प्यूठान : प्यूठानको कृष्ण भिरले चिनिने गर्जेनी पहाड हिउँद र बर्खा दुवैमा गर्जिदा प्यूठान सहित रोल्पाका नागरिकहरुले खेप्नु सास्ती खेपेका छन् । माण्डवी गाउँपालिका वडा नम्वर १ मा पर्ने गर्जेनीमा दुई वर्ष अघि मोड फराकिलो बनाउने काम गरिएको थियो । सडक फराकिलो त भयो तर पहाड चीराचिरा पर्दा पहिरो खसीरहने समस्या ज्यूँका त्यूँ छ ।
तीन दिन अघिदेखि परेको अविरल वर्षाका कारण भालुबाङ–प्यूठान–रोल्पा सडक खण्डमा गर्जेनी पहिरो मुख्य समस्याका रूपमा देखा परेको छ । गर्जेनी पहाडबाट खस्ने पहिरोकै कारण यहाँ दिनहुँ सडक अवरुद्ध छ । पहिरो पन्छाउने काम मात्र भइरहेको सडक डिभिजन कार्यालय प्यूठानका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीले बताए । छिनछिनमा पहिरो खस्दा समस्या भइरहेको उनको भनाई छ ।
समस्या समाधानका लागि गत वर्षबाटै विभाग तथा विभागीय मन्त्रालयमा ध्यानाकर्षण गराएपनि बजेट प्राप्त नभएको उनले बताए । स्थायी रोकथामका लागि बजेट अभाव भएको उनले सुनाए । गर्जेनी पहाड कृष्ण भिरकै अर्को रूप रहेको समेत उनको भनाई छ ।
गर्जेनीमा आउँदा मन झसङ्ग हुने रात्रीबस चालक सुरेश नेपाली (टाइमपास) ले अनुभव सुनाए । एकपटक माथि हेरेर मात्रै गाडी अगाडी बढाउने गरेको उनको प्रतिक्रिया छ । गर्जेनीमा पुग्दा उज्यालोमै पहाड हेरेरै केहि मिनेट रोकिएर गाडी चलाउने गरेको प्यूठान दिल्ली बस चालक करण थापा क्षेत्रीले बताए । गर्जेनी काटिसकेपछि मात्र मनको त्रास हट्ने उनी सुनाउँछन् ।
गर्जेनीको स्थायी समस्या समाधानमा राज्यको उदासीनता झल्केको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका प्रबन्ध निर्देशक चन्द्रमान श्रेष्ठले बताए । ‘हिउँदमै गर्जेनीको व्यवस्थापन हुनुपर्ने थियो’ श्रेष्ठले भने,‘झरेको पहिरो पन्छाउनु स्थायी समाधान होईन ।’
दीर्घकालिन समाधानका लागि सम्बन्धित निकायसँग छलफल गरिरहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले प्रतिक्रिया दिए । यो सडक प्यूठान रोल्पाको लाईफ लाइनको रुपमा रहेकाले स्थायी समाधानका लागि विशेष पहल भइरहेको उनले जानकारी दिए । जिल्लाबाट निर्वाचित जनप्रतिनिधीहरुले पनि माथिल्लो निकायमा पहल गरिरहेको अर्यालले सुनाए ।