बुटवल : नेपाल पत्रकार महासंघले पहिलोपटक थालेको सदस्यता शुद्धीकरण अभियानले अहिले सर्वाधिक आलोचना खेपिरहेको छ । सदस्यता शुद्धीकरण अभियान आफैँमा प्रशंसायोग्य काम थियो । तर, नेतृत्वमा रहेकाहरुले त्यसलाई पूर्णतयाः दुरुपयोग गरे । जिल्लाहुँदै, प्रदेस र केन्द्रीय समितिसम्म आइपुग्दा शुद्धीकरण अभियान ‘गिजोलियो’ ।
सदस्यता शुद्धीकरण पत्रकारितामै क्रियाशिल सदस्यलाई राख्ने भन्दा पनि विभिन्न प्रतिसोद्ध साध्ने माध्यमको रुपमा प्रयोग भयो । पत्रकारको पवित्र थलोमा राजनीतिक खिचातानीको तछाडमछाड भयो । यतिसम्मकी पत्रकारको सदस्यता बचाइदिन पत्रकारहरुले आफू आवद्ध राजनीतिक दलका नेताहरुलाई समेत हारगुहार गरे । नेताहरुकै दैलो चालेर उनीहरुले पत्रकारको सदस्यता बचाइदिन सहयोग मागे । त्यसैले गर्दा यो विषय झनै पेचिलो बन्दै गएको हो । त्यसको परिणामस्वरुप असार २२ गतेका लागि तोकिएको निर्वाचन समेत अन्यौलग्रस्त छ । पत्रकारहरुकै यस्ता गतिविधीले गर्दा समग्र पत्रकारिता क्षेत्रलाई नागरिकहरुले हेर्ने दृष्टिकोण अझ कमजोर बन्न पुगेको टिप्पणी भइरहेको छ ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा २०७९ पुस ८ र ९ गते सम्पन्न साधारणसभाले सदस्यता शुद्धीकरण गर्नका मापदण्ड समिति बनाउने निर्णय गरेको थियो । समितिमा महासंघका केन्द्रीय महासचिव प्रेस सेन्टरका रोशन पुरी, प्रेस चौतारीका उजीर मगर, प्रेस यूनियनका रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सम्मिलत समितिले सदस्यता शुद्धीकरण मापदण्ड बनाएको थियो ।
यस्तो छ शुद्धीकरण मापदण्ड
१. पत्रकारिता क्षेत्रमा तीन वर्षदेखि सक्रिय नभएको ।
२. राजनीतिक दलको कुनै समितिको पदाधिकारी रहेको ।
३. जनप्रतिनिधि रहेको ।
४. सरकारी तथा सेवा आयोग स्थायी, अस्थायी र करार सेवाको कर्मचारी ।
५. मिडिया संस्थान बाहेक अन्य संस्थाका कर्मचारी ।
६. कहिलेकाही मात्र पत्रकारिता गर्ने, गैरसरकारी तथा वित्तियक्षेत्रका कर्मचारी ।
७. मुख्य पेशा पत्रकारिता वाहेक अन्य रहेका ।
८. संचारमाध्यममा बिशुद्ध व्यवस्थापक, वजार प्रतिनिधि र प्रशासनिक कर्मचारी ।
९. ६ महिना भन्दा लामो समयदेखि विदेशमा रहेका ।
महासंघले बनाएको यो शुद्धीकरणलाई धेरैले प्रशंसा गरेका थिए । सुर्खेत साधारणसभाबाट ऐतिहासिक निर्णय ग¥यो भनेर महासंघ नेतृत्वको चौतर्फी प्रशंसा समेत भएको थियो । तर, यो पवित्र कामलाई यही नेतृत्वले अपवित्र काम गरेको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ । महासंघ नेतृत्वलाई शुद्धीकरण अभियान निल्नु न, ओकल्नु भएको छ ।
एउटै प्रकृतीको रहे, उहीँ प्रकृतिको हटे
यो कस्तो खालको विभेदकारी शुद्धीकरण हो ? उही प्रकृतिको पत्रकारको सदस्यता नविकरण भएको छ, उस्तै प्रकृतिको भएको छैन्, भन्दै देशभर महासंघको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा सर्वत्र विरोध भइरहेको छ ।
हेरौँ केही उदाहरण :
लक्ष्मण पोखरेल
