प्यूठान : प्यूठानको सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷२०८२ का लागि ४० करोड ३६ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको दोस्रो गाँउ सभा तथा १५ औं अधिवेशनमा पालिका उपाध्यक्ष बसन्ता खड्काले बजेट प्रस्तुत गरेकी हुन् ।
अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ संघ र प्रदेश सरकारबाट २८ करोड ५० लाख २५ हजार रुपैयाँ प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी गराए । कुल जम्मा आन्तरिक श्रोत तर्फ १ करोड ८६ लाख ७० हजार रुपैयाँ अनुमान गरिएको छ ।
आर्थिक विकास तर्फ ३ करोड ३९ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ। जसअन्तर्गत कृषि तर्फ १ करोड ३७ लाख ४ हजार रुपैयाँ, उद्योग तर्फ २० लाख ४० हजार रुपैयाँ, पर्यटन तर्फ ७८ लाख ४० हजार रुपैयाँ, जलश्रोत तथा सिंचाई तर्फ ५२ लाख ५० हजार रुपैयाँ , वन तर्फ १ लाख ५० हजार रुपैयाँ, पशु पंछी विकास तर्फ ५० लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
सामाजिक विकास तर्फ २९ करोड ७ लाख ६३ हजार ७ सय रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । शिक्षा तर्फ १६ करोड २८ लाख ९७ हजार ७ सय रुपैयाँ, स्वास्थ्य तर्फ २ करोड ८६ लाख ९९ हजार रुपैयाँ सामाजिक सुरक्षा संरक्षण तर्फ ८५ लाख १९ हजार रुपैयाँ, युवा तथा खेलकुद तर्फ ३१ लाख ६७ हजार रुपैयाँ, खानेपानी तथा सरसफाई तर्फ २६ लाख ९९ हजार रुपैयाँ, भाषा तथा संस्कृति तर्फ १३ लाख ७० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण ३४ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसै गरी पूर्वाधार विकास तर्फ ४ करोड ७५ लाख ४४ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ २ करोड ६३ लाख ९८ हजार रुपैयाँ र कार्यालय तथा प्रशासनिक खर्च तर्फ ८ करोड ४९ लाख ४४ हजार ३ सय रुपैयाँ बजेट विनियोजन भएको छ ।
कुल बजेटको पूँजीगत तर्फ ८ करोड ८९ लाख ३६ हजार रुपैयाँ विनियोजन भएको छ भने चालु तर्फ ३१ करोड ४७ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पालिका स्तरबाट मोटरबाटो कालोपत्र निरन्तरता तर्फ बड्डडाँडा – हंसपुर सडक, नर्सरी – आटीटार हुँदै वडा नं १ को वडा कार्यालय मोटरबाटो, वडा नं २ मा रत्ने – मसुरे मोटरबाटोलाई निरन्तरता दिँदै बजेट प्रबन्ध गरिएको छ ।
कृषि मिटरमा गाउँपालिकाले २५ प्रतिशत अनुदान दिने योजना बनाएको पालिका प्रवक्ता चिन्त सोमैले जानकारी गराए । बजेट अधिवेशनले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने समेत बजेट व्यवस्थापन गरेको छ ।
प्रदेस सभामुखद्वारा सम्बोधन
सरुमारानीको बजेट अधिवेशनलाई आईतबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले विशेष सम्बोधन गरेका छन् । सभाको व्यवस्थापन, सञ्चालन प्रक्रिया तथा अभ्यासको घर्तीले प्रसंशा गरेका हुन् । जनप्रतिनिधिको सामुहिक पोशाक कोड, संसदीय अभ्यासकै झल्को दिने गरी सञ्चालन गरिएको गाउँ सभाको अधिवेशनलाई सभामुख घर्तिले प्रदेश सदन चलिरहेकै बेला सम्बोधन गर्न आईतबार बड्डडाँडा आएका हुन् ।
लुम्बिनी प्रदेश सभासंग सोझो सम्बन्ध राखेर आमन्त्रण गरेकोमा गाउँपालिकालाई सभामुख घर्तिले धन्यबाद दिएको गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए । सभामा गाउँपालिकाका उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको छ । गाउँपालिकाको पहिलो गाउँसभामा प्रतिनिधि सभा सदस्य सूर्य थापाले विशेष सम्बोधन गरेका थिए ।