आजको पोष्ट खोज :
प्यूठान : विरामीहरुको नजरमा रिफर अस्पतालको ‘ब्राण्ड’ बनेको जिल्ला अस्पताल विजुवार प्यूठानको अर्को जटिल हो, डाक्टरै नटिक्ने समस्या । यो रोग अहिलेको होइन्, वर्षौ अघि देखिको हो । ५० शैँयाको स्वीकृत भएको जिल्ला अस्पतालमा अहिले १५ शैँयाबाट सेवा संचालनमा छ । ५० शैँया अस्पतालको भौतिक संरचना निर्माणधिन अवस्थामा छ ।
डाक्टरहरु नटिक्ने समस्याले जिल्ला अस्पतालमा आउने विरामीहरुले सास्ती पाएका छन् । डाक्टर टिकुन पनि कसरी ? ११ औँ तहको दरवन्दीमा सातौँ र आठौँ तहका चिकित्सकहरुको हालीमुहाली चलिरहेको छ । करारमा आएका विशेषज्ञ डाक्टरहरु नवौँ तहका हुन्छन् । तर, अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर आठौँ तहको हुँदा नवौँ तहका डाक्टरहरु नबस्ने समस्या पाइएको हो ।
प्यूठान अस्पतालमा तपाई किन पुरा अवधि बस्नु भएन भन्ने जिज्ञासामा नाम उल्लेख नगर्ने शर्तमा एक जना स्त्रीरोग विशेषज्ञ डाक्टरले भने, ‘आफु भन्दा कनिष्टलाई हाकिम मानेर काम गर्नै अप्ठ्यारो भयो । डाक्टरलाई टीकाई राख्ने अस्पताल प्रशासनको कुनै पोलिसी नै मैले देखिन् ।’
सातौँ तहका रेडियो ग्राफर खिम प्रसाद पार्धेले २०७९ वैशाख १५ गतेदेखि माघ ९ गतेसम्म अस्पतालको निमित्त मेसु समेत चलाएका थिए । ११ औँ तहको पद कुनैबेला सातौँ तहले पनि सम्हाल्नुपर्ने स्थितीमा प्यूठान अस्पताल पुगेको विगत छ । अहिले पार्धे जागिरबाट अवकाश भए । हाल अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा.प्रमिला खनाल छिन् । उनी आठौँ तहको दन्त चिकित्सक हुन् । २०७९ माघ १० गतेदेखि उनी हालसम्म कार्यरत छिन् ।
मेसु सहित अस्पतालमा दुई जना मात्र स्थायी डाक्टर छन् । हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल आठौँ तहका हुन् । दुई जना मात्र स्थायी डाक्टरमध्ये मेसु खनाल र डाक्टर पौडेल नाताले श्रीमान्÷श्रीमती समेत हुन् ।
जिल्ला अस्पतालमा प्यूठान सहित छिमेकी जिल्ला रोल्पा, गुल्मी र अर्घाखाँचीको पश्चिम भेगका विरामीहरु समेत उपचारका लागि आउने गर्छन् । अस्पतालमा आठ जना विशेषज्ञ डाक्टरको दरवन्दी हो तर अहिले पाँच जना मात्र कार्यरत छन् । उनीहरु सवै निक साइमन इन्स्टिच्यूटका हुन् । तीन महिने तालिम लिएका डाक्टरले स्त्रीरोग तर्फ उपचार गराइरहनुपर्ने अवस्थामा अस्पताल पुग्ने गरेको देखिएको छ । जटिल प्रकारको शल्यक्रिया उनीहरुबाट हुँदैन् । जटिल समस्या परे धेरैजसो गर्भवतीहरु बुटवल, नेपालगञ्ज लगायत शहरमा रिफर हुन्छन् ।
नेपाल सरकारबाट छात्रवृत्तिमा डाक्टर पढेकाहरु अभ्यासका लागि आएपनि उनीहरु लामो समय टिक्दैनन् । बढीमा ६÷७ महिना बसेर फर्किने गरेको सम्वन्धित डाक्टरहरुले प्रतिक्रिया दिएका छन् । अस्पतालको भद्रगोल व्यवस्थापन र प्रोत्साहन स्वरुप आफूहरुले पाउनुपर्ने सुविधा नभएपछि फर्किने गरेको उनीहरुको भनाई छ ।
