बुटवल : विभिन्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दुतहरू लुम्बिनी केवलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आएका छन् । लुम्बिनीमा आयोजित ‘समृद्धिका लागि विश्व शान्ति’ कार्यक्रमको सन्दर्भ पारेर उनीहरु बसन्तपुरस्थि कामाख्यादेवी मन्दिरको दर्शन र पर्यटन प्रवद्र्धनका लागि पुगेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेको भन्दै राजदूतहरूको ध्यानाकर्षण गराएका छन् । अवैतनिक कन्सुलर कप्र्स नेपाल (एचसिसिएन) का ‘भाइस डीन’ समेत रहेका महासंघका अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवद्र्धन गरिरहेकाले लगानीकर्ताहरु जुटाउन सामूहिक पहल गर्नुपर्नेमा जोड दिए ।
कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सृजना भएको समेत ढकालको भनाई छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी पवित्र आध्यात्मिक स्थल सहित यो क्षेत्रको सांस्कृतिक र आर्थिक संवाहकको रूपमा प्रवद्र्धन गर्न समेत अध्यक्ष ढकालले ‘लुम्बिनी कन्केलभ’ सहयोगी हुने विश्वास व्यक्त गरे । विश्वको जनसंख्याको एक तिहाई बौद्ध धर्मावलम्बी रहेकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले विशेष योजना बनाउनुपर्ने उनको भनाई थियो ।
सो अवसरमा अवैतनिक कन्सुलर कप्र्स नेपालका डिन विष्णु अग्रवालले भारतीय र अन्य देशका पर्यटकका लागि नेपालका हिल स्टेशनहरुमा पर्यटकीय पूर्वाधारले विदेशी पर्यटक आकर्षित गर्न सक्ने असीमित संभावना रहेको बताए । उनले नीजि क्षेत्रको लगानीबाट हुने आम्दानीले सरकारलाई पनि प्रतिफल दिने भएकाले नीजि क्षेत्रमैत्री नीति र कानून बन्नुपर्ने बताए ।
अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन, रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू कार्यक्रममा सहभागी छन् ।