प्यूठान : नेकपा एमाले प्यूठानको दशौँ जिल्ला अधिवेशनको मिति नजिकएसँगै अबको नेतृत्व को हुने भन्ने विषयले चर्चा पाएको छ । मंगलवार जिल्लाका विभिन्न वडाहरुबाट अधिवेशन प्रतिनिधी चुनिएसँगै नेतृत्वका लागि सरगर्मी शुरु भएको हो । जेठ २० र २१ गते अधिवेशनको मिति तोकिएको छ ।
नवौँ अधिवेशनमा देखिएका आकांक्षीहरु नै अहिले पूनः आकांक्षीको रुपमा अघि सरेका छन् । त्यसमध्ये नेकपा एमाले झिमरुक गाउँपालिका अध्यक्ष इन्द्रमणी पोख्रेल मात्र आकांक्षीका नयाँ अनुहार हुन् । अन्य चारजना यसअघिको अधिवेशनमाट आकांक्षी र उम्मेदवार बनेका थिए । नवाँै अधिवेशनबाट विजयविराज विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी प्यूठान नगरपालिकास्थित मरन्ठानाका नेहरसिँह केसी थिए । सर्वसम्मत बनाउने प्रयास अघिल्लो अधिवेशनमा सफल हुन सकेको थिएन । यसपाली पनि नेताहरु सर्वसम्मतमै नेतृत्व चुन्न जोडबल गरिरहेका छन् । तर, आकांक्षीहरुको प्रतिक्रिया सुन्दा सर्वसम्मतको संभावना झिनो मात्रमा देखिन्छ ।
कति छानिए प्रतिनिधी ?
जेठ २० र २१ गते हुने जिल्ला अधिवेशनका लागि सवै पालिकाबाट ६ सय बढी प्रतिनिधिहरु चयन हुनेछन् । जिल्लाका ६४ वटा वडाहरुमध्ये अधिकांश वडाहरुले मंगलवार प्रतिनिधि चयन गरेका छन् । बाँकी रहेका वडाहरुले जेठ १७ गते भित्रै प्रतिनिधि चयन गर्ने तयारीमा छन् । जिल्ला कमिटीका १०३ जना स्वतः आयोजककै रूपमा प्रतिनिधि हुने व्यवस्था छ ।
पालिका संगठन कमिटीका पदाधिकारी पनि स्वत प्रतिनिधि चयन हुनेछन् । १७ वटा जनवर्गिय संगठनबाट तीन÷तीन जनाका दरले प्रतिनिधि चयन हुने व्यवस्था रहेको एमाले प्यूठान नगरपालिका कमिटीका अध्यक्ष तथा प्रचार संयोजक गिरुप्रसाद भण्डारीले जानकारी गराए।
यी हुन् अध्यक्षका आकांक्षी
मधुर शर्मा
अघिल्लो अधिवेशनमै अध्यक्षको आकांक्षी देखिएका नेता मधुर शर्मा यसपाली जसरी पनि पार्टी अध्यक्ष हुनेगरी लागिपरेका छन् । एमाले प्यूठानका पूर्व उपसचिव शर्मा बहालवाला प्रदेश कमिटी सदस्य हुन् । प्रदेश कमिटी सदस्य भएपनि उनको हुटहुटी जिल्ला अध्यक्ष भएर एक कार्यकाल प्यूठानमै काम गर्ने संकल्प बोकेर हिडिरहेका छन् । जिल्लामा विभिन्न पदमा रहेर काम गरेको अनुभवले पनि यसपाली अध्यक्षमा आंकाक्षी हुनु स्वभाविक रहेको उनको प्रतिक्रिया छ ।
जनताका समस्यालाई आफ्नै समस्याजस्तै ठानेर काम गर्ने नेताको रुपमा उनलाई कार्यकर्ताले चिन्छन् । मनमा लागेको कुरा प्रष्टसँग राख्ने र जो कोहीसँग क्षणभरमै घुलमिल हुने उनको छ । युवा नेता शर्माले दल भित्र र बाहिरका सबै नेता कार्यकर्तासँग सुमधुर सम्बन्ध स्थापित गरेका कारणले पनि उनी समग्र जिल्लाको नेतृत्व गर्न आफूलाई सहज हुने उनको बुझाई छ । उनी सहमतीका लागि यसपाली नेतृत्व अरुलाई सुम्पने मनशायमा देखिदैनन् ।
