प्यूठान : नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको कार्यालय विजुवारमा ताला लगाइएको छ । सदस्यता शुद्धीकरणप्रति असन्तुष्ट जनाउँदै प्रगतिशिल पत्रकार संघ र नेपाल प्रेस यूनियन प्यूठानले शनिवार ताला लगाएका हुन् ।
दुवै संगठनले प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाबाट सिफारिस गरिएका सदस्यहरुको नामावली नियतवस हटाएको बताएका छन् । जिल्ला, प्रदेस समिति हुँदै सिफारिस गरिएका सदस्यहरुको नामावलीमा केन्द्रले दलिय आस्थाका आधारमा सदस्य खारेज गरिदिएको छ ।
केन्द्रले निर्णय गरेर पठाएका प्यूठानका अधिकांश सदस्यहरु गैर पत्रकार छन् । सरकारी शिक्षक, गाउँपालिकाहरुमा कार्यरत अस्थायी, करारका कर्मचारी, पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष, वर्षौदेखि पत्रकारितामा क्रियाशिल नभएका, लुम्बिनी प्रदेस सहकारी बोर्डका उपाध्यक्ष, सहकारी वचत तथा ऋण सहकारीमा कार्यरत व्यवस्थापक, कर्मचारी, क्याम्पसका प्रध्यापक, लेखापाल, गैससमा कार्यरत कर्मचारीहरुलाई महासंघ केन्द्रले पत्रकार भनेर सदस्यता नविकरण गरेको छ । महासंघले बनाएको शुद्धीकरण मापदण्ड अनुसार उनीहरु पत्रकार ठहरदैनन् । तर, उस्तै प्रकृतिका कतिपय पत्रकारहरुको सदस्यता खारेजी गरिएको छ ।
पत्रकार महासंघमा गैर पत्रकारहरुको हालीमुहाली हुँदै गएकोप्रति पछिल्लो समय नागरिक समाजका अगुवाहरुले समेत चिन्ता व्यक्त गर्दै आएका छन् । महासंघको सदस्यता विवाद जिल्ला, प्रदेस हुँदै केन्द्रसम्मै जारी छ ।