बाँदीकोट (प्यूठान) : झिमरुक गाउँपालिका १ बाँदीकोट बडाचौर प्यूठानका रुमलाल पोखरेलले आफूले जान्दा बुझ्दासम्म गाउँमा कोदो खेती गर्दै आएका छन् । ७२ वर्षिय पोखरेल हिजोआज पाकेको कोदो भित्र्याउन व्यस्त छन् । पुस्तौदेखि गरिदै आएको कोदो खेतीलाई उनले अझैसम्म निरन्तरता दिइरहेका हुन् । उनले पाथीलाई ८० रुपैयाँमा गाउँकै अन्य किसानलाई कोदो विक्री गर्छन् । ६ रोपनी क्षेत्रफल जग्गामा उनले खेती गरेका छन् । ‘वार्षिक करिव १३ मुरी कोदो उत्पादन हुन्छ’,पोखरेलले भने,‘यसलाई पारिलो ठाउँ चाहिन्छ । उब्जाउनु मात्र पर्छ, बेच्न समस्या छैन् ।’
कोदोलाई विभिन्न परिकार बनाई खान मिल्ने भएकोले खानको लागि पोष्टिकयूक्त हुनुका साथै स्वास्थ्यका लागि फाईदा हुने गरेको उनले सुनाए । कोदोवाट वन्ने मदिराजन्य पदार्थको लागि समेत बढी माग हुने गरेको पोख्रेल बताउँछन् । सिजनमा वादिकोट क्षेत्र मात्र नभइ छिमेकी जिल्ला गुल्मी, अर्घाखाची, वाग्लुङ लगाएतबाट कोदो लिन आउने गरेको उनले बताए । उनी सहित बडाचौरका थुप्रै किसानहरुलाई हिजोआज कोदो भित्र्याउन भ्याइनभ्याइ छ । सबैका बारीभरी कोदो फलेको छ ।
प्यूठानका उत्तरीपूर्वी क्षेत्रमा पर्ने गाउँका किसानहरुको कोदो पूख्र्यौली खेती नै हो । कतिपयको यही खेती जिविका चलाउने माध्यम बनेको छ । झिमरुक गाउँपालिकाको बाँदीकोट, बांगेमरोठ सहित गौमुखी गाउँपालिकाको नारीकोट, खुङ, पुँजा, अर्खा, रजवारा, लिवाङ गाउँ कोदो खेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लाका अन्य माथिल्लो बस्तीमा कोदोको ठूलो परिमाणमा खेती हुने गरेको छ ।
बहुउपयोगी कोदोको अझैपनि सदुपयोग राम्रोसँग हुनसकेको छैन् । केहीले कोदोको ढिँडो, रोटी बनाउन प्रयोग गरेपनि अधिकांशले यसलाई कुहाएर मदिराको रुपमा प्रयोग गर्ने गर्छन् । यस क्षेत्रका गाउँमा पुग्ने जो कोहीले पनि कोदोकै मदिरा प्रयोग गर्न चासो राख्ने गरेको पाइन्छ । तर, गाउँका सामाजिक अगुवाहरु कोदोलाई मदिराको रुपमा कुहाएर प्रयोग गर्न नहुने बताउँछन् । स्थानीय सरकारले अर्गानिक रुपमा उत्पादन हुने कोदोको विभिन्न परिकार बनाएर बजारीकरण गर्नसके गाउँका किसानहरुले आम्दानीको स्रोत बनाउन सक्दछन् । पुरानै शैलीबाट गरिने खेतीलाई बदलेर आधुनिक तरिका अपनाएमा धेरैको आम्दानीको माध्यम कोदो बन्न सक्ने संभावना छ । परम्परा अनुसार पुरानै शैलिबाट गरिने खेतीले किसानहरुको जीवनस्तरमा परिवर्तन ल्याउन सकेको छैन् । अगुवा किसानहरुबाट उनका ज्ञान, सिपलाई नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने बृद्ध किसान पोखरेल बताउँछन् ।