सरुमारानी (प्यूठान) : लिफ्ट खानेपानी आयोजना संचालनमा आएपछि पालुथान बासीहरुमा खुसीयाली छाएको छ । सरुमारानी गाँउपालिकाको वडा नं. ३ पालुथानमा बस्तीदेखि करिब पाँच सय मिटर तल रहेको पालु पधेँराको पानी लिफ्ट गरेर गाउँमा ल्याएपछि वर्षौ अघिदेखिको खानेपानी समस्या समाधान भएको हो ।
आयोजना हालै संचालनमा आएको पालुपधेँरा लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हनिप मिँयाले बताए । गत आर्थिक वर्षमा सरुमारानी गाँउपालिकाको ३५ लाख र स्थानीयबासीहरुको २० प्रतिशत जन श्रमदानमा खानेपानी योजना सम्पन्न भएको उनले जानकारी गराए । गाउँका सवैका घरमा धारा पु¥याईएको मियाँले बताए । ‘चार महिना अघिदेखि धारामा पानी झरेको छ’, मियाँले भने, ‘खानेपानीको सहज आपूर्तिले स्थानीयहरुको दैनिकी फेरिएको छ ।’ ६० घरधुरीका करिब तीन सय ५० स्थानीय प्रत्यक्ष लांभाविन्त भएका छन् । विहान तथा साँझपख धाराहरुमा पानी छोड्ने गरिएको छ ।
२५ घनमिटर क्षमताको दुई वटा रिर्जभ ट्यांकीमा खानेपानी संकलन गरि पानी संचालन गरिएको छ । पम्प हाउस, ईनटेकको रेखदेख तथा महशुल उठाउन उपभोक्ता समितिले गाउँकै एक जना हेरालु समेत राखेको छ । ‘हेरालुलाई मासिक सात हजार तलब दिएका छौँ’,उनले भने,‘पलम्बरको साथै योजनाका सबै कामहरु गर्दै आएका छन् ।’ खानेपानी डिभिजन कार्यालय प्यूठानले मुहान संरक्षणका लागि तारजाली लगाउन एक लाख नौ हजार रुपैयाँ खर्च गरेको मिँयाले बताए । उपभोक्ताहरुले दश युनिट सम्मको मासिक दुई सय रुपैयाँ र त्यसभन्दा माथी प्रति यूनिट २० रुपैयाँ महशुल तिर्नुपर्ने समितिले जनाएको छ ।
गाँउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले २०७७ भित्र गाउँपालिकाभरी खानेपानीको सहज पहुँच पु¥याउने बताएका छन् । गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा रहेको हंसपुर बृहत खानेपानी आयोेजनाको ७५ प्रतिशत काम यसै वर्ष सकिने उनले बताए । ‘यसै वर्ष माडी नदिदेखि माथि बस्तीको आरबीटीसम्म जीआई पाईप जोड्छौँ’,उनले भने,‘आगामी वर्ष गाउँबासीको घर–घरमा पानीका धारा खस्छन् ।’ वडा नं. २ ददेरीमा चालु आर्थिक वर्ष दुई सय ८ घरधुरीमा एक घर, एक धारा योजना सम्पन्न गर्ने गरि काम भइरहेको उनले बताए । एक घर, एक धारा अन्तर्गत वडा नं. १ को झिलिबाङ र कालिबनमा यसवर्ष खानेपानीका योजनाहरु सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । बांगेसालमा ७९ वटा कुवा समेत खनिएको छ । गाउँपालिकाका अन्य वर्डाहरुमा समेत खानेपानी योजना संचालनमा रहेको विश्वकर्माले जानकारी गराए ।