- सदरमुकाम विवादमा नफसौं
- रुकुमलाई अर्गानिक जिल्ला बनाऊ
- सुविधा सम्पन्न अस्पतालको गुरुयोजना बनाउन निर्देशन
रुकुम : मुख्यमन्त्री शंकर पोखरेलले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको र ती अधिकारको व्यवहारिक कार्यान्वयनका लागि राज्यलाई बलियो बनाउनुपर्ने बेला आएको बताएका छन् । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजित आमसभामा बोल्दै उनले बलियो राज्यले मात्रै संविधानमा व्यवस्था गरिएका नागरिक अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्न सक्ने उल्लेख गरे । नागरिक अधिकारको व्यवहारिक कार्यान्वयनको यतिखेर तिनै तहका सरकार सक्रियतापूर्वक लागिरहेका उनले बताए । दुई ठूला कम्युनिष्ट पार्टी चुनाव जित्न र सरकार बनाउनका लागि मात्रै नभएर जन आकांक्षा पूरा गर्ने मिसनका साथ एकता भएको उनले प्रष्ट पारे ।
‘तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेपछि विरोधीहरुले कार्यान्वयन हुन्न भने, हामीले कार्यान्वयन ग¥यौ, पार्टी एकता हुन्न भने, हामीले पार्टी एकता गरेर देखायौं, सरकारले केही काम गरेन् भन्ने भ्रम फैलाइएको छ, यो सरकारले जनताको जीवनमा परिवर्तन हुने गरी काम गरेर देखाउदैछ’, उनले भने,‘विरोधीहरुले सधैं भ्रम छर्ने काम गर्ने र ती भ्रमबाट मुक्त भएर अघि काम गर्दो रहेछ भनेर देखाउने छौँ ।’ मत नदिएका व्यक्तिलाई पनि मत नदिएको पछुतो लाग्ने गरी काम गरेर देखाउने उनले ठोकुवा गरे ।
उनले जनताले तिरेको करबाट विनियोजन भएको विकास बजेटमा कसैले लोभ गर्न नहुने सुनाए । ‘विकास बजेटमा जनप्रतिनिधि, कर्मचारी कसैले पनि लोभ नगरौं, लोभलालच भएको छ छैन् अनुगमन गरौं’,उनले भने,‘मैले जिल्लास्तरमा हुने विकास निर्माणका काम प्रभावकारी भए नभएको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीलाई भनेको छु, तपाईहरु पनि अनुगमन गरी खबरदारी गर्नुहोला ।’
सदरमुकाम विवादमा नफसौं
मुख्यमन्त्री पोखरेलले रुकुम पूर्वका जनतालाई सदरमुकाम विवादमा नफस्न आग्रह गर्दै यस झगडा जनताको नभई नेताको भएको बताए । ‘अहिले सदरमुकाम विवाद संवैधानिक अदालतमा छ, अदालतले जे फैसला गर्छ, त्यसलाई स्विकार गरौं, सदरमुकाम हुने ठाउँको विकास स्वभाविक ढंगले हुन्छ, अदालतले फैसला गरेपछि जहाँ सदरमुकाम हुन्न, त्यहाको विकासको जिम्मा प्रदेश सरकारले लिन्छ, तपाईहरु ढुक्क हुनुस्’,उनले भने,‘पूर्वाधार विकासले अब रुकुमले पछि परेको महशुस गर्न पर्ने छैन् ।’
रुकुमलाई अर्गानिक जिल्ला बनाऊ
पोखेरलले सर्वदलीय छलफलमा रुकुम जिल्लालाई अर्गानिक उत्पादन जिल्लाको रुपमा विकास गर्न सबै मिलेर अघि बढ्न आग्रह गरेका छन् । अर्गानिक उत्पादनलाई जोड दिएर अघि बढ्दा रुकुमले धेरै फाइदा लिने उनको भनाई छ । अर्गानिक उत्पादनका लागि प्राविधिक र बजारीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले रुकुमबासीलाइ आग्रह सुनाए । चुनवाङ–रुकुमकोट सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्ने पोखरेलको आग्रह छ ।
सुविधा सम्पन्न अस्पतालको गुरुयोजना बनाउन निर्देशन
रुकुमकोट जिल्ला अस्पतालको उद्घाटन गर्दै अस्पतालमा आउने बिरामीको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न उनले सम्वन्धित निकायलाई निर्देशन दिए । अस्पताल राम्रो भयो भने मात्रै उपचार गर्न आउनेको संख्या बढ्ने भएकाले सेवा प्रवाहको गुणस्तरलाई ध्यान दिन उनले आग्रह गरे । पोखरेलले जिल्ला अस्पतालमा हुनुपर्ने न्युनतम सुविधा र पूर्वाधारको गुरुयोजना बनाउन निर्देशन समेत दिएका छन् । ‘पैसाको समस्या छैन, प्रदेश सरकारले पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्था गर्छ, त्यसबाट नागरिकले राम्रो सेवा पाउनुपर्छ’,उनी भन्छन्,‘अस्पतालले बिरामी भएपछि उपचार गर्ने मात्रै नभई बिरामी हुन नदिने गरी जनचेतना कार्यक्रम सञ्चालनमा पनि ध्यान दिनुपर्छ ।’