नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्ने भनेको छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य रहेको छ ।
आजको विश्पव्यापीकरण र उदारीकरणको युगमा प्रविधिको विकासबाट मानिसका इच्छा र चाहना असिमित तुल्याइदिएको छ । यस अवस्थामा सरकार एक्लैले आर्थिक विकास र समृद्धि हासिल गर्न असम्भवप्राय देखिन्छ । त्यसैले सार्वजनिक, निजी र सहकारी तीनवटै क्षेत्रको सवलिकरण, क्षमता विकास र सहृदय हातेमालो र सहकार्यको माध्यमबाट मात्र राज्यको समग्र विकास र समृद्धि सम्भव रहन्छ ।पछिल्लो समय स्टार्टअप उद्यमशीलता आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण विकल्पको रूपमा आएको छ ।
विश्वमा सानो व्यवसायबाट शुरू गरेका सयौं स्टार्टअप अहिले अर्बौंको व्यापार गर्ने युनिकर्न बनेका छन् । तिनले आन्तरिक रोजगारी सिर्जनामा ठूलो योगदान गरेका छन् भने मुलुकको आर्थिक सुधारमा समेत इँटा थपेका छन् । यति महत्वपूर्ण योगदान गर्ने स्टार्टअप भने नेपालमा लामो समयदेखि ओझेलमा परेका छन् ।यहाँ नेपालको सन्दर्भमा स्टार्टअप उद्यमशीलताको बारेमा चर्चा गरिएको छ ।
स्टार्टअप उद्यमशीलताः
स्टार्टअपको शाब्दिक अर्थ ‘सुरु गर्ने’ र ‘अघि बढ्ने’ भन्ने हो, अर्थात स्टार्ट गर्ने र माथि जाने । मानिसको मष्तिष्कमा हरेक दिन नयाँ नयाँ विचार आइरहेको हुन्छ । त्यस्तो नयाँ विचार हाम्रो दैनन्दिन क्रियाकलापमा समाजमा रहेका समस्यालाई सहज बनाउन नविन सोच र प्रविधिको माध्यमबाट उद्यमशीलताको रूपमा अगाडि बढाउने काम नै स्टार्टअप उद्यमशीलता हो । स्टार्टअपको परिभाषा सबै सन्दर्भमा एउटै हुन्छ भन्ने हुँदैन । कुनैपनि स्टार्टअपका लागि नविनतम विचार र सोच महत्वपूर्ण हुन्छ । समाज वा बजारमा रहेका समस्या लाई समाधान गर्ने नवीन सोचका एक वा बढि व्यक्तिले कम लगानीमा स्थापना गरेको व्यवसाय नै स्टार्टअप हो ।
स्टार्टअप भनेको परम्परागतरूपमा चल्दै आएको व्यवसायभन्दा केही नयाँ किसिमको व्यवसाय हुनुपर्छ । स्टार्टअपका लागि सबै नयाँ नै हुनुपर्छ भन्ने छैन तर फरक ढंगको भने गरेको हुनुपर्छ, कन्सेप्ट नयाँ हुनुपर्छ फरक किसिमले सोच्नुपर्छ । स्टार्टअप भनेको साना तथा मझौला उद्योगभन्दा पृथक हो । किनकी साना तथा मझौला उद्योग भनेको परम्परागत रूपमा चल्दै आएको व्यवसाय हो, जहाँ नयाँपन, सृजनशीलता हुँदैन तर स्टार्टअप व्यवसायमा सृजनात्मक र नविनतम पक्षहरू हुन्छन् , जुन एक विन्दुबाट शुरू भएर बृद्धि खोजिरहेको हुन्छन् । स्टार्टअपले जहिलेपनि समस्या समाधान गर्ने लक्ष्य राखेको हुन्छ । शुरूवातमा स्टार्टअप कम्पनी जस्तो बृहत संस्थागत स्वरूपको हुँदैन, तर राज्य, सेवाग्राही तथा लगानीकर्ताको साथ पाएमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षमता राख्दछ ।
