प्यूठान : प्यूठानमा २०८१ सालमा हुने एसईई परिक्षाको नतिजामा सुधार ल्याउन एकीकृत कार्ययोजना बनाइने भएको छ । जिल्लामा सरोकारवाला पक्षहरुबीच भएको छलफलपछि यस्तो निष्कर्ष निकालिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जानकारी गराईन ।
‘२०८० मा जम्मा १२ प्रतिशत उत्तीर्ण भएको नतिजालाई अध्ययन गर्दै व्यापक छलफल चलायौं’, प्रमुख जिल्ला अधिकारी आचार्यले भनिन्, ‘अब नतिजा सुधार्न सबै पक्ष जिम्मेवार भएर लाग्नुको विकल्प छैन ।’
शिक्षा विकास समन्वय इकाई प्यूठानको आयोजनामा भएको बृहत अन्तरक्रिया कार्यक्रमले एकीकृत कार्ययोजना तयार गर्ने निर्णय गरेको इकाई प्रमुख दुर्गा खड्काले जानकारी गराए ।
सम्बन्धित पालिकामा रहने माध्यमिक विद्यालयहरुले आफ्नो कार्ययोजना आफ्नै पालिकाको शिक्षा शाखामा पेश गर्नेछन् । पालिकामा रहने शिक्षा शाखाले आफ्नो पालिकाभरको कार्ययोजनालाई एकीकृत गरेर जिल्लामा शिक्षा विकास समन्वय इकाईमा पेश गर्ने भएका छन् भने शिक्षा विकास समन्वय इकाईले जिल्लाभरबाट आएका कार्ययोजनालाई अन्तिम रूप दिएर यहि असोज मसान्तसम्म जिल्ला समन्वय समितिमा पठाइने तयारी रहेको खड्काले बताए ।
‘समन्वयमा सबै पक्ष बसी एकीकृत कार्ययोजना तयार गर्नेछौं, तयार पारिएको कार्ययोजना स्थानीय तहमा पठाउने छौं’, खड्काले भने ‘शिक्षामा गुणस्तर कायम नगरी सुखै छैन् ।’ कोरोनाका कारण विद्यार्थीको सिकाई उपलब्धिमा ह्रास आएको उनको बुझाई छ । शिक्षकलाई प्रभावकारी तवरले क्षमता विकासको तालिम समेत दिन नसकिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी आचार्यको सक्रियतामा स्थानीय तहका प्रमुख, शिक्षा विकास समन्वय इकाई प्रमुख, पालिकाका शिक्षा शाखा प्रमुखहरु, जिल्लाका सबै माविका प्रधानाध्यापकहरु, संस्थागत विद्यालयका प्रमुख सम्मिलित अन्तरकृया कार्यक्रम जिल्ला समन्वय समितिको सभाहल खलङ्गामा केही दिन अघि सम्पन्न भएको थियो ।