प्यूठान : प्यूठान नगरपालिका–७ गाजुरीमा संचालित इशान एग्रो फार्मले यसवर्ष पनि ड्रागन फल तयार गरी बजारमा बिक्री गरिरहेको छ । यो वर्ष करिब ९० क्विन्टल ड्रागन बिक्रिका लागि तयार भएको फार्मका संचालक नविन कुमार श्रेष्ठले जानकारी गराए । थोक प्रति केजी चार सय रुपैयाँ र खुद्रा चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यसवर्ष करिब ४० लाख रुपैयाँ बराबरको ड्रागन फल बिक्री हुने अनुमान फार्मले गरेको छ । यहाँ उत्पादित ड्रागन स्थानीय बजारसंगै बुटवल, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ । ‘उत्पादनको आधा भाग प्यूठानकै मार्केटमा खपत हुन्छ’,श्रेष्ठले भने, ‘प्रहरी, नेपाली सेना, ब्यारेक, हस्पिटलहरुबाट विशेष माग आउने गरेको छ ।’ प्यूठानको ड्रागन फल स्वादिष्ट भएकोले बाहिरबाट बढी माग भइरहेको उनले अनुभव सुनाए ।
श्रेष्ठकै १२ रोपनी जग्गा र बाँकी १० रोपनी जग्गा भाडामा लिई ड्रागन खेती गरिएको छ । फार्ममा अहिले ५ हजार बोट रहेको व्यवस्थापक लोक बहादुर गुरुङले जानकारी गराए । यहाँ दैनिक ६ जना स्थानीयहरुले प्रत्यक्ष रूपमा रोजगारी समेत पाएका छन् ।
मौषम तथा बैमौसममा गोडमेल तथा मलजल गर्दा थप ८÷१० जनालाई आंशिक रोजगारी दिने गरेको फार्मले जानकारी गराएको छ । झिमरुक फाटमा जहाँ धानको राम्रो उत्पादन हुने गर्दछ त्यहाँ खेत मासेर ड्रागन फलको खेती शुरु गर्दा शुरुमा आफूहरुले आफन्त तथा साथीभाईहरुबाट गाली खाएको समेत श्रेष्ठले विगत सुनाए ।
‘खेत मासेर यस्तो नहुने काममा लाग्ने पनि भनियो’, श्रेष्ठले भने,‘प्यूठानको हावापानीमा ड्रागन खेती हुन्छ भनेर नै जोखिम मोलेर खेती गरेका हौं ।’ शुरुको वर्षमा तीन हजार बिरुवा लगाएर ड्रागन खेतीको शुरुवात गरेको श्रेष्ठले सुनाए ।
‘पहिलो वर्ष हाम्रो ढंग पुगेन्, करिब आधा बोट सुकेर गयो’,श्रेष्ठले भने, ‘युट्युब मार्फत सिको गर्दै गरेका थियौं ।’ दोस्रो वर्षमा आईपुग्दा थप अध्ययन गरेर खेती गर्दा ८५ क्विन्टल ड्रागन फल उत्पादन गर्न सफल भएको उनले बताए । ‘बिरुवा ल्याएको ठाउँमा दुई वर्षमा फल दिन शुरु गर्छ भनेको थियो, हामीले डेढ वर्षमै फलाउन सफल भयौं’ श्रेष्ठले सुनाए । ड्रागन बोटले औसत दुई देखि तीन वर्षमा बोटले फल दिन शुरु गर्छ ।
विश्वमा १ सय ५२ प्रजातिको ड्रागन फलको खेती हुँदै आएकोमा नेपालमा तीन प्रजातीको मात्र ड्रागन फलको खेती हुँदै आएको छ । रातो, सेतो र पहेंलो मध्ये इशान एग्रो फार्ममा अहिले रातो र सेतो ड्रागन फलको उत्पादन हुँदै आएको छ । खर्च कटाएर वार्षिक झण्डै ३० लाख रुपैयाँ आम्दानी हुने गरेको संचालक श्रेष्ठले जानकारी गराए । थप बोट विस्तार गर्दै लग्ने योजना रहेको उनले बताए ।
शुरूमा काठमाण्डौमै लोक बहादुर गुरुङ र श्रेष्ठ मिलेर लेयर्स कुखुरा फार्म सञ्चालन गरेका थिए । तीन वर्षमै जग्गा भाडाको समयावधी थप नगरिदिँदा प्यूठान आएर ड्रागन खेतीमा लागेको उनले बताएका छन् । संचालक श्रेष्ठ निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष समेत हुन् । प्यूठानमा व्यवसायिक रुपमा ड्रागन खेती गरिएको यो पहिलो फार्म हो ।