नेपालको राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ ले स्टार्टअप उद्यमशीलतालाई “वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नविन अन्वेषण एवम् सिर्जनशील सोचको प्रयोग गरी व्यवसायको रूपमा सञ्चालन भएका र स्तरोन्नतिको सम्भावना रहेका उद्यमलाई स्टार्टअप उद्यम भनिन्छ । स्टार्टअप उद्यमले सूचना प्रविधिको उपयोग एवम् सिर्जनशील सोचको प्रयोग भएको उद्यम वा व्यवसाय समेतलाई जनाउँछ ।” भनी परिभाषित गरेको छ ।
कतिपय अवस्थामा स्टार्टअप उद्यम शुरु गर्दा तत्कालिन अवस्थामा विद्यमान नीति, कानुन, कार्यविधिले नसमेटेको वा प्रतिकुल पनि हुन सक्छ । यसरी हेर्दा नविन अन्वेषण सूचना प्रविधिको उपयोग एवम् सिर्जनशील सोचको प्रयोग गरी बजार वा समाजको समस्या (ग्याप) समाधान समाधान गर्दा विद्यमान कानुनले नसमेटेमा स्टार्टअप उद्यमलाई सकारात्मक रूपमा लिदै कानुन परिमार्जन वा नयाँ तर्जुमा गरी राज्यले अपनत्व लिनुपर्ने हुन्छ । नेपालमा खाना,खाजा घरघरमा पुर्याउने फुडमाण्डु, राइड सेयरिङ टुटलको स्थापना हुँदा कानुनले समेटेको थिएन तर पछि सरकारले अपनत्व लिएपछि पठाओ, इनड्राइभ आदि बजारमा आए । जसले मानिसहरूको दैनिक जीवनलाई सहज तुल्याइदिएको छ ।
विश्वका सफल व्यवसायीमध्येका जेफ वेजोस (अमेजन), ज्याक मा (अलिबाबा), स्टिभ जब्स (एप्पल), ल्यारी पेज (गुगल) स्टार्टअपबाटै उदाएका हस्ती हुन् । नेपालमा पनि ई – सेवा, हाम्रो पात्रो, फुडमाण्डु, टुटल, पठाओ आदि सफल स्टार्टअप उद्यमका रूपमा लिइन्छ ।
युनिकर्न स्टार्टअप
एउटा नयाँ आइडियाबाट शुरु भएको सानो कम्पनी भविष्यमा विशाल बन्न सक्छ । जसको लगानी थोरै हुन्छ तर उसको सम्भावनाको क्षेत्र भने धेरै हुन्छ । त्यस्ता कम्पनी जसको दुई चार वर्षमा अर्बको मुल्य हुन्छ । यस्ता स्टार्टअपलाई युनिकर्न स्टार्टअप भनिन्छ । सानो लगानीबाट शुरु भएर युनिकर्न स्टार्टअप बनेका कम्पनीहरू विश्वमा हजारौं छन् । जस्तो अमेजन, अलिबाबा, नाइका कम्पनी, पेटिएम आदि । यस्ता कम्पनीहरुमार्फत बैदेशिक लगानी भित्र्याउन पनि सकिन्छ । यसले ठुलो मात्रामा रोजगारी सिर्जना गर्ने गर्दछ । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्दछ । नेपालमा पनि युनिकर्न स्टार्टअपको सम्भावना छ । डिजिटल भूक्तानि सेवा प्रदायक ई–सेवा, हाम्रो पात्रो जस्तो स्टार्टअप नेपालमा युनिकर्न स्टार्टअप बन्न लायक भएको विज्ञहरूको बुझाइ छ ।
नेपालमा स्टार्टअप उद्यमशिलताको अवस्थाः
विश्वमा स्टार्टअप व्यवसायको शुरूवात भएको धेरै बर्ष भइसकेको छ । नेपालमा स्टार्टअपको कुरा गर्न थालेको झण्डै डेढ दशक भएको छ । दशक अघिसम्म स्टार्टअप भनेको साना तथा मझौला उद्योगका रूपमा बुझिन्थ्यो । स्टार्टअप भन्ने नै थाहा थिएन । अर्कोतिर व्यवसाय भनेकै ठूलो घराना, ठूला व्यवसायीले गर्ने काम जस्तो थियो । समयक्रमसँगै भारतमा स्टार्टअपको चर्चा चुलिँदै जाँदा नेपालमा पनि त्यसैको प्रभाव पर्यो ।
