प्यूठान : प्यूठानबाट पहिलोपटक संघीय सांसद्मा भारी मतले विजयी भइसकेपछि सूर्य थापाको सदनयात्रा शुरु भयो । सांसद् निर्वाचित भइसकेपछि २०७९ फागुन ३ गते उनले संसद् वैठकमा पहिलोपटक बोल्ने अवसर पाए ।
पहिलोपटक बोल्दा उनले पंचायती तानाशाहीको अन्त्यदेखि देशमा गणतन्त्र स्थापना गरुन्जेल सम्मका संघर्षमा प्यूठानबाट बलिदानी दिने महान सहिदहरुलाई सम्झे । त्यसबेला उनले भनेका थिए,‘यो सम्मानित संसद्मा पहिलोपटक बोलिरहँदा पंचायती तानाशाहीको अन्त्यदेखि देशमा गणतन्त्र स्थापना गरुन्जेल सम्मका संघर्षमा एउटा जागृतभूमी प्यूठानबाट बलिदान दिने सहिद मित्रमणी आचार्य, टंक प्रसाद आचार्य, उमेशचन्द्र थापा र कृष्णसेन इच्छुकलाई हृददेखि सम्मान गर्छु । श्रद्धासुमन अर्पण गर्न चाहान्छु । र प्यूठानी जनताले यो परिवर्तनको प्रक्रियामा उहाँहरुको बलिदानबाट जुनढंगको प्रेरणा लिनुभएको छ, त्यो प्रेरणालाई अझै सम्मानित गर्ने ढंगका कामहरु मैले गर्नेछु ।’
सांसद् थापाले प्यूठानबाट बलिदानी दिने चार सहिदहरुको सम्मानमा आगामी आर्थिक वर्षका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । उक्त बजेटबाट प्यूठान नगरपालिका ४ स्थित विजुवार गाँजुरीमा रहेको सहिदपार्कमा चार सहिदहरुको स्मारक र पुस्तकालय निर्माण गरिने छ ।
संसद् बैठक पहिलोपटक बोल्दै प्यूठानका सांसद् सूर्य थापा ।
अहिले सहिद स्मृति पार्कमा आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माण भइरहेको पार्क निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । शहरी विकास मार्फत अहिले पार्कमा अतिथि गृह, पर्खाल, शौचालय लगायत आवश्यक पूर्वाधारका संरचनाहरु निर्माणाधीन अवस्थामा छन् ।
पार्कको समग्र विकासमा जिल्लाका सबै जनप्रतिनिधिहरुको सकारात्मक योगदान तथा पहलकदमी रहँदै आएको न्यौपानेले बताए । २०७५ सालमा प्यूठान उद्योग वाणिज्य संघको मुख्य परिकल्पनामा सहिद स्मृति पार्कको निर्माण कार्य थालनी गरिएको हो । पार्क निर्माणमा प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगरपालिका, डिभिजन वन कार्यालय, लुम्बिनी प्रदेश सरकारले समेत लगानी गर्दै आएका छन् ।
को हुन् चार सहिद ?
उमेशचन्द्र थापा
सहिद उमेशचन्द्र थापा जनआन्दोलन २०६२÷०६३ को शान्तिपूर्ण जनक्रान्तिका पहिलो सहिद हुन् । वि.सं २०१२ असोज १० गते उनको साविक बरौला गाविस हाल ऐरावती गाउँपालिका–२ मा जन्म भएको हो । थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित थिए ।
प्यूठानकै बिजुलीमा रहेको तत्कालीन जनता मावि र मुक्ति माविमा अध्ययनपछि दाङको घोराहीमा बसाइसरेर गएका थिए । थापाले विद्यार्थी राजनीति गरेकै कारण तुलसीपुरमा चार महिना जेल जीवन विताएका थिए । शहिद थापाको सम्मानमा दाङको घोराहीमा समेत द्वार निर्माण गरिएको छ र त्यो सडकको नामकरण उमेश मार्ग भनी राखिएको छ ।
मित्रमणी आचार्य
माण्डवी गाउँपालिका–५ तिघ्रा प्यूठान निवासी शहिद मित्रमणी आचार्यको वि.सं २०४२ साल वैशाख १८ गते चितवनमा हत्या भएको थियो । कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुरका स्ववियु सभापति तथा अखिल (छैठौं) का केन्द्रीय सदस्य समेत रहेका आचार्यलाई कांग्रेस तथा पञ्च समर्थितहरुले आक्रमण गरी हत्या गरेका थिए । विद्यार्थी र कम्युनिष्ट आन्दोलनमा उनको योगदान महत्वपूर्ण छ । उनको सम्मानमा प्यूठान नगरपालिका ४ विजुवारमा शालिक निर्माण गरिएको छ । जसलाई मित्रमणी चोकको रुपमा चिनिन्छ ।
कृष्णसेन इच्छुक
मल्लरानी गाउँपालिका–५ सराङकोट प्यूठान निवासी शहिद कृष्णसेन इच्छुकको वि.सं २०५९ साल जेठ १३ हिरासतभित्रै निर्ममतापूर्वक हत्या गरिएको थियो । उनी कवि, पत्रकार, साहित्यकार एवं एक निष्ठावान् व्यक्ति समेत थिए । प्यूठान निवासी उनको परिवार पछि भालुवाङ नजिकै अर्घाखाँचीको जलुकेस्थित सातमारामा बसाइँ सरेको थियो ।
जेल जीवनकै क्रममा लेखिएका सुविख्यात पत्रकार इच्छुकका रचना इतिहासको यो घडीमा, बन्दी र चन्द्रागिरी, शोकाञ्जलि लगायत झन्डै आधा दर्जन कृति प्रख्यात छन् । स्कुल पढ्दादेखि नै इच्छुकलाई जनताको पक्षमा गरिने राजनीतिक विचारधाराले प्रभावित पारेको थियो । २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका सेनले २०३७ सालदेखि दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । उनको सम्मानमा लुम्बिनी प्रदेश सरकारले पाल्पादेखि रोल्पासम्म जोड्ने गरी प्रदेशको गौरवको योजनाको रुपमा कृष्णसेन इच्छुक मार्गको समेत योजना अघि सारेको छ ।
टंक प्रसाद आचार्य
सहिद टंक प्रसाद आचार्यको घर ऐरावती गाउँपालिका १ दाङवाङ प्यूठान हो । उनलाई २०४६ सालको जनआन्दोलनमा काठमाण्डौँस्थित बागबजारमा गोली हानेर सोही वर्षको चैत १७ गते हत्या गरिएको थियो । आन्दोलनमा घाइते आचार्यको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको थियो ।