गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मीमा लागेको ताला ११ महिना वितिसक्दा समेत अझै खुलेको छैन् । सदस्यता शुद्धीकरणमा आपत्ती जनाएका असन्तुष्ट सदस्यहरुले लगाएको ताला नखुल्दा महासंघको दैनिक कामकाज कार्यालयबाट हुन सकेको छैन् ।
शुद्धीकरणका लागि बनेको कार्यदलले विना छलफल, एकलौटी र पूर्वाग्रह ढंगले सदस्यता शुद्धीकरण गरिएकोप्रति तिव्र असन्तुष्ट देखिएको हो । ‘महासंघको जिल्ला अध्यक्ष र कार्यदलबाट पूर्वाग्रह राखेर सदस्यताको सूचि प्रदेश र केन्द्रमा पठाइयो’,महासंघका जिल्ला उपाध्यक्ष एवं नेपाल प्रेस यूनियन गुल्मीका अध्यक्ष रेशम कुँवरले भने,‘यस्तो अवस्थामा कसरी २६ गते निर्वाचन हुन्छ ?’
जिल्ला कार्यसमितिको छलफल र सहमती विपरीत ‘आफैँ बोक्सी, आँफै धामीको’ शैलीमा सदस्यता शुद्धिकरण गरिएको समेत कुँवरले सुनाए । ‘सदस्यता शुद्धीकरणको नाममा सदस्यको घाँटी रेट्ने गैर जिम्मेवार गतिविधिले नेपाल पत्रकार महासघ गुल्मी थला मात्र होइन् ग्रस्त नै भएको छ’,कुँवरले भने,‘जिल्ला समितिमा पछि छलफल गर्ने भनेपनी पछि कुनै छलफलको मौका नै दिइएन् । एकतर्फी सिफारिस गरियो ।’
महासंघमा कुल ६२ जना सदस्यता थिए । त्यसमध्ये कार्यदलले २६ जनाको मात्रै सदस्यता नविरकणका लागि सिफारिस गरेको थियो । त्यसमध्ये प्रेस चौतारीमा आवद्ध कृष्ण ज्ञवाली (अन्जान)को निधन भएपछि सदस्यता २५ जनाको कायम गरिएको छ ।
कार्यदलको सिफारिसमा नपरेका १७ जना पत्रकारहरुले आफ्ना प्रकाशन÷प्रशारणका प्रमाण सहित नविकरणका लागि पेश गर्दा पनि कुनै सुनुवाई नभएपछि असन्तुष्ट सदस्यहरुले थप आन्दोलनका कार्यक्रमको योजना बनाएका छन् ।
‘शनिवार नविकरण नभएका सदस्यहरुको जिल्लामा भेला गर्दैछौ’,पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष एवं रेडियो रेसुंगाका अध्यक्ष हरी कुमार श्रेष्ठले भने,‘हाम्रो मागप्रति सुनुवाई नभए जिल्लामा अधिवेशन हुन् दिँदैनौ ।’ श्रेष्ठले आफ्नो प्रमाण पेश गरेर सदस्यता नविकरणका लागि माग गर्दागर्दै पनि पीडित पत्रकारहरुको पक्षमा कसैले साथ नदिएको गुनासो समेत गरे । सदस्यता विवादले महासंघमा ताला लागेपछि लेखापरीक्षण लगायत नियमित बैठक, कार्यक्रम र साधारणसभा हुन् सकेको छैन् ।
२०८० साल जेठपछि महासंघको एउटा पनि बैठक बस्न नसक्दा नेपाल पत्रकार महासंघ गुल्मीलाई कृयाशिल र व्यावसायिक पत्रकार मात्र अट्ने संगठनको नाममा बदनाम गर्न खोजिएको असन्तुष्ट सदस्यहरुले प्रतिक्रिया दिएका छन् ।
शुद्धीकरणको अभियानले महासंघको केन्द्रीय समितिलाई समेत हम्मेहम्मे बनाएको छ । जिल्ला र प्रदेश समितिबाट सिफारिस भएका सदस्यहरुको नामावली आफू अनूकुल राख्ने र हटाउने गर्दा पेशागत संगठनका नेतृत्वहरुबीचमा समेत सहमती जुट्न सकेको छैन् । केन्द्रमा गठन गरिएको कार्यदलले समेत आफू निकटका सदस्यहरुलाई राख्ने र फाल्ने गरेको पत्रकार महासंघका सदस्यहरुले गुनासो गरेका छन् । आफूले काम गरेका प्रमाणहरु पेश गरेपछि सदस्यता नविकरण गर्नुपर्ने प्रेस चौतारी गुल्मीका उपाध्यक्ष नारायण मरासिनीले बताए ।