विजयविराज विष्ट
विष्ट बहालवाला जिल्ला कमिटी अध्यक्ष हुन् । अखिलमा लामो समय काम गरेका बिष्टले माओवादी द्धन्दकालमा प्यूठानको विद्यार्थी आन्दोलनको नेतृत्व गरेको अनुभव छ । उनी पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको सचिवालयमा बसेर काम गरेका थिए । लुम्बिनी प्रदेश कमिटीको पूर्व सदस्य समेत हुने विष्ट । उनकै कार्यकालमा प्यूठानमा प्रतिनिधी र प्रदेशसभा निर्वाचन भयो । संघीय सांसद् र प्रदेससभा १ को सांसद् एमालेले जितेको छ ।
प्यूठानको राजनीति वृतमा एउटा चर्चा सँधै भइरहन्छ । त्यो हो, एमालेका लागि दाखाक्वाडी र कांग्रेसका लागि टिकुरी क्षेत्र । यही क्षेत्रबाटै दुई ठूला पार्टीका नेतृत्व पटकपटक चुनिने गरेका छन् । संयोगबस अहिले पनि विजयविराज विष्ट र मधुर शर्मा दाखाक्वाडीबाटै अध्यक्षका आकांक्षी छन् । विष्टले सर्वसम्मत नेतृत्व चयनका लागि जोडबल गरिरहेका छन् ।
अजय सिँह
पुरानै आकांक्षीमध्ये अर्का पात्र हुन् अजय सिँह । नौवहिनी गाउँपालिका ६ लुङ निवासी सिँहको बसोवास अहिले काठमाण्डौँमा छ । चुनावको बेला मात्र जिल्लामा झुल्किने भनेर उनको बेलाबेला आलोचना समेत हुने गरेको सुनिन्छ । यसपाली नेतृत्वको लागि आफू पछि नपर्ने उनले बताएका छन् । सिँह पार्टीको पूर्व प्रदेश कमिटी सदस्य समेत हुन् । उनी एमाले संस्थापक नेता विर बहादुर सिंहका छोरा हुन् । प्यूठान–काठमाण्डौँ सम्पर्क मंचका संस्थापक अध्यक्ष सिँह लामो समय पार्टीमा पु¥याएको योगदानले पनि आफ्नो बोलियो दाबी अध्यक्षमा हुनु स्वभाविक रहेको प्रतिक्रिया दिन्छन् ।
इन्द्रमणी पोख्रेल
विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका झिमरुक गाउँपालिका ७ का इन्द्रमणी पोख्रेल पार्टीको जिल्ला कमिटी अध्यक्षका लागि नयाँ प्रत्यासी हुन् । नवौँ जिल्ला अधिवेशनबाट उनी एमाले झिमरुक गाउँपालिकाको अध्यक्षको नेतृत्व सम्हालिरहेका छन् । ०५१ सालदेखि पार्टीमा निरन्तर क्रियाशिल पोख्रेल अखिलको सातौँ सम्मेलनबाट जिल्ला अध्यक्षमा समेत निर्वाचित भएका थिए । पाएको जिम्मेवारीलाई मसिनो गरी पुरा गर्ने उनको कार्यशैली धेरैका लागि अनुकरणीय मानिन्छ । पार्टीको जिल्ला अध्यक्षमा सर्वसम्मत नेतृत्वका लागि आफू बाधक नरहेको पोख्रेलले प्रतिक्रिया दिएका छन् । तर, सहमती नभएर दुई जनाको उम्मेदवारी परेमा आफूले फिर्ता नगर्ने गरी उम्मेदवारी दिने समेत उनको अडान छ ।
नेहरसिँह केसी
नेहरसिँह केसी प्यूठान नगरपालिका ९ निवासी हुन् । प्यूठान नगरपालिका ९ को निवर्तमान वडाअध्यक्ष केसी यसअघि जिल्ला कमिटी अध्यक्षमा पराजित भएका थिए । केसी र वर्तमान पार्टी अध्यक्ष विजयविराज विष्टबीच चुनावी प्रतिस्पर्धा भएको थियो । केसीले पार्टीको पूर्व सचिवालय सदस्य र पूर्व कार्यालय सचिवको रुपमा समेत काम गरे थिए ।