बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्वर ३ स्थित सैनामैना नमुना माध्यमिक विद्यालयका सुरक्षा गार्ड छवीलाल शर्माले पत्रकार टिकाराम खरेललाई कुटपिट गरेका छन् । कुटपिटपछि घाइते पत्रकारले शान्ति सुरक्षाका लागि प्रहरीमा उजुरी दिएका छन् । सैनामैनास्थित मलमला एफ.एमका स्टेशन म्यानेजर खरेलले मंगलवार साँझ साढे ६ बजे विद्यालय खुल्ला भएको देखेपछि समाचार संकलनका लागि सूचना माग गर्न गएको बेला आफूमाथी कुटपिट भएको प्रतिक्रिया दिए ।
‘प्रधानाध्यापक नेत्रलाल पुरीको निर्देशनमा सुरक्षा गार्डले मलाई रडले हाने’,खरेलले भने,‘शान्ति सुरक्षा र कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय रन्यौरामा लिखित उजुरी दिएको छु ।’
घाइते पत्रकार खरेल र प्रहरीमा दिएको उजुरी ।
लुम्विनी प्रदेस सरकार, नमुना विद्यालय अनुदान र विद्यालयको स्रोतमा ९९ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको विद्यालय भवन र विद्यालयले संचालन गरेको स्वर्णमहोत्सवमा उठेको करिव ५० लाख रुपैयाँको आय व्यय विवरण माग गर्न आफू विद्यालय पुगेको खरेलले बताएका छन् । घाइते खरेल लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि घर फर्केका छन् ।
तर, पत्रकार खरेल मदिरा सेवन गरेर साँझको समयमा सूचना माग गर्न आएपछि सुरक्षा गार्डसँग भनाभन भएर विवाद चर्किदै गएको प्रधानाध्यापक नेत्रलाल पुरीले प्रतिक्रिया दिए । ‘अनुसन्धानका लागि सवै भिडियोहरु सिसि क्यामरामा हेर्न सकिन्छ’,पुरीले भने,‘गार्डलाई उहाँले अपशब्द प्रयोग गरेपछि हात हालाहाल भएको रहेछ । म त्यसबेला विद्यालयमा थिएन् पत्रकार खरेलले नै तुरुन्त आइहाल्नुस् भनेपछि आएको हु ।’
प्रधानाध्यापक पुरीले बालविकासको कोटामा पत्रकार खरेलकी श्रीमतीले आवेदन दिएको तर नाम ननिस्केपछि आफूमाथी डेढ महिना अघिदेखि खनिदै आइरहेको आरोप समेत लगाएका छन् । पत्रकार खरेलले विद्यालय भवन र स्वर्णमहोत्सवमा उठेको रकममाथी अनियमितताको आशंकामा माग गरिएको सूचना नदिएको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।
पत्रकार खरेल प्रेस चौतारी नेपाल रुपन्देहीका वर्तमान सचिवालय सदस्य हुन् ।