बुटवलमा १६ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल नाम हो लक्ष्मण पोखरेल । उनी अहिले अन्नपूर्ण पोष्ट दैनिकको लुम्बिनी व्यूरो प्रमुख र बुटवलबाट प्रकाशित दैनिक लुम्बिनीमा खवर लेख्छन् । पत्रकारितामा निरन्तर क्रियाशिल पोखरेलको सदस्यता महासंघले नविकरण गरेन् । लुम्बिनी वौद्ध विश्वविद्यालय, लुम्बिनीमा उनी अधिकृत स्तरको पदमा कार्यरत छन् । सरकारी जागिरे भएकाले उनको सदस्यता नविकरण नगरिएको भन्दै सदस्यताबाट हटाइएको महासंघले जनाएको छ । ‘मेरो पत्रकार महासंघको सदस्यता नविकरण हुनैपर्छ भन्ने छैन्’,पोखरेलले भने,‘शुद्धीकरण सवैलाई लागु भएको देखिएन् । म जस्ता धेरै साथीहरुको सदस्यता नविकरण भएको देखिएको छ । विभेद गरिएको भन्ने प्रष्ट देखिन्छ ।’ मापदण्ड कसैलाई लागु हुने र कसैलाई नहुने प्रवृतिले महासंघको गरिमामा आँच पुगेको महशुस गरिएको उनी बताउँछन् । ‘वर्तमान नेतृत्वको काँचोपन देखियो’,उनी भन्छन्,‘संस्थाको गरिमा यसरी गिर्दै गएकोप्रति चिन्ता लागेको छ ।’
विश्वविद्यालय मातहतकै नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा कार्यरत उपप्रध्यापक दुर्गालाल केसीको सदस्यता पछिल्लो सूचि अनुसार नविकरण भएको छ । जिल्लाले नविकरण नगरेर निर्णायक अधिकारका लागि प्रदेश र केन्द्रमा पठाएको थियो । लामो समयदेखि कान्तिपुर दैनिकमा क्रियाशिल केसीको चौतर्फी जोडबलका कारण नविकरण भयो । दाङका केसी र बुटवलका पोखरेलको प्रकृती एउटै हो ।
यूवराज कँडेल
बुटवलका यूवराज कँडेल पत्रकारितामा क्रियाशिल छन् । बुटवल टुडे दैनिक लगायत पत्रिकामा उनका निरन्तर समाचार र आलेखहरु प्रकाशन हुन्छन् । भाषा सम्पादनमा उनको अझ दख्खल छ । तर, उनी निमावी तहको शिक्षक हुन् । बुटवलको कालिका मानवज्ञान मावीमा उनी कार्यरत छन् । शिक्षक पेशा र पत्रकारितालाई उनले सँगसँगै लगेका छन् । कतिपयले यी दुई क्षेत्रलाई सँगै लैजान सक्दैनन् । शिक्षक पेशाभन्दा सात वर्ष जेठो हो उनको पत्रकारिताको करियर । २०५३ सालदेखि उनले बुटवलबाट पत्रकारिता शुरु गरेका थिए भने २०६० सालदेखि मात्र उनी शिक्षक पेशामा जोडिए । तर, कँडेललाई पत्रकार महासंघले पत्रकार मानेन् । शुद्धीकरण उनको सदस्यता नविकरण गरिएको छैन् ।
‘मलाई लेख्न र बोल्नका लागि पत्रकार महासंघ चाहिन्छ भन्ने नै छैन्’,कँडेल भन्छन्,‘महासंघ नेतृत्वले कसरी शुद्धीकरण गरेको छ भन्ने कुरा महत्वपूर्ण हो ।’ नेपाल सरकार, विश्वविद्यालय लगायत कार्यालयहरुमा स्थायी र करारका कर्मचारीहरुको समेत शुद्धीकरण गरिएको समेत पाइएको उनले सुनाए ।
पज्वल पहाडी
प्यूठानका प्रज्वल पहाडी वर्तमान नेपाल पत्रकार महासंघ जिल्ला शाखाका कोषाध्यक्ष हुन् । पत्रकारितासँगै उनी जिल्लाकै मल्लरानी ग्रामीण विकास सरोरकार केन्द्रले संचालन गर्ने एचआइभी रोकथाम परियोजनामा काम गर्छन् । गैर सरकारी संस्थामा काम गरेको भन्दै पहाडीको सदस्यता नविकरण भएन् । जिल्ला शाखाले नविकरणका लागि सिफारिस गरेपनि केन्द्रले राजनीतिक आस्थाकै आधारमा आफ्नो सदस्यता फालेको पहाडीको प्रतिक्रिया छ । उनी अहिले कारोवार आर्थिक दैनिकको प्यूठान संवाददाता र झिमरुक पोष्ट डटकमको सम्पादक छन् ।
