प्यूठान : जिल्ला अस्पताल विजुवार प्यूठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले प्रसूती विभाग अन्तर्गत आमा सुरक्षा कार्यक्रम वापतको प्रोत्सान रकम पाएका छैनन् । विगत दुई वर्षदेखि उनीहरुले पाउने रकम रोकिएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । प्रोत्साहन वापतकै रकम नपाएको भन्दै उनीहरुले दुई वर्षअघि समेत आन्दोलन गरेका थिए । तर, आन्दोलनले पनि स्वास्थ्यकर्मीहरुको मागप्रति वेवास्ता गरिएको उनीहरुको दुःखेसो छ ।
‘अस्पतालको खातामा पैसा आएर पनि हामीले पाउन सकिरहेका छैनौं’,नाम नभन्ने शर्तमा शर्तमा एक स्वास्थ्यकर्मीले भनिन्,‘नियम अनुसार पाउनुपर्ने रकम पनि हामीले पाएनौँ । अस्पताल प्रशासनको लापरबाहीले दुई वर्षदेखि हामी सेवाबाट वञ्चित छौँ ।’ रकम निकासाबारे जिज्ञासा राख्दा अस्पताल प्रशासनले विभिन्न बहानाबाजी गर्दै आलटाल गर्ने गरेको उनले सुनाइन् ।
अस्पतालमा काम गर्दा प्रोत्साहन वापतको रकम पाउन नसकिएको अस्पतालमा काम गरेका पूर्व स्त्री रोग विशेषज्ञ डाक्टर कुमार बिष्टले बताए । ‘६ महिना काम गरियो तर पैसा पाईएन’,बिष्टले भने, ‘अस्पताल प्रशासन चुस्त देखिएन ।’ अस्पतालमा कार्यरत रहँदा एक वर्षकै प्रोत्साहन वापतको रकम पाउन नसकेको पूर्व एमडीजिपी डाक्टर सन्तोष केसीले समेत गुनासो गरे । ‘डाक्टरले काम गरेको पैसा पाउँदैनन् अनि कसरी टिकुन् प्यूठान अस्पतालमा ।’, उनले गुनासो सुनाए ।
अस्पतालको प्रशासनिक फितलो हुँदा प्रसूती विभाग प्रभावित भएको उनको भनाई छ । ‘अहिले इमर्जेन्सी पर्यो भने अपरेशन हुने अवस्था छैन्’,केसीले भने, ‘स्त्री रोग विशेषज्ञ डाक्टर छैनन्, तालिम लिएका मेडिकल अफिसरबाट इमर्जेन्सीमा अप्रेशन गर्न जोखिम हुन्छ ।’
अस्पतालकी मेडिकल सुपरटेन्डेन्ट डा. प्रमिला खनालले तथ्यांक संकलन गरेर छिट्टै रकम भुक्तानी दिन योजनामा अस्पताल प्रशासन लागिपरेको प्रतिक्रिया दिइन् । जिल्ला अस्पतालमा सुत्केरी हुन आउने सुत्केरी आमाले गर्भवती जाँच स्वास्थ्य निर्देशिका अनुसार २ हजार ८ सय देखि २ हजार रुपैयाँसम्म प्रोत्साहन वापत रकम पाउने सुविधा रहेको छ । सुत्केरी गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अवस्था हेरिकन प्रोत्साहन वापत रकम पाउने व्यवस्था रहेको नर्सीङ इन्चार्ज सम्झना श्रेष्ठले जानकारी गराईन् ।
चिकित्सक बाहेक सामान्य अवस्थामा स्वास्थ्यकर्मीहरुलाई करकट्टी गरि २ सय ५५ रुपैयाँ र जटिल प्रकारको प्रजनन् उपचारमा चारसय रुपैयाँ प्रोत्साहन वापत तोकिएको छ । चिकित्सकको हकमा अस्पताल विकास समितिको निर्णय अनुसार प्रोत्साहन वापतको रकम छुट्टै तोक्ने गरिएको छ ।