आर्थिक वर्ष २०७१÷७२ को बजेटमा स्टार्टअपहरूलाई सहयोग गर्ने भनेर पहिलो पटक ५० करोड रूपियाँको कोष खडा गरिएको थियो । सो कोषको उद्देश्य स्टार्टअप सञ्चालन गर्न चाहने उद्यमीलाई विउ पुँजी उपलब्ध गराउने थियो । त्यसयता हरेक बर्षका बजेटले कुनै न कुनै किसिमले स्टार्टअपका कार्यक्रम ल्याएका छन् । विउ पुँजी, च्यालेन्ज फण्ड अनुदान, सहुलियत कर्जा वा विभिन्न शिर्षकमा कार्यक्रम घोषणा भइरहेका छन् ।
तर ति कार्यक्रमहरू स्टार्टअप सम्बन्धि नीति, कानुन र कार्यविधिको अभावले एक दशकसम्म पनि कार्यान्वयनमा आउन सकेका थिएनन् । दुखका साथ भन्नुपर्छ एक दशकसम्म पनि नीति, कानुन र कार्यविधिको अभावमा यस्ता कार्यक्रम कार्यान्वयनमा आउन नसक्नु भनेको हाम्रो राजनीतिक र प्रशासनिक पदाधिकारीहरूको उदाशिनता र अदुरदर्शिता हो ।नविन अन्वेषण, सूचना प्रविधि र सिर्जनशीलताका विषयमा सोचाई सँस्कृतिको गरिबी हो । हाम्रा राजनीतिक तथा प्रशासनिक नेतृत्व वर्गमा स्टार्टअप उद्यमशीलता प्रथमिकतामा नपरेको देखिन्छ ।
तर अब हतास हुनुपर्ने केही छैन आशाका किरणहरू पलाएका छन् । हाम्रा राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई समुन्द्रको छालले धकेलेजस्तो समयले धकेलेर स्टार्टअप उद्यमशीलताको बारेमा नीति कानुन बनाउन बाध्य पारेको छ ।हाल नेपालको राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ तर्जुमा भएको छ ।
एक दशकसम्म स्टार्टअप उद्यमलाई कुन निकायले कसरी कार्यान्वयन गर्ने अन्योलता रहेकोमा नेपाल सरकारको निर्णयानुसार स्टार्टअप व्यवसाय उद्यम हेर्ने गरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानलाई तोकिएको छ । प्रतिष्ठानबाट गत आर्थिक वर्ष २०८०÷८१ मा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम जम्मा आवेदनबाट १८३ वटा व्यवसायिक परियोजना सहुलियतपूर्ण कर्जाका लागि छनोट भएका थिए । छनोट भएका परियोजनाहरूले सहुलियतपूर्ण ३ प्रतिशत व्याजदरमा न्युनतम ५ लाख देखि २० लाख सम्म सात बर्षसम्मका लागि प्राप्त गर्न सक्ने प्रावधान रहेको थियो । सोही बमोजिम प्रतिष्ठानले आर्थिक वर्ष २०८०÷८१ मा सिफारिश गरेका १८३ उद्यमीमध्ये १६५ लाई कर्जा प्रवाह गरेको थियो ।
आर्थिक वर्ष २०८१÷८२ मा स्टार्टअप उद्यमहरुलाई सहुलियतपूर्ण कर्जा वितरण गर्नको लागि ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ यहि साउन ३० गते स्वीकृत भई कार्यान्वयनमा रहेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट कार्यान्वयन गरिने स्टार्टअप उद्यमका कृषि, उत्पादनमूलक उद्यम, वनमा आधारित, पर्यटन, विज्ञान प्रविधि, मानव स्वास्थ्य लगायत १९ वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा वितरण गरिनेछ ।