प्यूठान अस्पतालमा तपाई किन पुरा अवधि बस्नु भएन भन्ने जिज्ञासामा नाम उल्लेख नगर्ने शर्तमा एक जना स्त्रीरोग विशेषज्ञ डाक्टरले भने, ‘आफु भन्दा कनिष्टलाई हाकिम मानेर काम गर्नै अप्ठ्यारो भयो । डाक्टरलाई टीकाई राख्ने अस्पताल प्रशासनको कुनै पोलिसी नै मैले देखिन् ।’
११ औँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी भएको अस्पतालमा कम्तिमा नवौँ तहको मेसु आवश्यक रहेको प्यूठान नगरपालिकाका निवर्तमान नगरप्रमुख अर्जुनकुमार कक्षपतिले प्रतिक्रिया दिए । ‘अस्पतालमा डाक्टरको वरियताका सवालमा पनि समस्या आइरहेको हुन्छ’,कक्षपतिले भने, ‘सिनियर डाक्टर आउने हो भने डाक्टरहरुमा देखिने विवाद समाधान हुन्छ, अनि सबै डाक्टरलाई काममा लगाउन मेसु सफल हुन्छन् ।’
केही समय पहिला अस्पतालले शुरु गरेको विस्तारित स्वास्थ्य सेवा समेत प्रभावित भएको उनले बताए । ‘विशेषज्ञ डाक्टरहरुले अतिरिक्त समयमा सेवा दिँदा सेवाग्राहीलाई सहज भएकै थियो’,कक्षपतिले भने, ‘डाक्टर र नर्सहरु बीचमै प्रोत्साहन वापतको रकम बाँडफाँडमा कुरा नमिल्दा सेवा नै रोकियो ।’ अस्पताल प्रशासनको फितलो व्यवस्थापनले सेवा प्रभावित भएको उनको बुझाई छ ।
प्यूठान अस्पतालमा पुग्ने बिरामीहरुले डाक्टर भेट्न गाह्रो हुने अवस्था सिर्जना भएको नागरिक समाजका अगुवा सुमन सुवेदीले बताए । ‘प्रसूतिको डाक्टर नहुँदा सेवा प्रभावित भएको छ’, सुवेदीले भने, ‘डाक्टर बिदामा जाँदा सेवा प्रभावित नहुने गरि व्यवस्थापन गर्नुपर्छ ।’ पट्टी खोल्न तीन पटक आउँदासम्म बिरामीले सम्बन्धित डाक्टर नभेटेको गुनासो सुन्ने गरिएको उनले बताए । ‘अस्पताल समय अवधिमा काम नगर्ने, तीन बजेपछि काम गर्ने र बिरामीसँग बढी पैसा लिने ?’, सुवेदीले भने, ‘पहुँचवालाको भनसुनका आधारमा उपचार हुने अन्यथा डाक्टरले रेफर गर्ने गरेको व्यापक गुनासो सुनिएको छ ।
निक साइमन इन्स्टिच्यूटका बरिष्ठ कार्यक्रम प्रवन्धक डा.काशिम शाहले प्यूठानको जिल्ला अस्पताल सुधार गर्न धेरै गाह्रो परिरहेको अनुभव सुनाए । ‘त्यहाँ अनावश्यक राजनीति छ’,शाहले टेलिफोनमा प्रतिक्रिया दिँदै भने,‘मेसु पदमा सिनियर डाक्टर आउदैनन् । जुनिएरको अन्डरमा सिनियर बस्न मान्दैनन् । त्यसैले प्यूठानमा समस्या भएको हो ।’
उनले प्यूठान सहित बझाङमा पनि यस्तै समस्या परिरहेको सुनाए । अनावश्यक राजनीति खिचातानीले जिल्ला अस्पतालहरुमध्ये प्यूठानको ‘इमेज’ पनि त्यति गतिलो नसुनिएको शाहको भनाई छ । सोमवार (आज) देखि निक साइमनबाट प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर खटिएको उनले बताए । निक साइमनबाट खटिएका डाक्टरहरुले बाहिरी अस्पताल र मेडिकलहरुमा काम गर्न नपाउने समेत शाहको भनाई छ ।
