प्यूठान : प्यूठानको ग्रामीण सडकहरुमा चर्को भाडा लिएको पाईएको छ । सरकारले तय गरेको भाडा दर भन्दापनि अझैं बढि लिएको राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । ‘हामीले छिमेकी जिल्लासंग पनि प्यूठानको भाडा दर तुलना गरेर हेर्यौं’,न्यौपानेले भने, ‘भाडा धेरै चर्को देखियो ।’ भाडा दर समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको गम्भिर ध्यानाकर्षण गराएको उनले जानकारी गराए । समयमै समस्या समाधान नभए आफूहरु आन्दोलनमा जाने समेत उनले चेतावनी दिएका छन् ।
जिल्ला भित्र चल्ने कयौं रुटहरुमा प्रति किलोमिटर २० देखि २२ रुपैयाँ सम्म भाडा लिईएको छ। माझीदमार – बरौला २७ किमीको भाडा ६ सय रुपैयाँ, बाग्दुला –मरन्ठाना–सिमेदेउराली १८ किमी भाडा ४ सय रुपैयाँ, ढाड – बुकुचौर १४ कीमि भाडा ३ सय ३० रुपैयाँ, बाग्दुला – बहाने १३ किमीको २ सय रुपैयाँ भाडा सवारीसाधनहरुले लिँदै आएका छन् ।
स्थानीय स्तरमै सहमती गरी भाडा तय गर्ने गरिएको स्वर्गद्वारी यातायात सेवा प्रालिका प्रबन्ध निर्देशक चन्द्रमान श्रेष्ठले बताए। ‘यातायातको समग्र अवस्था हेर्ने जिल्ला प्रशासनले हो’,श्रेष्ठले भने, ‘भाडादरमा एकरूपता कायम गर्ने सन्दर्भमा सिडियोले सहजीकरण गर्नुपर्छ ।’ पालिका स्तरमा खोलिएका नया रुटहरुको भाडा तय गर्ने सवालमा प्रमुख जिल्ला अधिकारीले छलफल नचलाएको उनले प्रतिक्रिया दिए ।
इन्धनको मूल्य घट्दा तथा बढ्दा भाडा समायोजन गर्ने गरिएको नमस्ते यातायात सेवा प्रालिका महासचिव मुकेश थापाले बताए । तोकिएको भाडा भन्दा बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्ने गरिएको उनले बताए ।
जिल्ला भित्रका आन्तरिक सडक सञ्जालमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर छिट्टै तय गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जानकारी गराए । ‘स्थानीय सरकार तथा यातायातका संस्थाहरूसंग छलफल गरेर निष्कर्षमा पुग्नेछौ ।’ अर्यालले भने ।