आर्थिक वर्ष २०८१÷८२ का लागि स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २५० उद्यमीले परियोजना प्रस्ताव पेश गरेका छन् । जसमध्ये स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ मा तोकेको मापदण्ड अनुसार छानिएका स्टार्टअपले तीन प्रतिशत व्याजदरमा न्यूनतम ५ लाख रूपियाँदेखि अधिकतम २५ लाख रूपियाँसम्म अधिकतम पाँच बर्ष अवधिको लागि पाउनेछन् । कार्यविधि बमोजिम बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोको रूपमा राख्नुपर्नेछ । व्यवसाय वा परियोजनाको बिमा भने उद्यमी स्वयंले गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
नेपालमा स्टार्टअपको कुरा गर्न थालेको झण्डै डेढ दशकको बीचमा निजी क्षेत्रको पहलमा मुलुकमा केही राम्रा काम भएका छन् । निजी क्षेत्रबाट विभिन्न ईभेन्टहरू सञ्चालन भएका छन् । पछिल्लो अवधिमा डिजिटल ट्रान्सफर्मेसनमा भने ठूलो विस्तार भएको छ । इन्टरनेटमा आधारित स्टार्टअप वा अन्य उद्यमहरूले यही बेला ठुलो प्रगति गरेका छन् । नेपालमा फिनटेक, डिजिटल पेमेन्ट, ईकमर्श जस्ता स्टार्टअपले गति लिएको देखिन्छ।
नेपालमा स्टार्टअप उद्यमका समस्या तथा चुनौतिहरूः
नेपालमा सबैभन्दा पहिले सरोकारवाला सबै पक्षले स्टार्टअप उद्यमका विषयमा आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्ने देखिन्छ । राज्यका पदाधिकारीहरूले खाली परम्परागत रूपमा मात्र सोच्ने हेर्ने बानीलाई सुधार गरी नविनतम सोच, मान्यता र प्रविधिहरूमा जोड दिनुपर्दछ ।
वैश्विक परिदृश्यमा स्टार्टअपहरू फस्टाइरहँदा नेपाल त्यसको तुलनामा धेरै पछि रहेको छ । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात जस्ता कोर फङ्सनहरूमा सरकारको दायित्व रहन्छ भने यस्ता क्षेत्रमा सरकारको उपस्थिति हुनुपर्दछ । तर उद्योग, व्यवसाय, नवप्रवर्तन लगायतका क्षेत्रमा निजी क्षेत्रलाइ खुला गर्नुपर्ने हुन्छ । सरकार एक्लै सबै ठाउँमा पुग्न सक्दैन । त्यसैले सरकारले निजी क्षेत्रको नियमन र प्रबर्धन मार्फत आफ्नो विस्तारित हातहरू (भ्हतभलमभम ज्बलमक) को रूपमा उपस्थिति जनाउनुपर्ने हुन्छ ।
तर नेपालमा जहाँ सरकार हुनुपर्ने हो त्यहाँ छैन, जहाँ सरकार नहुनुपर्ने हो त्यहाँ सरकार छ ।( जस्तै तेल, बिजुली सरकारले बेचिरहेको छ, औषधि निजी क्षेत्रले बेच्छ ।) स्टार्टअप कहिले पनि नीति हेरेर आउँदैन उसले त समाज वा बजारको समस्या हेरेर त्यसको समाधान लिएर आउने गर्दछ । त्यसपछि त्यस्तो स्टार्टअपलाई नीति कानुनमा समेट्ने काम सरकारको हुन्छ ।
