प्यूठान : प्यूठानको नौबहिनी गाउँपालिकाले किसानहरूको मनछुने कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०८१÷२०८२ का लागि गाउँपालिकाले मासुजन्य उत्पादनमा प्रति केजी ८० रूपैयाँसम्म अनुदान दिने योजना ल्याएको हो ।
घरमै खसी बोका पालेर वार्षिक १ सय के.जी मासुजन्य उत्पादन गर्ने किसानले प्रति केजी ८० रुपैयाँ अनुदान पाउने छन् । किसानहरूले समुहगत रूपमा खसीबोका पालि १ हजार के.जी मासुजन्य उत्पादन गरेमा प्रति के.जी ५० रुपैयाँ अनुदान दिने योजना ल्याईएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी गराए । आवश्यक कार्यविधि बनाई कार्यक्रम लागु गरिने उनको भनाई छ ।
दुग्ध उत्पादक किसानलाई प्रति लिटर ५ रुपैयाँ अनुदान दिईने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । पालिकाले दूध संकलन केन्द्र सञ्चालनमा ल्याउन लागेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी गराए । ‘किसानले संकलन केन्द्रमा दूध दिनुहुनेछ’,पौडेलले भने, ‘दुग्ध उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरेका छौं ।’
किसानहरूका उत्पादनलाई बजारीकरण गर्न लाग्ने ढुवानीमा समेत गाउँपालिकाले अनुदान दिने योजना ल्याएको छ । अनुदान पाउनका लागि किसानले बजारसम्म कृषि उपज बिक्री गरेको प्रमाण गाउँपालिकामा पेश गर्नुपर्ने छ । वडाले सिफारिस गरेको आधारमा अनुदान दिईने व्यवस्था मिलाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी गराए ।
वडा नं १ स्याउलीबाङमा स्थानीय लोकल आलुको राम्रो उत्पादन हुने गर्दछ । गाउँपालिकाको बाहाने, फोप्ली, लुप्लुङ तथा डाम्रीमा अदुवाको राम्रो उत्पादन हुने गर्दछ । खबाङमा कोदो, लुङमा सुन्तलाको राम्रो उत्पादन हुने गर्दछ । मैरामारे तथा फोप्लीमा टिमुर उत्पादन हुने गर्दछ । गाउँपालिकालाई खुर्सानीमा आत्मनिर्भर गराउन वडा नं ६ लाई पकेट क्षेत्र बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको १६ औं अधिवेशनले आर्थिक वर्ष २०८१÷२०८२ का लागि ६६ करोड २३ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखि बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष बिस्ना थापाले बताईन् ।