प्यूठान : व्यक्तिगत स्वार्थमा रुमल्लीरहेको नेपाली समाजमा सामाजिक क्षेत्रमा योगदान गर्नेहरु पाउनै मुश्किल छ । तर, प्यूठानको गौमुखी गाउँपालिका–७ नारीकोटका युवा व्यवसायी सन्तोष कुँवर समाजेवीको अर्को नामको रुपमा परिचित छन् ।
बेसहाराको घर बनाउने, विद्यालयको शौचालय बनाउनेदेखि कैयाँै विपन्न विरामीहरुको सेवामा कुँवले व्यक्तिगत सहयोग गरेका छन् । २० वर्ष अघि अध्ययनको सिलसिलामा काठमाण्डौँ पुगेका कुँवरले अध्ययनसंगै काठमाण्डौमै अवसरको खोजी गरे । विभिन्न पेशा व्यवसायमा सक्रिय उनी समाजिक संघ संस्थामा पनि उत्तिकै क्रियाशील छन् । रोटरी क्लव अफ कलंकी काठमाण्डौका उनी अध्यक्ष समेत हुन् ।
३८ वर्षिय कुँवरले आफ्नो गृह गौमुखी गाउँपालिका सहित छिमेकी झिमरुक गाउँपालिकामा समाजसेवाका हातहरु फैलाएका छन् । नारीकोटका जीत बहादुर सुनारको घर उनैले बनाइदिए । बिरामी तथा अशक्त दम्पती सुनारको घर बनाउन व्यक्तिगत तथा समाजिक सञ्जाल मार्फत संकलित पाँच लाख रुपैयाँ बराबरको सहयोग गरिएको उनले सुनाए । स्थानीय वसन्त पाण्डेको समेत घर बनाउन ३६ हजार ५ सय सहयोग गरेका छन् ।
गौमुखीकै सुमन गिरीको फेल भएको किड्नीको उपचारमा व्यक्तिगत तथा समाजिक सञ्जाल मार्फत २० लाख रुपैयाँ संकलन गरि सहयोग गरेको उनले जानकारी दिएका छन् । कुँवरको अगुवाईमा गौमुखीका ब्लड क्यान्सरका बिरामीहरु भुमा सुनार, प्रियंका सुनारलाई करिब सात लाख रुपैयाँ बराबरको सहयोग गरेका छन् । सन्दीप सुनारलाई तीन लाख रुपैयाँ बराबरको सहयोग कुवँले गरे ।
कुँवरको सहयोगमा जनता प्रावि खुङमा शौचालय निर्माण गरिएको गौमुखी ५ का वडा अध्यक्ष वरुणध्वज मल्लले जानकारी गराए । शौचालय निर्माणमा स्थानीयहरुको जनसहभागिता पनि रहेको उनले जानकारी गराए । ‘गरीब तथा विपन्न जो कोहीलाई उहाँले सहयोग गरेको देखियो’,मल्लले भने, ‘हाम्रो गाँउ ठाउँमा उहाँले हरेक क्षेत्रमा सहयोग पु¥याउनुभएको छ ।’
कुँवरको अग्रसरतामा दुई लाख रुपैयाँ बराबरको सहयोगमा भूमिकाथान प्रावि नारीकोटमा पनि शौचालय निर्माण गरिएको छ । ठुलाबेशीमा दशैँ बिशेष खेलकुद कार्यक्रममा कुँवरले दुई लाख रुपैयाँ सहयोग गरेको स्थानीय अगुवा युवा रवि चन्दले बताए ।
‘गाँउमा खेलकुद कार्यक्रम आयोजना गर्नप¥यो भने सम्झिने नाम सन्तोष हो’, लिबाङका स्थानीय निर्मल सुनारले भने,‘उहाँले स्थानीय युवाहरुलाई कहिले निरास बनाउनु भएको छैन् ।’ कुँवरले जन्मदिनको अवसरमा गौमुखी–६ मा अवस्थित जनचेतना प्राथमिक विद्यालय, अर्खाको महेन्द्र आधारभूत विद्यालय सहित सात वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्रीको रुपमा ७४ थान झोला वितरण गरेका छन् ।
नारीकोटमा रहेको अमृत जीवन माविमा कक्षा १२ संचालनका लागि पाँच लाख रुपैयाँ सहयोग घोषणा गरेको कुँवरले जानकारी गराए । रियल स्टेट व्यवसायमा सक्रिय भएका कुँवरले छोटो समयमै आर्थिक हैसियत समेत राम्रै बनाएका छन् । हजुर आमाको बोली बचनले समाजसेवामा लाग्न प्रेरित गरेको उनी सुनाउँछन् ।
‘शतकर्म गरेपछि तीन पुस्तालाई पुग्छ भन्नुहुन्थ्यो हजुरआमाले’, कुँवरले भने, ‘अधर्म गरे आफ्नै पुस्तालाई पनि पुग्दैन ।’ बुवा पनि सहयोगी भावना भएको उनले बताए । काठमाण्डौँमा उपचारका लागि आउने र आफूलाई खोज्ने जति प्यूठानका सबै विरामीहरुलाई सहयोग गरेको उनि सम्झन्छन् । ‘समाजसेवाका सन्दर्भमा मैले व्यक्तिगत रुपमा करिब ४५ लाख रुपैयाँ जति खर्च गरेको छु’, कुँवरले भने, ‘अलि ठूलो केसमा मैले साथीभाईहरुलाई सहयोगको लागि अपिल पनि गर्ने गरेको छु ।’ करिब ३०÷३२ लाख साथीभाईहरुको सहयोगबाट बिरामीहरूको उपचारमा सहयोग गरिएको उनले जानकारी गराए ।
निस्वार्थ भावनाबाट समाजसेवामा जोडिँदा आफूलाई सन्तुष्ट मिल्ने गरेको उनले बताए । कर्मको शिलसिलामा जहाँ रहेतापनि मन गाउँमै हुने उनी सुनाउँछन् । बाँचुन्जेल समाजसेवामा जोडिँदै जाने योजना आफ्नो रहेको समेत उनले सुनाए ।