प्यूठान : प्यूठान नगरपालिकाका दश वटा वडाहरुमध्ये ६ वटाको प्रशासनिक नेतृत्वमा अहिले महिला कर्मचारीहरु छन् । वडा सचिव पदमा कार्यरत उनीहरुले नगरपालिकाको बहुमत वडाको नेतृत्व सम्हालेका हुन् । नगरपालिकाको वडा नं २ मा कमला आचार्य, वडा नं ४ मा सावित्रा केसी जिसी, वडा नं ६ मा सुमन पुनमगर, वडा नं ८ मा शिवा राउत, वडा नं ९ मा अस्मिता खड्का र वडा नं १० को नेतृत्व बिनिता बिष्टको काँधमा छ ।
प्रमुख पदमा पुरुषहरु नै होलान् भन्ने मानसिकता अझैं पनि समाजमा कायमै रहेको वडा नं ६ कि वडा सचिव सुमन पुन मगरले अनुभव सुनाइन् । ‘सेवाग्राहीहरु आउनुहुन्छ अनि वडा सचिव हुनुहुन्न ? भनेर सोध्ने गर्नुहुन्छ’, पुनले भनिन्, ‘अली कम विश्वास गर्ने, नपत्याउने जस्तो व्यवहार कहिलेकाहीँ देखापर्छ ।’ सुमन यसअघि नगरपालिकाकै वडा नं ५ र रोल्पाको थवाङ गाउँपालिकामा वडा सचिवकै भूमिका निर्वाह गरेर आएकी हुन् ।
वडामा महिला सचिव भएर काम गर्न कुनै समस्या नभएको वडा नं ४ कि वडा सचिव सावित्रा केसी जिसीले सुनाइन् । फिल्डमा जाने खट्ने कुरामा बाहेक अन्य प्रशासनिक क्षेत्रमा कुनै समस्या नहुने उनको भनाई छ । उनले समाजमा जान्ने बुझ्नेहरुले नै महिला सचिव रहेकाले कानुन अनुसार नबन्ने काम पनि गराउन सकिन्छ भन्ने कतिपयमा भ्रम सृजना हुने गरेको समेत सुन्ने गरिएको बताइन् ।
शुरुमा ऐरावती गाउँपालिकामा वडा सचिव रहेर काम गरेकी केसीले प्यूठानमा सचिव भएर काम गर्न थालेको दुईवर्ष भयो । कार्यसम्पादनका दौरानमा जनप्रतिनिधिहरुले अनुचित दवाव कहिल्यै नदिएको उनको प्रतिक्रिया छ । वडाको प्रशासनिक नेतृत्व सम्हाल्न महिला कर्मचारीको लागि अवसर भएको वडा नं ९ कि सचिव अस्मिता खड्काले बताईन । ‘हामी हाम्रो भूमिकामा खरो रुपमा प्रस्तुत हुँदै महिला नेतृत्वले पनि वडा चलाउन सक्छ भन्ने सन्देश दिन जरुरी छ’,खड्काले भनिन्,‘जनप्रतिनिधिसंग सहकार्य गर्दै काम गरेका छौँ ।’
लैंगिक समानतालाई पुष्टि गर्न महिला कर्मचारी कार्यसम्पादनमा पनि अब्बल हुनुपर्नेमा वडा नं १० कि वडा सचिव बिनिता बिष्टले जोड दिइन् । वडा कार्यकालमा आउने सेवाग्राहीले कार्यरत महिला वडा सचिवलाई कम विश्वास गर्ने गरेको अनुभव उनमा पनि छ ।