प्यूठान : प्यूठानमा चैते धान खेती विस्तार हुँदै गएको छ । चारवर्ष अघि करिब चार सय रोपनी क्षेत्रफलबाट शुरु भएको चैते धान खेती अहिले करिब २ हजार ६ सय रोपनी क्षेत्रफलमा फैलिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्यूठानका प्रमुख चुमानसिंह गिरीले जानकारी गराए ।
बीउ राखेको दिनदेखि चार महिनामै फल्ने चैते धानप्रति प्यूठानका किसानहरू हौसिएका छन् । ‘तीन वर्षदेखि निरन्तर चैतेधान खेती गर्दै आएको छु’,प्यूठान नगरपालिका–२ दाखाक्वाडीका मुक्ति पोख्रेलले भने, ‘उत्पादन राम्रो हुँदै गएकोे छ ।’ किसानहरुलाई प्राविधिक तथा मेशिनेरी औजारमा सहायता गरेकाले चैतेधान खेतीतर्फ आकर्षण बढेको पोख्रेलको बुझाई छ ।
यसवर्ष माण्डवी–५ पारथुंगा फाँटमा पहिलो पटक चैतेधान खेतीमा स्थानीय किसानहरू उत्साहित हुँदै बीउ रोपेका छन् । करिब पाँचसय रोपनी जग्गा क्षेत्रफलमा धान लगाइएको छ ।
‘दुई बाली धान खेती गर्न सकिने भएपछि पहिलो पटक चैते धानको बीउ रोपे’,स्थानीय शिवा योगीले भनिन्, ‘बर्खे धान भन्दा अलि बढी फल्छ भन्ने सुनेको छु ।’ ऐरावती गाउँपालिकाको दाङबाङ, गोठीबाङ, हरियाटारी, सरङबेशी, प्यूठान नगरपालिकाको सारीबाङ, दाखाक्वाडी खैरा, स्वर्गद्वारी नगरपालिकाको बाटुले, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिकाका केही फाँटहरुमा चैतेधान खेती हुँदै आएको कार्यालयले जनाएको छ ।
‘हामी किसानका खेतखेतमा पुगी प्राविधिक सहायता गर्छौ’,परियोजना प्रमुख गिरीले भने, ‘किसानले किन्ने मेशिन औजारमा आधा रकम कार्यालयले सहयोग गर्छ ।’ ऐरावतीका किसानहरुले सिंचाइमा भोग्नु परेको समस्यालाई समाधान गरेको गिरीले बताए । बुटवल पावर कम्पनीसँग छलफल गरेर आवश्यक पानी छोड्ने व्यवस्था मिलाइएको उनले बताए ।
परियोजना इकाइले यसवर्ष करिब ४५ लाख रुपैयाँ बजेट किसानहरुका लागि मेशिन औजार खरिदमा सहायता गरेको छ भने करिब ६८ लाख रुपैयाँ साना सिंचाई पूर्वाधार तर्फ बजेट खर्च गरेको कार्यालयले जनाएको छ । आगामी वर्ष झण्डै ५ हजार रोपनी क्षेत्रफलमा चैतेधान खेती विस्तार गर्ने लक्ष्य राखेको कार्यालयले जनाएको छ ।