‘प्यूठानकै कुरा गर्दा म जस्ता धेरै साथीहरुको सदस्यता नविकरण भएको छ’,पहाडीले भने,‘उनीहरु पत्रकार महासंघको सदस्य हुने, म हट्ने यो कस्तो विभेद हो ?’ पहाडीका अनुसार प्यूठान नगरपालिका खैरास्थित विजय फूलवारी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत व्यवस्थापक, ऋण शाखा प्रमुख, कर्मचारी, सहकारी बोर्ड लुम्बिनी प्रदेशका उपाध्यक्ष, दुई जना सरकारी सहितका अन्य करार शिक्षकहरु, प्यूठान अस्पतालमा कार्यरत अहेव, माण्डवी गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर, स्वर्गद्धारी बहुमुखी क्याम्पसका लेखापाल लगायतको सदस्यता नविकरण गरिएको छ ।
‘यतिको साथीहरुलाई पत्रकार ठान्ने महासंघले मलाई कसरी हटायो ?’,पहाडीले भने,‘सानो संगठनको मान्छे परियो । जिल्लाले त पत्रकार भनेर चिन्यो तर केन्द्रमा पहुँच नपुग्दा हटाएको महशुस भएको छ ।’ उनी राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघमा आवद्ध छन् ।
बोम बहादुर परियार
प्यूठानको रेडियो पत्रकारितामा क्रियाशिल बोम बहादुर परियारलाई नागरिकले पत्रकार भनेर चिनेपनि पत्रकार महासंघले पत्रकारै ठानेन् । उनको सदस्यता पनि नविकरण भएन् । जिल्ला शाखाले पठाएको सूचीलाई केन्द्रले हटायो । प्यूठानस्थित रेडियो झुलेनीको स्टेशन म्यानेजर हुन् । उनी एक वर्ष अघि स्वास्थ्य कार्यालयमा ल्याब असिस्टेनको रुपमा कार्यरत थिए । तर, अहिले पूर्णकालिन पत्रकारितामै छन् ।
ज्ञान बहादुर महतरा
गुल्मीका ज्ञान बहादुर महतरा क्रियाशिल पत्रकार हुन् । महतरा साझा विचार डटकमका सम्पादक छन् । तर, उनलाई महासंघ गुल्मीले नै पत्रकार नठानेपछि सदस्यता खारेज गरिदिएको छ । संगठनभित्रको अस्तित्वको लडाइँमा आफ्नो सदस्यता परेको महतराको भनाई छ ।
यी त प्रतिनिधीमुलक पात्र मात्र हुन् । सवै जिल्लामा यस्तै बेथिती छ । पत्रकार महासंघ जिल्लादेखि प्रदेसहुँदै केन्द्रसम्मै सदस्यता शुद्धीकरण गिजोलिएको छ । महासंघले नै बनाएको मापदण्डको खुलेआम खिल्ली उडाइएको छ । कि स्पष्ट शुद्धीकरण हुनुपर्ने नभए सवैको सदस्यता नविकरण गर्नुपर्ने हटाइएकाहरुको माग छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम राजनीतिक खिचातानीदेखि विभिन्न दलसम्वद्ध पत्रकारका संगठनहरुको अस्तित्वको लडाइँले गर्दा समस्या निम्तिएको प्रतिक्रिया दिन्छन् । ‘पत्रकारको संस्थालाई दलहरुले समेत राजनीतिक इगोको रुपमा लिइएको देखियो’,जिएमले भने,‘२२ गते चुनाव त हुन्छ तर अझै देशभरबाट ४÷५ सय जना साथीहरुको सदस्यता थपिएर मात्र हुन्छ ।’ जिएमले कतिपय जिल्ला शाखा र प्रदेस समितिहरुले अपरिपक्व निर्णय गर्दा केन्द्रलाई समस्या परेको प्रतिक्रिया दिए ।
सदस्यता शुद्धीकरण लगायत गतिविधीले पछिल्लो समय नेपाल पत्रकार महासंघको गरिमा समेत खस्किदै गएको छ । क्रियाशिल पत्रकारहरुले महासंघमा भन्दा बाहिरै बस्दा आफूलाई आत्मसम्मान बढ्ने गरेको समेत सामाजिक सञ्जालमा लेख्दै आएका छन् । सवैको साझा र बोलियो पेशागत संगठन बनाउने गरी लाग्न देशभरका पत्रकारहरुले नेतृत्वलाई सुझाव समेत दिएका छन् ।