हाम्रो सामाजिक परिवेश, शिक्षा प्रणाली उद्यमशीलताको भावना विकास गराउने खालको भएन । खाली पढ्ने भनेको जागिर खानलाई हो भन्ने सोच हावी रहेको देखिन्छ । समाजमा एउटा इमान्दार उद्यमशील मानिसलाई भन्दा पैशा धेरै कमाएको व्यक्तिलाई सम्मान गर्ने ठूलो सम्झिने प्रवृति रहेको छ । वैध होस वा अवैध तर पैशा धेरै भएको मानिस ठुलो हुने समाज । त्यसैगरी हाम्रो शिक्षा प्रणालिले काम गर्ने, व्यवहारिक ज्ञान तथा उद्यमशील बन्ने भन्दा पनि पढ्ने घोक्ने परीक्षा पास गर्ने सर्टिफिकेट लिने विषयमा सिमित भयो । हाम्रो माटो सुहाउँदो शिक्षा प्रणाली भएन । यिनै सन्दर्भहरूमा नेपालमा स्टार्टअप उद्यमका समस्या तथा चुनौतिहरूलाई यहाँ केही बुँदाहरूमा उल्लेख गरिएको छ ।
- सामाजिक साँस्कृतिक तथा सरकारी स्तरमा अझैपनि चाहिनेजति अनुकुल सपोर्टिभ वातावरण नहुनु ।
- अन्तरसरकारी निकायहरूमा समन्वयको अवस्था कमजोर रहेको । सरकारी पदाधिकारीहरूमा (राजनीतिक तथा प्रशासनिक) जिम्मेवारी नलिने काम पन्छाउने प्रवृति, अधिकार सबै आफैंमा केन्द्रित गर्ने रूचि तथा प्रवृति रहेको ।
- सामाजिक मनोविज्ञान अलि अनुदार रहेको । नयाँ सोच, नयाँ विचार तथा नयाँ मानिसहरूप्रति उदार नभएको । इनर्सिया प्रवृति ।
- राज्य सञ्चालनमा बसेका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूमा आम नागरिकको कठिनाइ र समस्याहरूको अनुभूति नहुनु । कतिपय अवस्थामा संवेदनहिन जस्तो देखिने गरेको ।
- परिवार, समाज तथा सरकार सबैतिर जोखिम लिने मानसिकता नहुनु । जोखिम नलिने प्रवृति हुनु ।
- हामी नीति कानुन ऐन बनाउँदा कन्ट्रोल गर्ने मानसिकताबाट बनाउँछौं । नकि काम गर्ने सहज वातावरणका लागि ।
- सरकारका निकायहरूमा नयाँ आइडिया विचारलाई प्रोत्साहन गर्ने भन्दा निरुत्साहन गर्ने प्रवृति हुनु ।
- स्टार्टअप उद्यमलाई मलजल गर्ने इन्क्युवेसन केन्द्रहरू नहुनु ।
- सरकारका नीतिहरू गतिशिल नहुनु ।
- शिक्षा प्रणाली माटो सुहाउँदो नहुनु । उद्यमशीलताको भावना विकास गराउने भन्दा पनि परीक्षा पास गरी सर्टिफिकेट लिने खालको शिक्षा प्रणाली हुनु ।
- शिक्षा, समुदाय र उद्यमशीलता तथा सीपलाई इकोसिस्टममा जोड्न नसकिनु ।
- राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूमा आफु पदमा बसेपछि सबै मैले जानेको छु जस्तो गर्ने अरूको कुरा नसुन्ने प्रवृति रहनु ।
- कमजोर सुशासन, परम्परागत सोच, कार्यशैली तथा भ्रष्टाचारको जालो दचभबप गर्न नसकिनु । आदि ।
नेपालमा स्टार्टअप उद्यमका अवसर र सम्भावनाहरूः
हाल नेपालको जनसंख्याको बनोट हेर्दा युवाहरूको संख्या धेरै छ । युवाको संख्या बढी हुनुलाई राष्ट्र विकासका लागि राम्रो सुचकाङ्क तथा स्वर्णिम समयका रूपमा लिने गरिन्छ । विद्यालय तथा विश्वविद्यालयहरूमा उद्यमशीलताको भावना विकास गराउने तथा बदलिंदो परिवेश अनुरूपको सिप सिकाउने शिक्षाको विकास गर्नुपर्ने देखिन्छ ।
