प्यूठान : उमेरले पाका देखिएपनि पार्टी होस् वा सार्वजनिक कार्यक्रममा भर्खरकै यूवा जस्तै फूर्तिला देखिन्छन् नेकपाका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बामदेव गौतम । ७१ वर्षिय गौतमको त्यो जोस, जाँगर आईतवार विजुवार प्यूठानमा पनि देखिन्थ्यो । पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन गृह जिल्ला आएका उनी निकै फूर्तिका साथ कार्यकर्ताहरुलाई प्रशिक्षित गराइरहेका थिए । प्रशिक्षणकै बीचमा कार्यकर्तालाई उनले छमछमी नचाए । मंचमका अन्य नेतासँगै उनी पनि नाँचे । झण्डै तीन मिनेट उनी क्रान्तिकारी गितसँगै नाँचेर कार्यकर्तालाई ऊर्जा थपे । प्रशिक्षण भाषण गरेर मात्रै नहुने भन्दै उनले गीत, संगीतसँगै रमेर गर्नुपर्ने कार्यकर्तालाई सुझाए ।
मंसीर १४ गते हुने उप निर्वाचनलाई मध्यनजर गर्दै कार्यकर्तालाइ ऊर्जा थप्न प्यूठान आएका गौतमले सवै जिल्लामा नेकपाले विजयी हासिल गर्ने ठोकुवा गरे । ‘देशभर ३७ जिल्लामा उप निर्वाचन हुँदैछ’,गौतमले भने,‘सवै जिल्लामा नेकपाले बहुमतले चुनाव जित्दैछ ।’ उनले देशका दुई ठूला पार्टीको एकीकरणपछि नेकपाका नेता, कार्यकर्ताहरुमा बेग्लै उत्साह थपिएको अनुभव सुनाए । अव हुने जुनसुकै निर्वाचनमा नेकपाले पराजय भोग्नु नपर्ने उनको उद्घोष समेत गरे ।
पार्टीको संगठन विभाग प्रमुख समेत रहेका गौतमले पार्टी एकीकरण पछि जोडिएका आठ लाख सदस्यहरुको अभिलेखीकरण व्यवस्थित गर्नतर्फ विभाग लागिरहेको बताए । उनले सरकार संचालन र पार्टी संचालनका विषयमा दुई अध्यक्षको जिम्मेवारीले पार्टी अझ मजवुत भएर जाने दावी समेत गरे । तर, गौतमले एकीकरणपछि बनेको केन्द्रिय सदस्यको संख्या धेरै ठूलो भएकाले वैठक बस्न समस्या परिरहेको उल्लेख गरे । ‘४४१ सदस्यीय केन्द्रिय कमिटी छ’,गौतमले भने,‘केन्द्रिय कमिटी ठूलो भएर मात्र हुँदैन् । सहज रुपमा बैठक बस्न मिल्ने गरी पार्टीले सोच्नुपर्ने छ ।’ एकीकरणको शुरुवाती चरणमा कार्यकर्ताहरुमाझ केही भ्रम र अन्यौलता देखिएपनि एक वर्षको अवधिसम्म सवै समाधान भएर गइसकेको उनले सुनाए । अवको बाँकी समय पार्टीले राष्ट्र निर्माणमा पुरै शक्ति परिचालन गर्ने समेत उनको भनाई छ । ‘चुनावमा ठूलो पार्टी भएर मात्र हुँदैन्’,गौतमले भने,‘ठूलो पार्टी भएको त्यो बेला महशुस हुनेछ, जुनबेला जनताको जीवनस्तरमा परिवर्तन आएको हुनेछ ।’
‘प्यूठान छाडेकोमा पछुतो’
०७० सालको संविधान सभा निर्वाचनमा प्यूठान क्षेत्र नम्वर १ बाट चुनाव जितेका गौतम ०७४ सालमा बर्दिया क्षेत्र नम्वर १ बाट चुनाव लडे । बर्दियाबाट ७ सय ५३ मतको अन्तरले चुनाव हारेपछि उनको संसद्मा उपस्थिती हुन सकेन् । चुनाव हार्दा होस् वा जित्दा कुनै न कुनै विषयमा राष्ट्रिय चर्चामा आइरहने गौतमलाई अघिल्लो निर्वाचनमा प्यूठान छाडेकोमा पछुतो छ । त्यो पछुतो उनले बारम्वार प्यूठान आउने क्रममा कार्यकर्ताहरुमाझ सुनाइरहन्छन् । कार्यकर्ता प्रशिक्षणमा उनले शुरुवातै चरणमा आफूले पराजय भोगेको र गृह जिल्ला आउँदा लाग्ने पछुतोको बारेमा सवैलाई सुनाए । ‘०७४ को निर्वाचनमा मैले प्यूठान छाडेर बर्दियाबाट चुनाव लडे । दुर्भाग्यबस त्यहाँ चुनाव हार्नुप¥यो ।’ उनले भने । आगामी दिनमा उमेदवार बन्ने विषयमा भने उनी प्रवेश गर्न चाहेनन् ।
राष्ट्रिय राजनीतिमा प्रत्यक्ष पहुँच राख्न सक्ने नेताको रुपमा पहिचान बनाएका गौतमले गृह जिल्लाको विकास निर्माणमा प्रत्यक्ष चासो नराखेको जिल्लाबासीले गुनासो गरिरहन्छन् । चुनावताका उनले सार्वजनिक गरेको जिल्लाका कैयौँ योजना अझै कार्यान्वयन हुन सकेका छैनन् ।