प्यूठान : महेश कुँवर पेसाले इन्जिनियर हुन् । आइटी इन्जिनियर कुँवरले आफ्नो नियमित कामसंगै व्यवसायिक रूपमा उन्नती कृषि फर्म दर्ता गरेर ड्रागन फ्रुटको खेतीलाई सँगै लगेका छन् । प्यूठान नगरपालिका वडा नं ८ बाग्दुला तालका कुँवरको पौरख कम्प्यूटमा मात्र सिमित नभएर खेतबारीमा पनि झांगिएको हो ।
कोरोना महामारीको बेला पलाएको सोंचले अहिले महेशलाई व्यावसायिक रूपमा नै ड्रागन फ्रुटको खेतीमा रमाउने बनाएको छ । ‘तीन वर्ष पहिले कोरोनाको समय थियो । कोरोना रोगको लागि ड्रागन फ्रुट एकदम अचुक औषधी हुने थाहा पाए’, महेशले भने, ‘आफैलाई कोरोना लागेपछि घरका सदस्यले ड्रागन फल किनेर खुवाएपछि र आफ्ना १–२ जना अग्रजहरुबाट यसबारे थाहाँ पाए, घरमा बुवा आमाले आफ्नै बारीमा परम्परागत तरिकाले तरकारी खेती गर्दै आइराख्नु भएको थियो, यसमा केही नयाँ गरौँ भन्ने सोँच पलायो ।’
पूर्वमन्त्री लोकेन्द्र विष्टले दाङमा गरेको ड्रागन खेतीबारे युट्युवमा भिडियो हेर्नुका साथै अन्य केही सफल ड्रागन व्यवसायीको फर्म अवलोकन पश्चात ड्रागन खेतीको सुरुवात गरेको उनले सुनाए ।
महेशले प्यूठानकै मुख्य व्यापारिक बजार बाग्दुला नजिकै व्यवसायिक रूपमा नै ड्रागन फ्रुट खेतीको थालनी गरेका हुन् । ड्रागन फ्रुट लगाएको एक वर्षमा नै बिरुवा हुर्केर राम्रो उत्पादन दिन थालेपछि उनी यसैमा भविष्य देख्न थालेका छन् । ‘ड्रागन फ्रुटको पछिल्लो समय निकै राम्रो माग र मूल्य छ’,महेशका बुवा पेशाले स्थायी शिक्षक समेत रहेका राजकुमारले भने,‘छोराको नयाँ सोंचले व्यवसायिक रुपमै ड्रागन खेतीमा जोडिएका छौं ।’ कुँवर परिवारले आफ्नै घर नजिकैको १० रोपनी जग्गामा दुई हजार दुई सय ड्रागन फ्रुटका बिरुवा रोपेका छन् ।
यस वर्षदेखिनै उत्पादन दिन सुरु भएको ड्रागन फ्रुट झन्डै १ टन उत्पादन भएको छ । आगामी वर्ष उत्पादनमा बृद्धि हुँदै जाने र आम्दानी पनि बढ्ने कुँवर परिवारको विश्वास छ। ‘पहिलो वर्षमानै राम्रो फल लागेको छ, एउटै पोलमा झन्डै दुईदेखि चार केजीसम्म उत्पादन भएको छ’, महेशले भने, ‘यो फ्रुट १५–१६ पटकसम्म नै टिप्न पाइन्छ । यस वर्ष भन्दा अर्को वर्ष उत्पादन र आम्दानी राम्रो हुने आशा छ ।’
ड्रागन फलको बिक्रीका लागि बजार नजिक रहेकाले समस्या नरहेको र प्रति केजी चार सय पचास देखि पाँच सय रुपैयाँका दरले घरबाट नै बिक्री भइरहेको उनले जानकारी गराए । महेशले ड्रागन फ्रुट खेती विस्तारका लागि झन्डै ३० लाख रुपैयाँ लगानी गरिसकेका छन् । बिरुवाका लागि सिमेन्टको पोल र टायरसमेत व्यवस्थापन गर्नुपर्दछ । हाल उनको बारीमा रातो र सेतो गरी दुई प्रजातिका फल उत्पादन हुँदै आएका छन् ।
बहुगुणी फलफूलका रूपमा रहेको ड्रागन फ्रुटको खेतीका लागि महेशका बुवा राजकुमार सहित परिवारका अन्य सदस्यले पनि नियमित सघाउँदै आएका छन् । महेशले आइटिको काममा व्यस्त रहँदा पनि बाबु आमाले नियमित रूपमा हेरचाह गर्दै आएका छन् । खेती शुरुवात गर्दा अलि बढी लगानी लाग्ने राजकुमार बताउँछन्। ‘बिरुवा रोपेपछि पोल र सुरक्षाका लागि गरिने तारबारमा अलि लगानी लाग्दो रहेछ’, योगीले भने, ‘ड्रागन फलका लागि यहाँको हावापानी निकै राम्रो मानियो। वर्षमा चार पटक गाई भैंसीको मल दिनसके उत्पादन पनि राम्रो हुने देखियो ।’ मलकै लागि उनले पाँच वटा मुर्रा भैसी थप्ने योजनामा रहेको सुनाए ।
दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्डल लगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको हो । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको बिरुवा हो ।
कुँवरले ड्रागन फ्रुट संगसंगै एभोकाडो विषादी न्यूनीकरण गरि उत्पादित हरियो तरकारी, कुरिलो, बाख्रा, लोकल कुखुरा, माछा, भैसीको दुध घीउ पनि उत्पादन गर्ने लक्ष्य लिएका छन् । शुरुका दिनमा आफ्नै कृषि उत्पादनलाई जोड दिएका महेशले जिल्ला बासीलाई फरक ढंगबाट सेवा पस्कनको लागि रैथाने रिसोर्ट समेत संचालन गर्ने मनसाय बनाएका छन् ।