कपिलवस्तु : इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुका प्रहरी निरीक्षक गोपाल रायमाझी प्रहरी अधिकृतको रूपमा पुरस्कृत भएका छन् । लागूऔषध दुव्र्यसन नियन्त्रण तथा फरार अभियूक्त फैसला कार्यान्वयन तर्फ उल्लेखनीय सफलता प्राप्त गरेवापत रायमाझी तथा इलाका प्रहरी कार्यालय पिपरालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले पुरस्कृत गरेको हो । रायमाझीलाई यस अघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पनि पुरस्कृत गरिसकेको छ ।
हेरौँ रायमाझीको नेतृत्वमा भएका केही सफलता
जेठ २३ गते रातीको समय थियो वाणगंगा नगरपालिका– १ बुङ्ची बस्तीमा सिकार गरि ल्याईएको मृग काट्न लागेको खबर प्रहरीले पायो । प्रहरी निरीक्षक गोपाल रायमाझी आफै नेतृत्व गर्दै त्यस ठाउँमा पुगी चार जनालाई नाल हतियार सहित आफ्नो नियन्त्रणमा लिन सफल भए ।
प्रहरी निरीक्षक रायमाझीले कपिलवस्तुकै वाणगंगा –२ गोबडीहवामा लुटपाटमा संलग्न ६ जनालाई लागू औषध ब्राउन सुगर सहित, करिब ३ लाख ५० हजार नगद, ९ थान मोबाइल सेट, सुन तथा चाँदीको गरगहना, ल्याप्टप बरामद गरी आवश्यक कानुनी कारबाहीका लागि मुद्दा दायर गरे ।
पिपरा प्रहरीले केही महिना अघि मात्रै नीजि कारमा लुकाई छिपाई ल्याईएको ब्राउन सुगर जस्तै देखिने ४८ पुरिया फेला पार्यो । २ ग्राम ९ सय मिलिग्राम लागु औषध कार सहित ४ जनालाई पक्राउ गर्न सफल भयो उनीहरु अहिले पुर्पक्षमा छन् ।
स्थानीयबासीका अनुसार लागू औषध दुव्र्यसन नियन्त्रणमा इलाका प्रहरी कार्यालय कपिलवस्तुले कडाई पूर्वक काम गर्दै आएको छ । एक वर्ष अघि पिपरा प्रहरीको रायमाझीले नेतृत्व सम्हालेसंगै आ.व २०८०÷२०८१ मा लागू औषध दुव्र्यसनमा ४७ जनालाई पक्राउ गरि प्रहरीले मुद्दा चलाईएको छ भने विभिन्न कसुरमा फरार ४८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी गराए ।
अपराधरहीत समाज बनाउन प्रहरीसंगै नागरिकको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने रायमाझीले बताए । एक वर्षको दौरानमा पिपरा प्रहरीले ४७ ग्राम ६ सय ८७ मिलिग्राम लागू औषध नियन्त्रणमा बरामद गरेको छ । २३ जना पूर्पक्षमा, १९ जना धरौटीमा छुटेको र ५ जनालाई प्रहरीले अनुसन्धान गर्दैछ । फरार कैदीतर्फ ७८ वर्ष ८ महिना ९ दिन कैद, जरिवाना तर्फ ५ लाख १७ हजार ८ सय ६३ रुपैयाँ, २६ जना पुर्पक्षमा छन् भने २२ जनाले जरिवाना तिरेर छुटेको पिपरा प्रहरीले जानकारी गराएको छ ।