गुल्मी : मदाने गाउँपालिका–१ ठूलाखर्क गुल्मी निवासी ७७ बर्षिय सालिकराम चन्द अग्लुङ्गफेदी खोलामा आउने बाढीसंग हरेक बर्ष पैठेजोरी खेल्नुपर्छ । खोला तर्न खोज्दा धेरै पटक नयाँ जीवन पाएका चन्दलाई अब पक्की पुलबाट खोला तरेर वारपार गर्ने इच्छा । अब चन्दको इच्छा पूरा हुने चरणमा पुगेकोमा उनी खुसि छन ।
‘यहाँ पुल नहुदा धेरै दुःख भोगियो । बर्षामा मान्छे, गाडी सबै छेकिन्थे’,उनले भने ‘अब पुल बन्न थाल्यो । गाउँको समस्या समाधान होला भन्ने आशा छ ।’ मदाने–८ निवासी हरिप्रसाद भट्टराईको उमेर ७५ बर्ष पुग्यो । गाउँमा विकास भएन भनेर धेरैले बसाइँ सरे । तर, भट्टराईको परिवार गाउँमा अडिएको छ । विकासका पूर्वाधार विकट बस्तिमा सर्न थालेकोमा उनि खुसि छन । ‘यो खोलाले दुःख दिन्थ्यो । बर्षामा झनै समस्या हुन्थ्यो । अब त खुसिका दिन आउन थाले’,उनले भने– ‘राम्रो काम हुन थाल्यो । छिटो पुल बनोस ।’
गुल्मीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको निर्वाचन क्षेत्रमा पक्की पुल निर्माणको काम अघि बढेको हो । शनिबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्त रूपमा अग्लुङ्गफेदी खोलामा पक्की पुलको शिलान्यास गरे ।
सडक पुर्वाधार विकास कार्यालय गुल्मीले आयोजना कार्यान्वयनमा लगेको छ । चार करोड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँको लगानीमा पुल निर्माण कार्य अघि बढेको र एक बर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
एम÷एस.कमल–अर्जुन–सिटी–जेभी रेसुंगा गुल्मीले आगामी २०८२ मंसिर ८ गते सम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । समयमा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए । ‘सन्तुलित विकासको अवधारणा अनुसार प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई प्राथमिकता राखेको छ । सञ्चालन गरेका सबै योजनाको गुणस्तर कायम गर्ने प्रतिबद्धता प्रदेश सरकारले गरेको छ’,उनले भने– ‘सरकारले निर्माण अघि बढेका आयोजनाको भुक्तानीलाई सरल र चुस्त बनाउँछ । समयमा आयोजना सम्पन्न गर्ने र भुक्तानी गर्ने काममा हामी प्रतिबद्ध छौं ।’
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विकट बस्तीलाई विकासको मुलधारमा ल्याउन सरकारले प्राथमिकतामा राखेको बताए । ‘गुल्मी जिल्लाका विकट बस्तीमा विकास पु¥याउने अभियान चलेको छ’,मन्त्री पन्थीले भने,‘विकास नहुँदा पिछडिनुपर्ने अवस्था थियो । अब नागरिकलाई विकासको अनुभुती हुनेगरी राज्यले सम्बोधन गर्ने काम अघि बढेको छ ।’
निर्माण व्यवसायी विजय खनालले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडिनै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘भुक्तानीमा कुनै समस्या नआए बैशाख १ गते पुलको उद्घाटन गर्न सकिन्छ । त्यो मेरो प्रतिबद्धता भयो’,उनले भने,‘सरकारले बजेटको व्यवस्थापन गरोस, म समयमा काम सम्पन्न गर्छु ।’
मदाने गाउँपालिकाका उपाध्यक्ष शरिता खड्काले निर्धारित समयमा पुल सम्पन्न गर्न स्थानीय तहले समेत सहजीकरण गर्ने बताइन । ‘पुल उद्घाटन हुन्छन । हामी खुसी हुन्छौं । तर, विचमा अलपत्र हुने समस्या छ । त्यसो नहोस्’,उनले भनिन, ‘बजेट अभावका कारण पुल अलपत्र नपरोस, सरकारले ध्यान दियोस ।’ भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले गुणस्तरीय पक्की पुल निर्माण हुने बताए ।