प्यूठान : आत्महत्या न्यूनीकरण गर्न प्यूठानमा सर्वपक्षीय छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा गरिएको सर्वपक्षिय बैठकमा सरोकारवाला निकायले जिल्लामा बढ्दो आत्महत्या न्यूनीकरण गर्न सामुहिक प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जानकारी गराईन ।
सर्वपक्षिय बैठकमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले त्री–वर्षीय आत्महत्या तथ्यांक र जिल्ला प्रहरी कार्यालयबाट आत्महत्या रोकथाम गर्न भए गरेका प्रयासहरूबारे जानकारी गराएका थिए ।
आर्थिक वर्ष २०७९÷८० मा ७४ जना, ०८०÷८१ मा ७९ जना, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २२ जनाले आत्महत्या गरेका छन् । ३ वर्षमा कुल १ सय ७५ जनाले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक बस्यालले जानकारी गराए । १८ वर्ष देखि मुनिका ४२ जनाले आत्महत्या गरेका छन् । १८ देखि ४० वर्ष मुनिका ६६ जना, ४० देखि ६० वर्ष उमेर समुहका ५२ जना र ६० वर्ष देखिका माथि १५ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या न्यूनीकरण गर्नका लागि प्रत्येक पालिकामा मनोपरामर्शकर्ता राखी समुदायस्तरमा पुग्ने अध्ययन गर्ने र समाधानका उपायको खोजी पहिल्याउने, पालिका तथा वडा स्तरमा गठित आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिका पदाधिकारीले तालुक निकायसंग समन्वय गरी आफ्नो पालिका तथा वडा भित्र एक एक महिनाको अन्तरमा नियमित कार्यक्रम सञ्चालन गर्ने, पालिकाहरुले प्रत्येक वर्ष बजेट व्यवस्थापन गर्ने, विद्यालय कलेजमा जनचेतना अभिवृद्धि गर्न पालिका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई, र सामाजिक विकास डिभिजन कार्यालयबीच समन्वय गर्ने विषयमा छलफल भएको छ ।
त्यस्तै, स्वास्थ्य सम्बन्धी कार्यक्रम अस्पताल र जनस्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य प्रमुखसँग समन्वय गरी निरन्तर रूपमा संचालन गर्ने, स्थानिय स्तरमा मदिराको उपयोग बिक्री वितरणमा नियन्त्रण गर्न पालिकाले सरोकारवालासंग समन्वय तथा सहकार्य गर्ने, सञ्चारकर्मी नागरिक समाजले आत्महत्याको कारण नियन्त्रण गर्न व्यापक प्रचारप्रसार गर्ने र न्यूनीकरणका उपायका लागि पहल थाल्ने निर्णय लिईएको छ ।