गुल्मी : नेकपा (एमाले) गुल्मीको नयाँ नेतृत्वका लागि शिर्ष नेतृत्वले गरेको सहमतीको प्रयास असफल भएको छ । तीन दिनदेखि नेताहरु सहमतीमै नेतृत्व चयन गर्नका लागि प्रयास भएपनि प्रयास असफल भएको हो ।
सदरमुकाम तम्घासमा विहिवार (आज) मतदान प्रक्रिया चलिरहेको छ । सहमतीमै नेतृत्व चयनका लागि पार्टीका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली, केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य गोकर्ण विष्ट, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल र पोलिटब्यूरो सदस्य एवं गुल्मी इन्चार्ज सूर्य थापाले सहमतीका लागि जोडबल गरेका थिए ।
केन्द्रीय राजनीतिमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने नेताहरुको जिल्ला भनेर चिनिने गुल्मीमा एमालेको नयाँ नेतृत्व चयन धेरैको चासोको विषय बनेको छ । पार्टी जिल्ला कमिटीको १२ औँ अधिवेशनको उद्घाटन उपमहासचिव प्रदिप ज्ञवालीले गरेका थिए । मतदानका लागि जिल्लाका १२ वटै पालिकाबाट कुल ६ सय १३ जना मतदाता तम्घासमा आएका छन् ।
अध्यक्षमा काउछा र एसी
पार्टीको जिल्ला कमिटी अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष बालसिँह काउँछा र लुम्बिनी प्रदेश सल्लाहकार कमिटी सदस्य हिरा एसीबीच चुनावी प्रतिस्पर्धा भएको छ । रेसुंगा नगरपालिका तम्घास निवासी काउँछा निर्माण व्यवसायी समेत हुन् । इस्मा गाउँपालिका ६ अमंरपुर निवासी एसी २०७९ सालको स्थानीय तह निर्वाचनमा इस्मा गाउँपालिकामा उम्मेदवार थिए ।
उपाध्यक्ष पदका लागि वर्तमान सचिव गणेश श्रीपाली र जीवन खरेलबीच प्रतिस्पर्धा भएको छ । श्रीपाली रेसुंगा नगरपालिका निवासी हुन् भने खरेल मुसीकोट नगरपालिका निवासी हुन् । खरेले मुसीकोटका वर्तमान नगरप्रमुख समेत हुन् ।
सचिव पदका लागि पदम प्रसाद अर्याल र धर्म विश्वकर्माबीच प्रतिस्पर्धा भएको छ । दुवै उम्मेदवार रेसुंगा नगरपालिका निवासी हुन् । अर्याल रेसुंगा नगरपालिका वडा नम्वर १० का पूर्व वडा अध्यक्ष समेत हुन् ।
उपसचिव पदका लागि ओम कार्की र चक्रवन्धु भुसालबीच प्रतिस्पर्धा भएको छ । मालिका गाउँपालिका निवासी कार्की पार्टीको गाउँपालिका अध्यक्ष समेत हुन् ।