प्यूठान : प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको मुख्य आयोजनामा प्रथम भित्रिकोट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०८१ आयोजना हुने भएको छ ।
टिकुरी बसपार्क नजिकै झिमरुक नदी किनारमा प्यूठान उद्योग वाणिज्य संघद्वारा निर्माण गर्न थालिएको प्रदर्शनी केन्द्रमा यही पुस ५ गते देखि १७ गतेसम्म मेला आयोजना हुने बजार क्षेत्रका अध्यक्ष प्यार अलि खाँनले जानकारी दिए । मेलाको संरक्षकमा प्यूठान उद्योग वाणिज्य संघ तथा प्यूठान नगरपालिकाको कार्यालय विजुवार रहने छन् ।
मेलामा स्थानीय झाँकीहरुको प्रदर्शन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन हुने कार्यक्रमहरु, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा कृषि उत्पादनको बजारीकरणलाई मुख्य प्राथमिकतामा राखिने आयोजकले जनाएको छ ।
मेलाबाट हुने आम्दानीले बिजुवार बजार नजिकै रहेको बजार क्षेत्रको नाममा रहेको जग्गामा सचिवालय भवन बनाउने उदेश्य लिएको सचिव कमल पौडेलले जानकारी गराए ।
मेलामा दैनिक स्थानीय तथा प्रसिद्ध कलाकारहरुको प्रस्तुति रहने छ । प्यूठान डान्स आइडल सिजन–२ समेत सञ्चालन गरिने भएको छ । मेलामा बाल उद्यान, रोटे पिङ, मारुती सर्कस, ब्रेक डान्स, भुत घर, चिडिया घर आदि रहने आयोजकले जनाएको छ । सर्वसाधारणका लागि ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ भने, जेष्ठ नागरिक, असक्त तथा अपाङ्गलाई निःशुल्क गरिएको छ । मेलामा २ करोडको आर्थिक कारोबार हुने र करिब १ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य लिइएको छ ।