- ‘सुगौली सन्धिको सहमती नै सिमा समस्याको बैधानिक आधार’
रुकुम : मुख्यमन्त्री शंकर पोखरेलले सुगौली सन्धिको बेला भएको सहमति नै नेपाल भारतबीच सीमा समस्याको वैधानिक आधार भएको बताएका छन् । ‘सुगौली सन्धिले काली नदीलाई नै बैधानिक आधार मानेको छ । त्यही आधारमा रहेर सीमा समस्याको समाधानको विन्दु खोजिनुपर्छ’, रुकुम पूर्व सदरमुकाममा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
कालापानी लगायत सीमा समस्याको समाधान सरकारले कुटनीतिक माध्यमबाट पहल गर्नुपर्ने उनको भनाई छ । नेपालको संविधानले कहिल्यै कसैलाई भूमि दिने अधिकार नदिएको उनको उद्घोष छ । ‘राजा महेन्द्रले कालापानी भारतलाई दिएका थिए भन्ने कुरा पनि सत्य होइन् । संविधानले कसैलाई पनि हिजो पनि भूमि दिने अधिकार दिएको थिएन ।’,उनले भने ।
उनले दुई ठूला कम्युनिष्ट पार्टी मिलेर पार्टी एकता गर्दै बलियो सरकार बनाएपछि सरकारलाई बाहिर र भित्रबाट घेराबन्दी गर्ने प्रयास भइरहेको उल्लेख गरे । सबै घेराबन्दीलाई तोड्दै सरकार जनआकांक्षा पूरा गर्न लागिरहेको मुख्यमन्त्रीले बताए । ‘तीब्र विकासको आकांक्षालाई पूरा गर्न तिनै तहका सरकार लागि परेका छन्’,उनले भने,‘ सरकारको यस अभियानमा सबैको साथ चाहिन्छ ।’ तकसेरामा गाउँपालिकाको बहुउद्देश्यीय भवन उद्घाटन, मैकोटमा पुथा हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन, तकसेरामा आयोजित आमसभामा मुख्मयन्त्री सहभागी हुन रुकुम पुगेका हुन् । प्रदेश पाँचको हिमाली जिल्ला रुकुम पूर्वमा पहिलोपल्ट पुगेका मुख्यमन्त्री विभिन्न कार्यक्रममा सहभागी भए । तकसेरामा गाउँपालिकाको बहुउद्देश्यीय भवन उद्घाटन, मैकोटमा पुथा हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन र तकसेरामा जनसभालाई मुख्यमन्त्रीले सम्वाधेन गरे ।
मुख्यमन्त्री पोखरेलले नागरिकले अधिकार पाउनका लागि राज्य बलियो हुनुपर्ने बताए । उनले कमजोर राज्यले जनतालाई बलियो बनाउन नसक्ने भएकाले जनतालाई राज्यले बलियो बनाउने र राज्यले जनतालाई बलियो बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । जनताको जीवनस्तर उठाउन जनता जोडिएको पेशालाई व्यवसायिक गर्ने काम प्रदेश सरकारले प्राथमिकतामा राखेको उनले बताए । ‘तपाईहरुको काम व्यवसायिक हुनुपर्छ । मिशन आधारित कार्यक्रम अघि बढाइरहेका छौँ’, रुकुमबासीलाई आग्रह गर्दै उनले भने,‘प्रदेश सरकारले अघि बढाएका कार्यक्रममा सहभागी भएर लाभ लिन अग्रसर हुनुहोस् ।’ राडीपाखी लगायतका घरेलु उत्पादनलाई आधुनिकरण गरी स्थानीयले लाभ लिनसक्ने बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले आश्वासन दिए । ढोरपाटन शिकार आरक्षको दुई तिहाई क्षेत्र रुकुम पूर्वमा रहेको भएपनि स्थानीय बासिन्दाले फाईदा लिन नसकिरहेको बेला उनले स्थानीय बासिन्दाले फाइदा लिनसक्ने गरी पूर्वाधार बनाउन संघीय सरकारसंग कुुराकानी भएको बताए । खाम संस्कृति मौलिक संस्कृतिको रुपमा पर्यटनसंग जोड्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन उनले रुकमेलीलाई आग्रह गरे ।
तस्विर सौजन्य : शेर बहादुर के.सी / मुख्यमन्त्री, प्रेस सल्लाहकार