प्यूठान : प्यूठानको गौमुखी गाउँपालिकामा जिल्लाकै अग्लो तथा लामो झोलुङ्गे पुल बन्ने भएको छ । गाउँपालिकाको वडा नं १ र ३ लाई जोड्ने गरि पुल बन्न लागेको हो । पुलको लम्बाई ३ सय ६५ मिटर हुने छ भने उचाई १ सय ८० मिटर रहेको छ ।
सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुर अन्तर्गत निर्माण हुन लागेको पुलको प्यूठानका संघीय सांसद सूर्य थापाले उद्घाटन गरेका छन् । यस क्षेत्रका नागरिकको जनजीवनलाई सहज बनाउन पुलले महत्वपूर्ण भूमिका खेल्ने थापाले बताए । पुलकै माध्यमबाट समेत यस क्षेत्रको पर्यटनमा समेत चहलपहल हुने उनको भनाई छ ।
२ करोड ७२ लाख ७४ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा अधिकारी÷अपर तामाकोसी जेभिले पाएको छ । आगामी ०८२ मंसिर सम्ममा पुल बनाईसक्नु पर्ने सम्झौता भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले जनाएको छ ।
देउराली–लामडाँडा जोड्ने पुल बने पछि करिब डेढ घण्टाको पैदल यात्रा समय छोट्टिने वडा नं १ का वडा अध्यक्ष दिल बहादुर थापाले बताए । मोटरसाइकल वारपार गर्न मिल्ने गरि निर्माण हुनेछ । वडा नम्वर १ को कार्यालयले पुलसम्म पुग्नेगरी सडक समेत निर्माण गर्नेछ ।
३ नं वडाले पनि झोलुङ्गे पुलसम्म बाटो ल्याउनका लागि काम शुरु गर्न लागेको वडा अध्यक्ष जंग बहादुर पुनले बताए । पुल बनेमा १ नं वडाको लामडाँडा, सागबारी, ठनिका, अर्तुबाङ, ढुसीखर्क, वडा नं ३ का दहबाटे, ढल्कीबाङ, मेन्द्रबाङ, पोखरा लगाएतका बस्तीका स्थानीयहरु लाभांवित हुने स्थानीय मित्र थापाले जानकारी दिए ।