वास्तबमा युवा वेरोजगारी नेपालको ठूलो समस्या हो । बेरोजगारीले बढाएको युवा पलायन डरलाग्दो छ । विभिन्न तथ्याङ्क अनुसार बर्षेनी ५ लाख युवा नेपालको श्रम बजारमा आउँछन् । तर ५ प्रतिशतले मात्र रोजगारी पाउँछन् । देशभित्रको बेरोजगारीको भयावह स्थितिले युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् भने अर्कोतर्फ उच्च शिक्षाका नाममा विदेश पलायन हुनेहरूको संख्या पनि कम छैन ।
राष्ट्र विकासको मेरूदण्ड मानिने युवाले आफ्नै देशभित्र आफ्नो भविष्य असुरक्षित र अनिश्चित देखिरहेका छन् । यसमा हाम्रा सामाजिक साँस्कृतिक परिवेश, सोचाई र मान्यताले पनि असर गरिरहेको छ । पढेपछि जागिरमात्र खानुपर्छ भन्ने मान्यता रहेको छ । उद्यमशीलताबारे हाम्रो समाजमा सोच नै छैन । विद्यालयदेखि नै पढ्ने घोक्ने परीक्षा पास गरी सर्टिफिकेट निकाल्ने शिक्षा पद्धति भएपछि हाम्रा जनशक्तिहरूमा स्मार्ट तरिकाले सोच्ने, नवप्रवर्तन तथा सूचना प्रविधि, उद्यमशीलताको भावना विकास नै हुन सकेन । यस्तो भयावह अवस्थाको क्रमभङ्ग गर्नु अत्यन्त जरूरी रहेको छ । त्यसैले हाम्रो शिक्षा प्रणालीको पुनर्संरचना गर्न जरूरी रहेको छ ।
यस्तो अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्न स्टार्टअप उद्यमशीलता प्रबर्धन शक्तिशालि विकल्पको रूपमा देखिन्छ । चुनौतिकै बीच अवसर सिर्जना गर्ने खुवी भएका कल्पनाशील उद्यमीहरूले इच्छाशक्ति र मेहेनतको बलमा आफ्ना व्यावसायिक सपनालाई साकार बनाईरहेका छन् । न पारिवारिक विरासत न ठूलो पुँजी नविनता बोकेका स्टार्टअप उद्यमहरूले नजानिँदो तरिकाले हाम्रो व्यवसायिक परिदृश्यलाई बदल्दैछन् ।
नेपालमा विस्तारै स्टार्टअप व्यवसायको सानोतिनो लहर नै सुरू भएको छ । स्टार्टअप व्यवसाय सुरु वा विस्तार गर्न पुँजी जुटाइदिने संस्थाहरूको क्रमिक उदयले पछिल्ला बर्षहरूमा महत्वपूर्ण फेरबदल ल्याएको छ । व्यावसायिक सिर्जनशीलता, अठोट र लगनशिलता भएका नवउद्यमीहरूलाई लगानी गरेर स्थापित गराउने राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थाहरू थपिइरहेका छन् ।स्टार्टअप उद्यम प्रोत्साहनका लागि ‘इकोसिष्टम’ विस्तार हुँदै गएको छ ।
नेपालमा स्टार्टअप नीति नै नभएको अवस्थामा हाल स्टार्टअप नीति तर्जुमा भएको छ । स्टार्टअप कर्जा सञ्चालन कार्यविधि तयार भइ स्टार्टअप उद्यमलाई सहुलियतपुर्ण कर्जा दिने काम सुरू भएको छ । विस्तारै परिवार, समाज र सरकार सबै पक्षमा स्टार्टअप उद्यमलाई सकारात्मक भावना विकास भइ स्वीकारोक्ति बढ्दै गएको छ ।
