाहरुको समेत अधिवेशन गरेर नयाँ नेतृत्व चयन भएको एमाले प्यूठानका जिल्ला कमिटी सचिव इन्द्रमणी पोख्रेलले जानकारी दिए । ‘अधिवेशन बाट ऊर्जाशिल र यूवा नेतृत्व चयन भएका छन्’,पोख्रेलले भने,‘पार्टीलाई अझ बोलियो र जनस्तरमा पुग्नका लागि गाउँतहदेखि नै नेता, कार्यकर्तामा बेग्लै उत्साह थपिएको छ ।’
सवै पालिकाको अधिवेशनमा पार्टीका पोलिटब्यूरो सदस्य, प्यूठान इन्चार्ज एवं संघीय सांसद् सूर्य थापाको प्रमुख आतिथ्यता थियो । पार्टीका सल्लाहकार कमिटी सदस्य हरीप्रसाद रिजाल, शोभाराम भण्डारी, टेकुलाल गिरी र निम बहादुर खड्काको समेत अधिवेशनमा विशेष उपस्थिती रहेको थियो । अधिवेशनपछि पार्टीका सवै जनवर्गिय संगठनहरुबीच संयूक्त बैठक समेत गरिएको पार्टी सचिव पोख्रेलले जानकारी दिए ।
प्यूठानमा गिरु
एमाले प्यूठान नगरपालिका कमिटीको अध्यक्षमा यसअघि नै गिरुप्रसाद भण्डारी निर्वाचित भएका छन् । यूवा नेता भण्डारी पत्रकारिता पृष्ठभूमिका हुन् । सिंगो प्यूठानको प्रमुख बजार क्षेत्र रहेको प्यूठान नगरपालिकाले समग्र जिल्ला पार्टीकै भूमिकालाई प्रभाव पार्दछ । संघ र प्रदेशका निर्वाचनमा समेत यही नगरपालिकाका मतदाताको भूमिका निर्णायक मानिन्छ ।
स्वर्गद्धारीमा राउत
स्वर्गद्धारी नगरपालिका कमिटीमा यूवा नेता भरत राउत अध्यक्षमा निर्वाचित भएका छन् । राउत यसअघि पार्टीको सचिव थिए । प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारी यही नगरक्षेत्रमा पर्दछ । राउत स्वर्गद्धारी नगरपालिका ५ सारी निवासी हुन् ।
झिमरुकमा पदम
झिमरुक गाउँपालिका वडा नम्वर ३ निवासी पदम बहादुर खड्का पालिका कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । खड्का यसअघि उपाध्यक्ष थिए । उनी स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा समेत उम्मेदवार थिए । मनमा लागेको कुरा प्रष्ट राख्ने नेताको रुपमा उनको छबी छ ।
गौमुखीमा दोहोरिए जुमान
गौमुखी गाउँपालिका कमिटीको अध्यक्षमा जुमानसिँह जिसी दोहोरिएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए । वडा नम्वर ७ नारीकोट निवासी जिसीको पालिकामा मात्रै नभएर सिंगो जिल्ला पार्टी पंक्तिमा पनि प्रभाव छ । उनको बसोवास प्यूठानको प्रमुख बजारकेन्द्र बाग्दुलामा पनि छ ।
मल्लरानीमा नोमराज
सदरमुकाम समेत रहेको मल्लरानी गाउँपालिका कमिटीको अध्यक्षमा नोमराज पौडेल निर्वाचित भएका छन् । उनी मल्लरानी गाउँपालिका वडा नम्वर ३ को वडा अध्यक्ष समेत हुन् । पौडेल यसअघि पार्टीको सचिव थिए । उनी यूवा नेता हुन् ।
सरुमारानीमा जिसी
सरुमारानी गाउँपालिका कमिटीमा पनि बसन्त जिसी दोहोरिएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए । स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष उठ्ने उनको चर्चा चलेपनि टिकट पाएका थिएनन् । जिसी बांगेशाल निवासी हुन् ।
माण्डवीमा अधिकारी
यूवा नेता हेमराज अधिकारी माण्डवी गाउँपालिका कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् । उनी माण्डवी गाउँपालिका वडा नम्वर २ मर्कावाङ निवासी हुन् ।
नौवहिनीमा शेर
दुर्गम क्षेत्रको उपमा पाइरहेको नौवहिनी गाउँपालिका कमिटीको अध्यक्षमा शेर बहादुर सेन ठकुरी निर्वाचित भएका छन् । उनी वडा नम्वर १ स्याउलीवाङ निवासी हुन् । उनी यसअघि नौवहिनी गाउँपालिका १ को वडा अध्यक्ष समेत हुन् ।
नव निर्वाचित नेतृत्वको कार्यकाल तीन वर्षको हुने छ ।