प्यूठान : नेकपा एमाले प्यूठानको आगामी नेतृत्वका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मंगलवार विहानैदेखि पार्टी कार्यालय विजुवारमा मतदान जारी रहेको छ । अध्यक्ष पदका लागि वर्तमान पार्टी अध्यक्ष विजयविराज विष्ट, प्रदेश कमिटी सदस्य मधुर शर्मा र पूर्व प्रदेश कमिटी सदस्य अजय सिँह चुनावी मैदानमा छन् ।
तिव्र चुनावी प्रतिस्पर्धा विष्ट र शर्माबीचमै हुने देखिएको छ । त्यस्तै, उपाध्यक्ष पदका लागि वर्तमान पार्टी सचिव माधव शर्मा पौडेल र निवर्तमान जिल्ला कमिटी सचिवालय सदस्य नेगनसिँह कुवँरबीच प्रतिस्पर्धा भएको छ । अन्य पदहरुमा भने सर्वम्मत भएको छ ।
पार्टी सचिवमा झिमरुक गाउँपालिका संगठन कमिटीका अध्यक्ष इन्द्रमणी पोख्रेल निर्विरोध चयन भएका छन् । उपसचिवमा स्वर्गद्धारी नगरपालिकाका हिरामणी भण्डारी र मल्लरानी गाउँपालिकाकी इश्वरा आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक नेत्र बहादुर रोका क्षेत्रीले जानकारी दिए । जिल्लाभरबाट ५ सय ३९ जना मतदाताहरुले मतदान गर्नेछन् ।
नवौँे अधिवेशनमै अध्यक्षको आकांक्षी देखिएका नेता मधुर शर्मा यसपाली जसरी पनि पार्टी अध्यक्ष हुनेगरी लागिपरेका छन् । एमाले प्यूठानका पूर्व उपसचिव समेत रहेका शर्माले अघिल्लो अधिवेशनमा अहिलेका आफ्नै प्रतिस्पर्धी विजयविराज विष्टलाई सघाएका थिए । नेताहरुले यी दुईबीच सहमती जुटाउन प्रयास गरेपनि कुरा नमिलेपछि चुनावी प्रतिस्पर्धा भएको हो । प्रदेश कमिटी सदस्य भएपनि शर्माको हुटहुटी जिल्ला अध्यक्ष भएर एक कार्यकाल प्यूठानमै काम गर्ने संकल्प बोकेका छन् ।
जनताका समस्यालाई आफ्नै समस्याजस्तै ठानेर काम गर्ने नेताको रुपमा उनलाई कार्यकर्ताले चिन्छन् । मनमा लागेको कुरा प्रष्टसँग राख्ने र जो कोहीसँग क्षणभरमै घुलमिल हुने उनको छ । युवा नेता शर्माले दल भित्र र बाहिरका सबै नेता कार्यकर्तासँग सुमधुर सम्बन्ध स्थापित गरेका कारणले पनि उनी समग्र जिल्लाको नेतृत्व गर्न आफूलाई सहज हुने उनको बुझाई छ ।
अखिलमा लामो समय काम गरेका अर्का उम्मेदवार बिष्टले माओवादी द्धन्दकालमा प्यूठानको विद्यार्थी आन्दोलनको नेतृत्व गरेको अनुभव छ । उनी पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको सचिवालयमा बसेर काम गरेका थिए । प्यूठानको राजनीति वृतमा एउटा चर्चा सँधै भइरहन्छ । त्यो हो, एमालेका लागि दाखाक्वाडी र कांग्रेसका लागि टिकुरी क्षेत्र । यही क्षेत्रबाटै दुई ठूला पार्टीका नेतृत्व पटकपटक चुनिने गरेका छन् । संयोगबस अहिले पनि विजयविराज विष्ट र मधुर शर्मा दाखाक्वाडीबाटै अध्यक्षका उम्मेदवार छन् । अधिवेशनबाट ८९ जनाको जिल्ला कमिटी बन्ने छ । दश प्रतिशत पछि मनोनित हुनेछन् ।