‘११ औँ तहको दरबन्दीमा आठौँ तहको डाक्टरले काम गर्न नसक्ने भन्ने हुँदैन्’,अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले भनिन्,‘व्यक्ति अनुसार फरक पर्ने हो । मलाई काम गर्न कुनै समस्या छैन् ।’ उनले ११ औँ तहको मेसु नआउने विषयमा सम्वन्धित मन्त्रालयमा बुझ्न समेत सुझाव दिइन् । विगतको तुलनामा अहिले जिल्ला अस्पतालहरुमा डाक्टरहरु धेरै कार्यरत रहेको समेत उनले बताइन् ।
अनावश्यक राजनीति खिचातानीले जिल्ला अस्पतालहरुमध्ये प्यूठानको ‘इमेज’ पनि त्यति गतिलो नसुनिएको शाहको भनाई छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयविराज विष्टले अस्पतालमा प्रदेस सरकारबाट खटिएका दुई जना मात्र स्थायी डाक्टरहरु रहेकाले उनीहरुबाटै कार्यालय प्रमुखको रुपमा आठौँ तहको मेसु मन्त्रालयले खटाएको जानकारी दिए । ‘दुई जना स्थायी डाक्टर हुनुहुन्छ’,विष्टले भने,‘अरु सवै करारका डाक्टर हुनुहुन्छ ।’ ५० शैँयाको स्वीकृत जिल्ला अस्पतालको भवन निर्माणधिन अवस्थामा रहेको समेत जानकारी दिए । ४२ करोड लागतमा अस्पतालको नयाँ भवन निर्माणधिन छ । प्रदेश सरकार जुन पार्टीको नेतृत्वमा आयो उही पार्टीकै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियूक्त हुने प्रवृतिले पनि अस्पताल सुध्रिन समस्या देखिएको आम नागरिकहरुको प्रतिक्रिया छ ।
हालसम्म कार्यरत मेसुहरु
१. डा. याम बहादुर ओली (मेसु) – २०४५ देखि २०४७
२.डा. सुनलाल थापा (मेसु) – २०४७ देखि २०४८
३. डा. तुल्सीराम कँडेल – २०४८ देखि २०५१–५–१८
४. डा. आनन्द कुमार श्रेष्ठ (नवौँ, दशौँ तह) – २०५१–५–१९ देखि २०६४–१२–१
५. डा. हरी बहादुर केसी (नवौँ तह) – २०६५–५–६ देखि २०६७–१–१०
६. डा. सुधा देवकोटा (नवौँ तह) – २०६७–१–१७ देखि २०६९–२–७
७. डा. उमाशंकर चौधरी (आठौँ तह) – २०६९–२–७ देखि २०७०–१२–१४
८. डा. फणीन्द्र प्रसाद बराल (नवाँै तह) – २०७०–१२–२४ देखि २०७१–८–१७
९. डा. राम बहादुर केसी (नवौँ तह)– २०७१–८–१७ देखि २०७२–१०–१५
१०. डा. कृष्ण शाह (नवौँ तह) – २०७२–१०–१५ देखि २०७४–५–२६
११. डा. अच्युतराज कार्की (नवौँ तह) – २०७४–५–२६ देखि २०७५– ९–२४
१२. डा. शेषराज घिमिरे (नि.मेसु आठौँ तह) – २०७५– ९–२५ देखि २०७६–७–३०
१३. डा. अमृत पन्थी (नि.मेसु आठौँ तह) – २०७६–८–३० देखि २०७७–५–१
१४.डा. सबु काफ्ले (नि.मेसु आठौँ तह) – २०७७–५–१ देखि २०७७–११–२७
१५. डा. नविन दर्नाल (बरिष्ठ मेसु, दशाँै तह) – २०७७–११–२८ देखि २०७८–११–३०
१६. खिम प्रसाद पार्धे (नि.मेसु, सातौ तह)– २०७९–१–१५ देखि २०७९–१०– ९
१७. डा. प्रमिला खनाल (नि.मेसु, आठौँ तह) – २०७९–१०–१० देखि हालसम्म कार्यरत