नेपालमा स्टार्टअपको इतिहास करिब १५ वर्ष पार गरेको देखाउँछ । यसबिचमा नवउद्यमी तथा युवा उद्यमीले नवप्रवर्तन व्यवसायका रूपमा जोगाउँदै सफल उद्यमका रुपमा स्थापित केही उदाहरण छन् । नेपाल सरकारले सन् २०३० सम्म स्टार्टअपका माध्यमबाट एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धान अनुसार सन् २०२७ सम्ममा नेपालको स्टार्टअप बजार ५० करोड डलरको हुने देखाएको छ । यसै परिप्रेक्ष्यमा नेपालमा स्टार्टअप उद्यमका अवसर र सम्भावनाहरूलाई यहाँ केही बुँदाहरूमा उल्लेख गरिएको छ ।
- कुल जनसंख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समुहका रहनु । जनसांख्यिक लाभ
- स्टार्टअप उद्यम सम्बन्धि राष्ट्रिय नीति तर्जुमा हुनु ।
- पछिल्लो समय सरकारको पनि प्रथमिकतामा स्टार्टअप पर्नु ।
- स्टार्टअप उद्यम व्यवसायले मानिसको दैनिक जीवन सहज बनाएकोले सामाजिक स्वीकार्यता बढ्दै जानु।
- पछिल्ला वर्षका हरेक बजेटहरूमा स्टार्टअप व्यवसायलाई प्राथमिकतामा राख्नु ।
- स्टार्टअप व्यवसायमा ठुलो लगानी, ठूलो जग्गा तथा भवनको आवश्यकता नरहनु ।
- विभिन्न सहरहरूमा नवप्रवर्तन र नयाँ आइडियाहरूलाई स्टार्टअप उद्यममा बदल्न इन्क्युवेसन सेन्टरहरु खुल्दै जानु ।
- सूचना प्रविधिको पहुँच बृद्धि हुँदै जानु ।
- केही लगनशील र सिर्जनशील स्टार्टअप उद्यमीहरुले व्यावसायिक सफलता प्रस्तुत गर्नु ।
- स्टार्टअप उद्यममा अन्य क्षेत्रमा जस्तो भनसुन, आसेपासे पूँजी तथा विचौलिया नहुने । यसमा सिधासिधा सेवाग्राही सुचना प्रविधिबाट जोडिने प्रबन्ध हुनु । आदि ।
अन्त्यमा,
नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई स्टार्टअप नेसन बनाउने र अन्तर्राष्ट्रिय जगतमा नेपालको परिचय दिने लक्ष्य लिएको छ । त्यसका लागि राष्ट्रिय नीति अन्तर्गत कार्यक्रम तर्जुमा गर्नुपर्दछ । नेपालभित्रै गुणस्तरीय उत्पादन आउन थाले भने अहिले आयात भइरहेका वस्तु विस्थापित हुनेछन् । नवप्रवर्तनले उत्पादकत्व बढाउनुका साथै आयातलाई प्रतिस्थापन गरी निर्यात समेत बढाउनेछ ।
स्टार्टअप नीतिका दुई मुख्य पक्षमध्ये उद्यमशीलताको भावना विकास गर्ने र स्टार्टअप पूर्वाधार विस्तार गर्ने रहेको छ । उद्यमशीलतालाई बढावा दिन शैक्षिक संस्थाले प्राथमिक, माध्यमिक र विश्वविद्यालयका विद्यार्थी, युवा र इन्जिनियरहरूलाई उद्यमशीलतासँग सम्बन्धित शैक्षिक अवसर उपलब्ध गराउनुपर्दछ । अन्तर्राष्ट्रिय बजारमा जे कुरा अहिले अभ्यास भइरहेको छ त्यसको अध्ययन गरेर लागु गर्न सकेमा नेपालका लागि स्टार्टअप नै देश विकास तथा रोजगारी सिर्जनाका लागि कोसेढुङ्गा सावित हुनेछ । अबको समय भनेको स्टार्टअपकै हो।
स्रोत सामग्रीः
- नेपालको संविधान,
- सोह्रौं योजना (२०८१÷८२ – २०८५÷८६),
- नेपालको राष्ट्रिय स्टार्टअप उद्यम नीति,
- स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि,
- विभिन्न पत्रपत्रिकामा आएका लेख रचनाहरू ।
- (लेखक, नेपाल सरकारका शाखा अधिकृत हुन् ।)