नेपाल पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन हो । यसको ६५ वर्ष लामो इतिहास छ । यसको छाता मुनि आएपछि पत्रकारिता गर्नेहरु सुरक्षित हुन्छन्, उनीहरुको श्रम शोषण हुँदा बोल्ने माध्यम हुन्छ, नयाँ अवसरहरु पाउन माध्यम निर्माण हुन्छ, पत्रकारिताका नयाँ÷नयाँ विद्याहरु सिख्न पाईन्छ र श्रमजीवि पत्रकाहरुको पक्षमा आवाज बुलन्द हुन्छ भन्ने सामान्य बुझाई रहि आएको छ ।
त्यसैले पनि होला यस छाता भित्र अटाउन पत्रकारिता गर्नेहरुको चाह्ना हुन्छ । तर, पछिल्लो समय यो छातामा थुप्रै प्वालहरु परेका छन् । पत्रकार भन्दा राजनीतिक दलको हालीमुहाली, पत्रकारिता बाहेकको पेशा अपनाएकाहरुको वर्चश्व, र नातावाद, कृपावादको प्वालले महासंघको छातालाई यतिधेरै च्यातेको छ कि अब यसको भित्र अटाएका पत्रकारहरु आफूलाई सुरक्षित भन्दा असुरक्षित अनुभव गर्न थालेका छन् ।
वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताकै रुपमा महासंघ रहेको छ । हाल महासंघमा १३ हजारभन्दा बढी सदस्यहरु छन् । तर, के यी सबै सदस्यहरु पत्रकारनै हुन् त ? यो प्रश्न चौतर्फी उठ्न थालेपछि यसको सहि जवाफ दिनकै लागि महासंघको सदस्यतामा शुद्धिकरणको अभियान थालिएको हो ।
‘शुद्धिकरण’ यो शब्द महासंघका सदस्यहरुको लागि प्रयोग गरिएपछि अशुद्ध छान्नु ठूलो चुनौती बन्न गयो । आखिर अशुद्ध को छ त ? यसको जवाफ हुनत सरल छ तर, आँखामा राजनीति, नातावाद, कृपावाद र जातियताको चस्मा लगाएपछि चाहेर पनि शुद्ध र अशुद्ध छुट्याउन गाह्रो भएको छ ।
सामान्य परिभाषा छ, पत्रकारिता गर्नेहरु पत्रकार । तर, यहाँ वर्षौदेखि पत्रकारिता नगर्ने, प्रत्यक्ष रुपमा राजनीति गर्ने, घर गृहस्थी चलाउनमै समय बिताउने, कहिल्यै समाचारनै नलेख्ने, ठेक्का पट्टाको काम गर्ने, सरकारी जागिरे, शिक्षक, सरकारी र गैरसरकारी संघसंस्थाहरुमा फुलटाईम काम गर्ने जस्ता सदस्यहरु हाम्रो महासंघमा जति पनि छन् । हामी सबैले चिनेका छौं, जानेका छौं, को कहाँ काम गर्छ भन्ने समेत थाहा छ तर, पनि शुद्धिकरणको नाममा कतिपयलाई आफ्नो मान्छे हो भनि शरणमा राख्ने प्रयास हुँदै छ भने कतिलाई त मेरा परिवारका सदस्य हुन् यीनको सदस्यता गयो भने हाम्रो नाकै काटिन्छ भन्ने अहमले समेत विवाद निम्त्याईएको छ ।
यी विवादहरुले जहाँ एकातर्फ पत्रकारिताको शाख खसाउने काम गरिराखेको छ भने अर्को तर्फ अनावश्यक रुपमा झमेला खडा गरेको छ । अर्को तर्फ शुद्धिकरणको नारा दिएर यस अभियानलाई सफल बनाउने प्रयासमा लागेका हाम्रा महासंघका नेतृत्व वर्ग आफैं कति शुद्ध छन् यो पनि एउटा ठूलो प्रश्न हो । राजनीतिक दलबाट प्रेरित भएर निर्णय लिने, पत्रकारितालाई देखावाको रुपमा मात्रै प्रयोग गर्ने र पत्रकारिताको भलो भन्दा आफ्नो र आफ्नो संगठनको भलो चिताएर काम गर्ने हाम्रा निर्णायक व्यक्तित्वहरुका कारणले यो अभियान गर्भमै तुहिने खतरा पर्याप्त छ । यस्तै दलगत दबावमा बाचिरह्ने हो भने महासंघको शाख दिनप्रतिदिन घट्दै जाने छ ।
- (झा, नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष र अन्नपूर्ण पोष्टको संवाददाता हुन् ।)