प्यूठान : प्यूठान नगरपालिका वडा नम्वर ८ मा निर्माणधिन अवस्थामा रहेको जिल्लाबासीको सर्वाधिक चासोको रुपमा हेरिएको दम्ती सबस्टेशन सञ्चालनमा आएको छ । प्यूठानका संघीय सांसद् सूर्य थापाले एक कार्यक्रमका बीच सवस्टेशनको उद्घाटन गरे ।
निर्माण थालिएको झण्डै ८ वर्षपछि सब स्टेशनलाई सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानका प्रमुख महेन्द्र कुमार दासले जानकारी गराए । ३३ केभीए प्रसारण लाइनबाट ११ केभीए मार्फत विद्युत वितरण गर्न सबस्टेशन मुख्य भूमिका रहने गर्छ ।
आर.के विश्वनाथ जेभिसंग २०७२ असार ४ गते ७ करोड ४२ लाख रुपैयाँमा सबस्टेशन निर्माणका लागि लुम्बिनी प्रदेस डिभिजन कार्यालयले ठेक्का लगाएको थियो ।
‘अब भोल्टेज सुधार गर्न सकिन्छ अनियमित विद्युत आपूर्तिको समस्या रहँदैन्’ दासले भने, ‘११ केभी लाईनमा कभर तार हुन्छ सुरक्षा जोखिम समेत कम् हुँदै जाने छ ।’ सबस्टेशनबाट बाग्दुला देखि जुम्री बजारसम्म कभर तारमा विद्युत आपूर्ती व्यवस्थापन गरिएको छ । ३३ केभीएका ट्रान्सर्फमरहरु हटाउँदै ११ केभीएका ट्रान्सर्फमरहरु राख्दै जाने प्राधिकरणका इन्जिनियर प्रज्ज्वल हुमागाईंले बताए । सबस्टेशनबाट तीन वटा फिडर मार्फत विद्युत आपूर्ति गरिने उनको भनाई छ ।
स्थानीयले काममा अवरोध गरेको भन्दै सबस्टेशनको काम ठेकेदार कम्पनीले पूरा गर्न नसक्दा सबस्टेशन अलपत्र पर्दै आएको थियो । प्राधिकरणले ठेकेदार पक्षसंग ठेक्का सम्झौता रद्द गरी बाँकी काम पूरा गरेर सबस्टेशनलाई सञ्चालनमा ल्याएको हा े। २०७४ जेठ १७ गते प्राधिकरण र श्री त्रिपुरेश्वर जयदुर्गे जेभीबीच ५ करोड ३६ लाख ६० हजार ६ सय ८२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
दुई साता अघि प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीको समन्वयमा बसेको सर्वपक्षीय बैठकले तिहार अघिनै सबस्टेशन सञ्चालनमा ल्याउन विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो । समय सीमामै सबस्टेशन चालु गराउन सकेकोमा प्रमुख जिल्ला अधिकारी आचार्य तथा विद्युत प्राधिकरणलाई प्यूठानका प्रतिनिधिसभा सदस्य सूर्य थापाले धन्यवाद समेत दिए ।
अलपत्र विकासे योजनाहरूलाई काम शुरु गराउन जिल्लाका सबै शक्तिले जोडबल गर्न उनले आग्रह गरे । सबस्टेशन सञ्चालन गर्न थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन संवाद मार्फत आग्रह समेत गरेका छन् । प्यूठानका ६४ वडा मध्ये नौबहिनी गाउँपालिकाको स्याउलीवाङ र गौमुखी गाउँपालिकाको रजवारामा विद्युत आपूर्ति व्यवस्थापन गरी जिल्लालाई शत प्रतिशत विद्युत आपूर्ति जिल्ला घोषणा गर्ने कार्यक्रममा सरिक हुन समेत थापाले घिसिङलाई आग्रह गरे ।
सबस्टेशन सञ्चालन घोषणा कार्यक्रममा प्यूठान नगरपालिका नगरप्रमुख विष्णु योगी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाका ४५ हजार घरधुरी मध्ये ४४ हजार घरधुरीमा विद्युत पुगेको छ । यही पुस महिना भित्र सबै घरधुरीमा विद्युत पु¥याई छाड्ने नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाले बताएको छ ।