काठमाण्डौँ : सहकारी संस्था वचत रकम दुरुपयोग सम्वन्धमा गठित संसदीय छानविन विशेष समितिको चौधौँ बैठक विहिवार सम्पन्न भएको छ । बैठकमा सहकारी सम्वद्ध सरकारी निकायका पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
शिवशिखर, हाम्रो कृषि अभियान, तुल्सी, सुमेरू, सूर्य दर्शन, सुप्रिम, सहारा, सानो पाइला, स्वर्णलक्ष्मी लगायतबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायतका कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने निर्णय भएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
‘आजको बैठकमा तीन खम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी क्षेत्रको समग्र पुनरूत्थान गर्ने सम्बन्धमा गंभीरतापूर्वक छलफल भयो’,प्यूठानका प्रतिनिधीसभा सभा सदस्य समेत रहेका थापाले भने,‘यसबारेका कानून कार्यान्वयन, संरचनाको स्थापना र संचालन तथा पीडितहरूको समस्या समाधानको लागि ठोस ढंगले निर्णय गर्न जोड गरिएको छ ।’
छलफल तथा अन्तरक्रियामा नेपाल सरकार अर्थ मन्त्रालयका अर्थ सचिव मधुकुमार मरासिनी, राजश्व सचिव डा. रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौला, आन्तरिक राजस्व विभाग महानिर्देशक शिवलाल तिवारी, ऋण असुली न्यायाधिकरणका अध्यक्ष कमलराज गौतम र ऋण असुली न्यायाधिकरणका बैंकिङ सदस्य नरेशराज अर्याल सहभागी थिए ।