प्यूठान : प्यूठान नगरपालिका वडा नम्वर ६ स्थित गुरुङ गाउँलाई चारै तिरबाट आगोले घेरेको छ । सोमवार रातीबाट आगोलागी भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले जानकारी गराए । भगेरी सामुदायिक वनबाट सल्केको आगो लामखोला सामुदायिक वन हुँदै गुरुङगाउँ सामुदायिक वनमा फैलिदै गाउँसम्म आइपुगेको उनले बताए ।
आगोलागीबाट स्थानीय रबिन्द्र गुरुङ, पवित्रादेवी गुरुङ, लिला बहादुर गुरुङ, चन्द्र बहादुर गुरुङको घर गोठ जलेर नष्ट भएको छ । आगोलागीबाट तोता गुरुङको गोठ, ट्वाइलेट, मनिदेवि गुरुङको गोठ, हिरा बहादुर गुरुङको गोठ ट्वाइलेट, कृष्ण बहादुर गुरुङको गोठ, डल्ली गुरुङको गोठ, गगनसिङ गुरुङको सर्कुलर मेशिन पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगोलागीले गाउँनै घेर्न थालेपछि स्थानीय त्रसित भएका छन् । ‘हामी मुखदर्शक भएका छौं’,वडा अध्यक्ष पुन मगरले भने, ‘गाँउमा रहेका सिंचाई पोखरीमा जम्मा भएको पानीले केही घरगोठ बचाउन सफल भएका छौं, आगोलाई नियन्त्रण गर्न मुस्किल भईसक्यो, कोही जाने अवस्थानै छैन ।’ गाउँमा रहेको जगदम्बा प्राबि आगोलागीको उच्च जोखिममा रहेको छ ।
घरमा रहेका अन्नपात, लत्ताकपडा नगद निकाल्न लगाई सुरक्षित रूपमा रहन स्थानीयलाई आह्वान गरिएको उनले बताए । आगोलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशत्र प्रहरी तथा नेपाली सेना पुगेका छन् । आगो अहिले धर्मावती तर्फ झरिरहेको छ । टिकुरी र बाग्दुला क्षेत्रका स्थानीय त्रसित अवस्थामा छन् ।